सम्पादकीय—विपद् पुनरावृत्तिको दुष्चक्र

जल तथा मौसम विभागले असोज १७ देखि २० सम्म अविरल वर्षा हुने पूर्वअनुमान गरेको थियो । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको जानकारी समयमै दिइएको थियो । तर सतर्कता अपनाउँदा–अपनाउँदै पनि धनजनको यति ठूलो क्षति भयो । ४८ जनाले ज्यान गुमाए । २८ घाइते भए । दुई हजारभन्दा बढी मानिस विस्थापित भए । यी तथ्यांक मात्र होइनन् । प्रत्येक संख्या पछाडि परिवार छ, सपना छ, भविष्य छ । तर हामी हरेक वर्ष यही दृश्य दोहोर्याइरहन्छौं । प्रश्न उठ्छ – यो पुनरावृत्तिको दुष्चक्र कहिलेसम्म ? यसको अर्थ स्पष्ट छ – पूर्वसूचना मात्रै पर्याप्त छैन । पूर्वसूचनालाई कार्यान्वयनमा लैजाने क्षमता र संरचना चाहिन्छ ।
यसपालिको विपद्ले सडक क्षेत्रमा पु¥याएको क्षति चिन्ताजनक छ । सडक विभागका अनुसार ८० राजमार्गका २५० भन्दा बढी खण्डमा पहिरो गएको छ । मेची र बिपी राजमार्ग अझै पूर्णरूपमा बन्द छन् । यी पहिरो नियन्त्रण गर्न मात्र २० अर्ब रुपैयाँ चाहिने अनुमान छ । सडक विभागका प्रवक्ताको भनाइ अनुसार बजेट आयो भने पनि दुई–तीन वर्ष लाग्छ । यो समयावधि अस्वीकार्य छ । तर यो हाम्रो क्षमताको वास्तविकता पनि हो ।
सडक निर्माणमा हामीले गुणस्तरलाई बेवास्ता गरेका छौं । ठेक्का सस्तोमा दिने र छिटो काम सक्ने भन्ने मात्र लक्ष्य रहन्छ । ड्रेनेज प्रणाली कमजोर हुन्छ । पहाडी ढलानमा बनेका सडकमा रिटेनिङ वाल कमजोर बनाइन्छ । वर्षामा यस्ता सडक पहिरो जानु स्वाभाविक हो । सडक बोर्डमा १ खर्ब रुपैयाँभन्दा बढी रकम जम्मा छ तर खर्च हुन सकेको छैन । यो प्रशासनिक ढिलासुस्ती हो कि नीतिगत कमजोरी ? दुवै हो । रकम छ तर निकासा हुन्न । आयोजना छ तर कार्यान्वयन हुँदैन । यो दुष्चक्र तोड्नुपर्छ ।
विपद् प्रबन्धनमा राहत वितरण मात्र अन्तिम उपाय होइन । त्यो तत्काल आवश्यकता हो । तर दीर्घकालीन समाधान पुनर्निर्माण र पूर्वतयारीमा छ । विपद्ले ऊर्जा क्षेत्रलाई पनि ठूलो धक्का दिएको छ । ३२ जलविद्युत् आयोजना प्रभावित भए । इलाममा मात्र १६ आयोजनामा क्षति पुग्यो । सञ्चालनमा रहेका १७ मध्ये १५ आयोजना इलामका छन् । निर्माणाधीन १५ आयोजनाको पहुँचमार्ग नै बग्यो । उत्पादन बन्द भयो । लगानी जोखिममा पर्यो । यसले ऊर्जा क्षेत्रको भविष्यमा प्रभाव पार्नेछ । लगानीकर्ता हतोत्साहित हुनेछन् । बिमा प्रिमियम बढ्नेछ । आयोजनाको लागत बढ्नेछ । यो अप्रत्यक्ष आर्थिक क्षति हो जसलाई हामीले बेवास्ता गर्न सक्दैनौं । पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्छ । स्थानीय तहसम्म सूचना पु–याउने प्रणाली सुदृढ गर्नुपर्छ ।
जनचेतना अभियान चलाउनुपर्छ । यसपालिको विपद्ले फेरि एकपटक सिकायो । तर हामीले कति सिक्यौं ? केही वर्षपछि फेरि यस्तै दृश्य दोहोरिएला ? यो प्रश्नको जवाफ हाम्रो आजको निर्णयमा छ । तयारीमा छ । क्रियाशीलतामा छ । विपद् आउनेछन् । तर त्यसबाट हुने क्षति घटाउन सकिन्छ । त्यसका लागि चाहिन्छ – राजनीतिक इच्छाशक्ति, प्रशासनिक क्षमता र नागरिक सहभागिता । यी तीनवटै एकै ठाउँमा जुट्नुपर्छ । अन्यथा हामी यही पुनरावृत्तिको दुष्चक्रमा फसिरहनेछौं । र हरेक वर्ष ४८ जनाको होइन, शायद त्योभन्दा धेरैको मृत्युको खबर सुन्नुपर्ने हुनेछ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया