कोरला नाका : चिनियाँ तयारीले चम्किएको, नेपाली पूर्वाधार अभावले छायामा परेको व्यापारिक ढोका

पोखरा ।
मुस्ताङको हिमाली भेगमा समुद्री सतहदेखि ४ हजार ६५० मिटर उचाइमा अवस्थित कोरला नाका नेपालको व्यापारिक सम्भावनाको एउटा ठूलो ढोका हो । तर, अहिले यो ढोका चीनतर्फ झिलिमिली देखिए पनि नेपालतर्फ भने अधुरो पूर्वाधारले अझै पूर्ण रूपमा खुल्न सकेको छैन । असोज १० गते नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ पुगेर नाकाको अवस्थाबारे प्रत्यक्ष अवलोकन गरेपछि यस प्रश्नलाई फेरि सार्वजनिक बहसमा ल्याइदिएका छन् ।
ढकालले लोमान्थाङ गाउँपालिका–६ छोसेर पुगेर चिनियाँ तयारी र नेपाली कमजोरीबीचको खाडललाई नजिकबाट देखे । उनका शब्दमा, “नाकामा हाम्रो तयारी कमजोर छ, सडक र भन्सारको पूर्वाधार तयार गर्न सकेमा यो नाका उत्तरी देश जोड्ने सबैभन्दा उत्कृष्ट नाका हुन्छ ।” उनले चीनतर्फ अत्याधुनिक भन्सार भवन, स्क्यानिङ मेसिनदेखि क्यूआर प्रणालीसम्म सबथोक तयार भइसकेको तर नेपालतर्फ पक्की सडक, पुल र आवश्यक संरचना नहुँदा ढिलाइ भएको बताए ।
यो नाका सञ्चालनमा आए नेपाल–चीन मात्र होइन, भारतसम्मको व्यापारलाई समेत छोटो दूरीमा जोड्ने सम्भावना छ । बेनी हुँदै जोमसोम–कोरला मार्ग ४३५ किलोमिटरको दूरीमा भारत र चीनलाई जोड्छ, जसले दक्षिण एशियाली व्यापारलाई नयाँ विकल्प दिन सक्छ । तर अहिले समस्याको गाँठो सडकमै छ । १८६ किलोमिटर लामो कोरला–जोमसोम–बेनी सडकखण्डमा अझै अधुरा पुल र कमजोर सडकले ठूला कन्टेनरका लागि बाटो बन्द गरेको छ ।
मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनका अनुसार, “सबैभन्दा ठुलो समस्या घाँसादेखि बेनीसम्म छ, बाटो सहज नभएर यहाँका व्यवसायीले नै ठूलो घाटा खेपिरहेका छन् ।” उनका अनुसार, सामान आयात गर्ने मात्र होइन, फर्किने बेलामा नेपाली उत्पादन निर्यात गर्नका लागि पनि बाटो सुधार अपरिहार्य छ ।
भन्सार कार्यालय मुस्ताङका प्रमुख रमेश खड्काले पनि सडक र भन्सार पूर्वाधारलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले भने, “उता चीनले स्क्यानिङ प्रणालीदेखि अत्याधुनिक कक्ष निर्माण गरिसकेको छ, तर हाम्रातिर बाटो नहुँदा १८ वटा कन्टेनर भन्सारमै अड्किएका छन् ।”
यो नाकाबाट भदौ ३० गतेदेखि मात्रै औपचारिक रूपमा सामान ओसारपसार सुरु भएको हो । छोटो अवधिमै २ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भइसकेको तथ्यांकले यसको सम्भावना देखाउँछ । तर, यदि नेपालले ढिला गरिरह्यो भने यो सम्भावना हराउन सक्छ भन्ने चेतावनी ढकालले दिएका छन् ।
नेपाल–चीनबीच व्यापारिक हबको रुपमा विकास गर्ने लक्ष्यसहित चीनले सिगात्सेदेखि ल्हासासम्मको दूरीलाई व्यवस्थित सडक र मेसिनरी प्रणालीले जोडिसकेको छ । तर नेपालतर्फ अझै कच्ची पुल र पहिरोग्रस्त सडकले नाकालाई आधा–खुला ढोका बनाइरहेको छ ।
यसैकारण, कोरला नाका अहिले ‘अवसर र चुनौती’को दोबाटोमा उभिएको छ । एकातिर चीनले व्यापारिक तयारी पूरा गरिसकेको छ भने अर्कोतिर नेपालतर्फको ढिलाइले यो अवसर गुम्ने खतरा बढेको छ । नाकामा देखिएको यो अन्तरले नेपालको भौगोलिक सम्भावना र राजनीतिक इच्छाशक्तिबीचको दूरी पनि प्रष्टै देखाइरहेको छ ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया