बजेट पारित नहुँदा अमेरिकामा साढे ७ लाख कर्मचारीलाई फोर्स लिभ, धेरै सरकारी कार्यालय बन्द

समाधान संवाददाता २०८२ असोज १८ गते ८:३५
JPG converted with https://ezgif.com/webp-to-jpg

पोखरा ।

समयमा बजेट पास हुन नसक्दा सरकारी कामकाज बन्द (गभर्नमेन्ट सटडाउन) भएका कारण अमेरिकामा करिब साढे सात लाख सरकारी कर्मचारीहरूलाई बिदामा पठाइएको छ । तीमध्ये ३ लाखसम्मको पजनी (छुट्टी वा नोकरी कटौती) हुन सक्ने बताइएको छ ।

यद्यपि, ट्रम्पको महत्त्वाकांक्षी एजेन्डा मानिसहरूलाई देशबाट फिर्ता पठाउने कार्यक्रममा अझै तीव्रता आउन सक्ने बताइएको छ ।

Advertisement

कृषि विभाग, श्रम विभाग, पशु चिकित्सा विभाग, लाइब्रेरी अफ कंग्रेस, सर्वोच्च अदालत, संघीय अदालत, अमेरिकी बोटानिकल गार्डेन, पर्यावरण संरक्षण एजेन्सी र राष्ट्रिय स्वास्थ्य संस्थानजस्ता धेरै संस्थान र विभागका कार्यालयहरू बन्द भएका छन् ।

बुधबार फन्डिङ बिलमा दोस्रोपटक मतदान भएको थियो । यसमा समर्थनमा ५५ र विरोधमा ४५ मत परे । तर, यसलाई पास गराउन ६० मत आवश्यक थियो ।

Advertisement

यसअघि, मंगलबार भएको मतदानमा पनि बिल पास हुन सकेको थिएन, जसपछि अमेरिकामा सटडाउन लागु भएको हो । बुधबार राति डेमोक्र्याट्सको फन्डिङ बिलमाथि पनि मतदान भयो, जसमा उनीहरूले स्वास्थ्य सेवासम्बन्धी मागहरू समावेश गर्न चाहेका थिए । तर, यसमा पक्षमा ४६ र विरोधमा ५३ मत परे । त्यो बिल पनि असफल भयो । त्यसपछि सिनेटलाई दुई दिनका लागि स्थगित गरिएको छ र अब शुक्रबार फेरि मतदान गरिनेछ ।

बिल पासका लागि ट्रम्पलाई डेमोक्र्याट्सको समर्थन आवश्यक
एकसय सदस्यीय सिनेटमा ५३ रिपब्लिकन, ४७ डेमोक्र्याट र दुई निर्दलीय सांसद छन् । दुवै निर्दलीयले बिलको समर्थनमा मतदान गरेका थिए । तर, ट्रम्पको रिपब्लिकन पार्टीलाई विपक्षी डेमोक्र्याट सांसदहरूको समर्थन आवश्यक थियो, जुन प्राप्त भएन ।

सटडाउन रोक्न सोमबार ट्रम्प र डेमोक्रेटिक नेताहरूबीच ह्वाइट हाउसमा बैठक भए पनि कुनै परिणाम आएको थिएन ।

अमेरिकी सिनेटका बहुमत नेता जोन थ्युनले डेमोक्र्याट्सले आफ्ना कट्टर वामपन्थी समर्थकहरूको दबाबमा संघीय सरकार बन्द गराएको आरोप लगाए । उनका अनुसार, सेना, सीमा गस्ती एजेन्ट र एयर ट्राफिक कन्ट्रोलरबिना तलब काम गर्न बाध्य छन् । र, डेमोक्र्याट्सले अमेरिकी नागरिकहरूलाई बन्धक बनाएका छन् ।

तर, सिनेटका अल्पमत नेता चक सुमरले भने, ट्रम्प र रिपब्लिकनहरूले नै देशलाई सटडाउनतर्फ धकेलेको बताए । उनका अनुसार, उनीहरूले स्वास्थ्य सेवाको रक्षा गर्न अस्वीकार गरे र अब डेमोक्र्याट्सलाई स्वास्थ्य सेवा मागहरूबाट पछि हट्न धम्क्याउन सक्दैनन् ।

तल्लो सदन ९कंग्रेस०का सभामुख माइक जोनसनले भने, यो स्थिति पूर्णरूपमा टार्न सकिन्थ्यो, डेमोक्र्याट्सले पहिले नै पास भएको साधारण फन्डिङ बिल पास गर्नुपर्ने बताए ।

सरकारी कामकाज बन्द हुँदा के हुन्छ ?
अमेरिकामा सरकारले हरेक वर्ष बजेट पास गर्नुपर्छ । यदि संसद्ले सहमति नजुटाए भने फन्डिङ बिल पास हुँदैन र सरकारलाई प्राप्त हुने पैसा रोकिन्छ । यसले गर्दा केही विभाग र सेवाहरूलाई रकम प्राप्त हुँदैन, गैरजरुरी सेवा बन्द हुन्छन् । यसैलाई नै सटडाउन भनिन्छ ।

रिपब्लिकन पार्टीले फेरि पनि सिनेटमा मतदान गराउने तयारी गरेको छ । उनीहरूले डेमोक्र्याट्सले समर्थन नगरेसम्म बिललाई दैनिकरूपमा प्रस्तुत गरिरहने चेतावनी दिएका छन् ।

ट्रम्पले सटडाउनका लागि डेमोक्र्याट्सलाई जिम्मेवार ठहराएका छन् । उनले पहिले नै सरकारी कर्मचारीलाई नोकरीबाट निकाल्ने धम्की दिइसकेका छन् । अमेरिकामा २०१९ पछि पहिलोपटक सटडाउन भएको हो । त्यसअघि पनि ट्रम्पकै कार्यकालमा ३५ दिन लामो सटडाउन भएको थियो ।

ट्रम्पलाई फाइदा वा नोक्सान ?
सटडाउनको बेला प्रशासनले कुन सेवा जरुरी र कुन गैरजरुरी भन्ने निर्णय गर्न सक्छ । यसमार्फत ट्रम्पले शिक्षा, स्वास्थ्य र वातावरणजस्ता डेमोक्र्याट समर्थित कार्यक्रमलाई गैरजरुरी ठहराउँदै रक्षा र आप्रवासनलाई प्राथमिकता दिन सक्छन् । ट्रम्पले सटडाउनबाट सकारात्मक परिणाम आउने दाबी गरेका छन् ।

तर, लामो सटडाउनले ठूलो संख्यामा मानिस बेरोजगार हुन सक्छन् । २०२५ मा नै संघीय नोकरीमा तीन लाख कटौती गर्ने निर्णय भइसकेको छ, जुन ट्रम्पको नीतिको हिस्सा हो ।

ह्वाइट हाउसले संघीय एजेन्सीहरूलाई डेमोक्र्याट्सलाई जिम्मेवार ठहराउन निर्देशन दिएको छ । जुन नैतिक कानुनको उल्लंघन हुन सक्ने बताइएको छ । छोटो सटडाउन ट्रम्पलाई लाभदायी हुन सक्छ । तर, लामो सटडाउनले आर्थिक नोक्सानसँगै उनको छवि पनि बिगार्न सक्छ ।

अमेरिकाको खर्चको वर्ष अक्टोबर १ बाट सुरु
अमेरिकाको फिस्कल इयर अक्टोबर १ बाट सुरु हुन्छ । यसलाई सरकारले आफ्नो खर्च योजना बनाउने आर्थिक वर्ष मानिन्छ । यस अवधिमा सरकारले कहाँ पैसा खर्च गर्ने भन्ने तय गर्छ– जस्तै सेना, स्वास्थ्य वा शिक्षा ।

तर, बजेट समयमा पास नभएमा सरकार बन्द हुन्छ । यसलाई सटडाउन भनिन्छ । अमेरिकामा सरकारी सटडाउन लागेपछि अब सरकारसँग खर्चका लागि पैसा हुने छैन । यसबाट सरकारी कर्मचारीहरूलाई दिइने तलबदेखि लिएर तमाम अन्य खर्चहरू रोकिनेछन् ।

सटडाउन हुँदा अमेरिकी सरकारले आफ्नो खर्चहरूमा कटौती गर्नुपर्नेछ । यद्यपि, आपत्‌कालीन सेवाहरू जस्तै मेडिकल सर्भिस, सीमा सुरक्षा र हवाई सेवाहरू जारी रहनेछन् ।

अमेरिकामा पछिल्लो ५० वर्षमा फन्डिङ बिल अड्किएका कारण २० पटक सटडाउन भएको छ । ट्रम्पको पछिल्लो कार्यकालमै तीनपटक सरकारले सटडाउनको सामना गर्नुपरेको थियो ।

२०१९ को सटडाउन सबैभन्दा लामो ३५ दिनसम्म जारी रह्यो । जसमा अमेरिकी अर्थतन्त्रलाई २५ हजार करोड रुपियाँ घाटा भएको थियो ।

केही दिनमै असर देखिन थाल्ने
ह्वाइट हाउसकी पूर्वबजेट अधिकारी रेचल स्नाइडरम्यानले सरकार जसरी पैसा खर्च गर्छ, त्यसले देशका प्राथमिकताहरू देखाउँछ भनेर बताएकी छन् । उनले भनिन्, “सटडाउनले देशभरि केवल आर्थिक नोक्सानी, डर र भ्रम मात्र पैदा गर्छ ।” आर्थिक संकटको असर पूरै देशमा फैलिने आशंका छ । केही दिनमै आर्थिक झट्काहरू महसुस हुन सक्छन् ।

गोल्डम्यान स्याक्सको विश्लेषणअनुसार, विगतमा सरकारी कामकाज बन्द हुँदा वित्तीय बजार सामान्यतया स्थिर रहन्थे । तर, यसपटक स्थिति फरक हुन सक्छ । किनभने व्यापक स्तरको वार्ताको कुनै संकेत छैन । विशेषज्ञहरूको भनाइअनुसार, सटडाउन जति लामो चल्छ । दुष्प्रभाव त्यति नै बढी हुन्छ । सटडाउन लम्बिएमा बजारमा असर देखिन सक्छ र अर्थतन्त्र प्रभावित हुन सक्छ ।

अमेरिकामा सटडाउनका चर्चित मामिलाहरू
२०१३ मा अमेरिकाको आठहजार ८९१ किमी लामो क्यानाडा सीमाको हेरचाह गर्ने केवल एक जनामात्र कर्मचारी थिए । उनीमाथि पूरै सीमा इलाकाको सरसफाइको जिम्मेवारी थियो । बाँकी सबैलाई छुट्टीमा पठाइएको थियो ।

अमेरिकाका पहिलो र दोस्रो विश्वयुद्धमा सवा लाख सैनिक मारिएका थिए । उनीहरू विश्वभरिका २४ चिहानमा दफन गरिएका छन् । तीमध्ये २० युरोपमा छन् । यिनको हेरचाह खर्च अमेरिकी सरकारले व्यहोर्छ । २०१३ को सटडाउनमा यी सबै चिहान बन्द गरिएका थिए ।

२०१८ को सटडाउनमा तलब नपाएकाले धेरै कर्मचारी एयरपोर्टमा काम गर्न गएनन्, जसका कारण धेरै उडानहरू रद्द भए ।

त्यसै, समयमा, एफबीआई निर्देशकले बजेट अभावले उनीहरूको काममा समस्या आइरहेको भन्दै चेतावनी दिएका थिए ।

सटडाउनको बीचमा ट्रम्प सोसल मिडियामा सक्रिय
जब हजारौँ संघीय कर्मचारी सटडाउनका कारण घरमै बसिरहेका थिए र सम्भावित बर्खास्तगीको सामना गरिरहेका थिए, राष्ट्रपति डोनाल्ड ट्रम्प भने सामाजिक सञ्जालमा सक्रिय देखिए । उनले आफ्ना समर्थकहरूले गरेका प्रशंसात्मक सन्देशहरू सेयर गरे ।

त्यसपछि उनले डेमोक्र्याट्सले गैरकानुनी आप्रवासीहरूको स्वास्थ्य सेवामा पैसा दिन चाहेको भन्दै गलत दाबी गरे । कुन संघीय कार्यक्रममा स्थायी कटौती गर्ने भन्ने विषयमा उनले आफ्नो शीर्ष बजेट सल्लाहकारसँग भेट गर्ने बताइएको छ । यसलाई उनले राजनीतिक घोटाला भएको बताए ।

सरकारको सटडाउन दोस्रो दिनमा प्रवेश गर्दा ट्रम्प यस जटिल परिस्थितिमा सामाजिक सञ्जाललाई सक्रियतापूर्वक प्रयोग गर्दै देखिए ।

७९ वर्षीय राष्ट्रपतिका लागि यो लगातार अनलाइन सक्रियता असाधारण थियो । उनको प्रशासन पनि डेमोक्र्याट्समाथि वार्ता गर्ने भन्दा व्यङ्ग्य गर्ने र आलोचना गर्नेमा बढी केन्द्रित देखियो ।

सरकारी वेबसाइटहरूमा देखिएका पप–अप सन्देशहरूमा सटडाउनको लागि उग्र वामपन्थीहरूलाई जिम्मेवार ठहराइएको थियो, जुन गैर–पक्षपाती एजेन्सीका लागि असामान्य राजनीतिक सन्देश हो । पत्रकारहरूले ह्वाइट हाउसमा इमेल पठाउँदा, स्वचालित जवाफ आउँथ्यो, जसमा ढिलो प्रतिक्रियाको कारण कर्मचारी कमीलाई “डेमोक्र्याट सटडाउन” भनेर दोषारोपण गरिएको थियो ।

सटडाउनका लागि ट्रम्प जिम्मेवार
ट्रम्पको ह्वाइट हाउस राजनीतिमा आक्रामक र कठोर अडान अपनाउन अभ्यस्त छ । यो शैली गत चुनाव अभियानदेखि निरन्तर छ, जसलाई आलोचकहरूले निर्दयी र प्रतिशोधी भनेका छन् ।

ट्रम्पले डिसेम्बर २०१८ देखि जनवरी २०१९ को सटडाउनमा पनि यस्तै अनलाइन व्यवहार देखाएका थिए । त्यतिबेला ३० औँ दिन उनले ४० वटा ट्वीट गरेका थिए, जसमा हाउस स्पीकर न्यान्सी पेलोसीको आलोचना र संघीय कर्मचारीहरूको कठिन परिश्रमका लागि धन्यवाद दुवै समावेश थिए ।

त्यो समयमा अधिकांशले सटडाउनको जिम्मेवारी ट्रम्पमाथि नै देखाएका थिए । एपी–एनओआरसी सर्वेक्षणअनुसार, झन्डै ७० प्रतिशत अमेरिकीले त्यसपटक सटडाउनका लागि ट्रम्प जिम्मेवार ठानेका थिए । अन्ततः, उनले सीमामा पर्खालका लागि फन्डिङ माग छोडेर सरकार खोल्ने कानुनमा हस्ताक्षर गर्नुपरेको थियो ।

राष्ट्रपति र रिपब्लिकन प्रमुख रूपमा जिम्मेवार : सर्वेक्षण
हालै न्युयोर्क टाइम्सरसिएना सर्वेक्षणमा, जुन सटडाउन सुरु हुनुअघि भएको थियो, धेरै मतदाताले ट्रम्प र रिपब्लिकनलाई नै यसको लागि जिम्मेवार ठाने । करिब एक–तिहाइ मतदाताले भने दुवै पक्ष समान रूपमा जिम्मेवार छन् भनेका थिए ।

वाशिङ्गटन पोस्टद्वारा अक्टोबर १ मा गरिएको अर्को सर्वेक्षणमा, ४७ प्रतिशत अमेरिकीले राष्ट्रपति र रिपब्लिकन प्रमुख रूपमा जिम्मेवार ठानेका छन्, जबकि ३० प्रतिशतले डेमोक्र्याट्सलाई जिम्मेवार बताए ।

सबैलाई साथ लिएर हिँड्ने चुनौती
एकसय सदस्यीय सिनेटमा मतदान शुक्रबार हुनेछ । यीमध्ये ५३ रिपब्लिकन र २ स्वतन्त्र सांसद छन् । यस्तो अवस्थामा बिल पास गर्न ४७ मध्ये धेरैजसो डेमोक्र्याटहरूको समर्थन आवश्यक छ ।

राष्ट्रपति ट्रम्पका लागि सबैलाई साथ लिएर अघि बढ्नु ठूलो चुनौती हो । उनका धेरै निर्णयहरूका कारण द्विदलीय सांसदहरू असन्तुष्ट देखिएका छन् । विशेषगरी स्वास्थ्य बजेटका सन्दर्भमा उनले सबैलाई साथमा लिनुपर्नेछ ।

एजेन्सीहरूको सहयोगमा

तपाईको प्रतिक्रिया