‘भवन जलेको पीडा मात्र होइन, उद्यम गर्ने सोचमै आगो लगाइयो’

पोखरा ।
लेकसाइडमा रहेकाे होटल सरोवरमा गत भदौ २४ गते राति जेन–जी आन्दोलनको नाममा अराजक समूहले तोडफोड र आगजनी गरे । घटनापछि होटलका सञ्चालक प्रतीक पहारीले देशको राजनीतिक परिस्थितिबारे भावनात्मक विचार प्रकट गरेका छन् । बुधबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रतीकले त्यो रातको घटना केबल व्यवसायमाथिको आक्रमण नभई देशकै आर्थिक स्थायित्वमाथिको चुनौती भएको बताएका छन् ।
उनकाे सम्पादित भनाइः
देशमा प्रथम महिला प्रधानमन्त्री चयन हुनु गौरवको कुरा हो । म आशा गर्छु कि जेन–जी साथीहरूको आन्दोलनको मर्मलाई बुझी उहाँले देशलाई सही दिशातर्फ लैजानुहुनेछ । म विश्वास गर्छु कि देशमा शान्ति र सुशासन कायम हुनेछ र देशमा उद्यम गर्न सहज वातावरण बन्नेछ, साथै अन्य प्रभावितहरूलाई पनि नयाँ अवसर मिल्नेछ । युवाहरूको आक्रोश जायज थियो — भ्रष्टाचार र बेथिति निकै बढेको थियो । तर आन्दोलन शान्तिपूर्ण हुन आवश्यक थियो । युवाहरूको ज्यान गुम्नु अत्यन्त दुःखद घटना हो, तर युवाहरूको नाममा भएको अराजकता र तोडफोड पनि त्यत्तिकै पीडादायी भयो । म यस आन्दोलनमा सहादत प्राप्त गर्नुभएका युवाप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । त्यस्तैगरी, यस अराजक घटनामा ज्यान गुमाउनुभएका नागरिकहरूप्रति पनि श्रद्धाञ्जलि अर्पण गर्दै गहिरो समवेदना व्यक्त गर्दछु । साथै, राज्यका संरचना र व्यवसायहरूमा भएका लुटपाट, तोडफोड र आगजनीको पनि भत्र्सना गर्दछु । यसै सन्दर्भमा, भदौ २४ गते हामीले सञ्चालन गर्दै आइरहेको होटल सरोवरमा पनि तोडफोड र आगजनी गरियो । जेन–जीको नाममा आएका केही आपराधिक र अराजक समूहहरूले नियोजित ढंगले होटलमा तोडफोड, लुटपाट र आगजनी गरे । उनीहरू हातहतियारसहित आएका थिए । यस्ता कठिन क्षणमा हाम्रा कर्मचारीहरूले १२० भन्दा बढी पाहुनाहरूलाई सुरक्षित स्थानमा लैजानुभयो र रातभर आगो निभाउन लागिपर्नुभयो । उहाँहरूको प्रयास साँच्चिकै प्रशंसनीय र प्रेरणादायी छ । तर दुःखको कुरा, सुरक्षा निकायबाट कोही पनि सहायता गर्न आएनन् । रातभर होटल जलिरह्यो । सुरक्षा संयन्त्रको निष्क्रियताले राज्य अराजक अवस्थामै पुगेको प्रमाण दियो । पाहुनाहरूको करिब ५० लाख रुपैयाँभन्दा बढी मूल्यका सामग्री नष्ट भए, र होटल स्वयं अरबौं मूल्य बराबरको क्षति बेहोर्नु परेको छ । यो हिंसात्मक गतिविधिले हामी मात्र होइन, देशभरका अन्य व्यवसायीहरूलाई पनि ठूलो क्षति पु¥याएको छ । यस्ता अन्याय भविष्यमा अरूलाई नहोस् भनेर सबै सजग हुनुपर्छ । म आशा गर्दछु कि नयाँ सरकारले न्यायपूर्ण र सुरक्षित समाज निर्माणमा अग्रसर हुनेछ । पादरी मार्टिन निएमोलरले भनेझैं — ‘पहिला उनीहरू समाजवादीहरूका लागि आए, म बोलिनँ; त्यसपछि ट्रेड युनियनिस्टका लागि आए, म फेरि पनि मौन रहेँ; अनि जब उनीहरू मलाई लिन आए त्यसबेला — मेरा लागि बोल्ने कोही बाँकी रहेन ।’ यदि हामीले अरूको अन्यायमा मौन बस्यौं भने, हाम्रो पालो आउँदा हाम्रो पक्षमा को बोल्ने ? यही कुरा गम्भीर रूपमा बुझ्न आवश्यक छ । आज जसरी व्यवसायहरूमा आगजनी भयो, भोलि तपाईँ–हामीमाथि पनि त्यस्तै हुन सक्छ — यो साँच्चिकै डर लाग्दो कुरा हो । व्यवसाय गर्नु आफैंमा चुनौतीपूर्ण हुन्छ । विशेषगरी हाम्रा जस्ता देशमा, जहाँ मानिसहरूले आफ्ना पितृ–सम्पत्ति बेचेर वा ऋण लिएर जोखिम उठाइ लगानी गर्छन् । कहिलेकाहीँ लाग्छ — यस्तो जोखिम लिनु ठिक थियो कि थिएन ? तर फेरि सोचिन्छ — यदि हाम्रै ठाउँका मानिसहरूले जोखिम उठाएर लगानी गरेनन् भने कसले गर्ने ? अहिले भवन जलेको पीडा त छँदैछ, तर त्यसभन्दा ठूलो डर उद्यम गर्ने सोचमै आगो लगाइएको हो कि भन्ने हो । के हामी विदेशी लगानीकर्ता भित्र्याउने नाममा स्वदेशी लगानीकर्तालाई नै निरुत्साहित त गरिरहेका छैनौँ ? यो कुरा सबैले गम्भीरतापूर्वक बुझ्न आवश्यक छ । चीन र अमेरिका जस्ता देशमा अध्ययन गर्दा हामीले सिकेका थियौँ — विकासको मूल बाटो उत्पादनशीलता बढाउनु हो र रोजगारी सिर्जना गर्नु हो । कुनै पनि देश उत्पादन र रोजगारीका संयन्त्र बलियो नबनाई विकासको कल्पना गर्न सक्दैन । तर जब हामी उत्पादन र रोजगारी दिने संयन्त्रलाई नै तहस–नहस गर्छौं, के हामीले आफ्नै भविष्यको मुना नष्ट गरिरहेका छैनौँ ? अराजकता भनेको अराजकतै हो, अन्याय भनेको अन्यायै हो । नयाँको वकालत गर्ने आन्दोलन अन्यायको जगमा उभिएर कसरी स्थापित हुन सक्छ ? यस्ता अराजक गतिविधि गर्ने दोषीले सजाय पाए मात्र ‘नयाँ’को स्थापना सम्भव छ भन्ने मेरो धारणा हो । हाम्रो व्यवसाय सन् १९६० को दशकमा सुरु भएको हो — जब विदेशी पर्यटकहरू हाम्रा जमिनमा क्याम्पिङ गर्थे । ४४ वर्षअघि हामीले होटल सरोवर स्थापना गरेका थियौँ र सन् २०१८ को अन्त्यमा फेरि ठूलो जोखिम उठाएर नयाँ होटल निर्माण गरेका थियौँ । त्यतिबेला पनि हामीले आफ्नै जग्गा बेचेर व्यवसाय सुरु गरेका थियौँ, अहिले पनि त्यस्तै जोखिम उठाएर बैंकबाट ठूलो ऋण लिएर लगानी गरेका थियौँ । हाम्रो यात्रा सजिलो थिएन, तर यही चुनौतीहरूले हामीलाई अझ दृढ र सबल बनाएका छन् । कोभिड, खराब सडक संरचना, र विमान दुर्घटनाजस्ता कठिन क्षणहरूले हाम्रो आत्मबललाई अझ प्रबल बनाएको थियो । तर फेरि भदौ २४ को घटनाले गहिरो चोट त दियो, तर हाम्रो सपना, परिश्रम र समाजमा उद्योगबाट केही योगदान गर्ने संकल्प अडिग छौं । ‘हामी विचलित भइरहेको बेला विचलित भएका पनि छैनौं ।’ हामीले सधैं संकटलाई अवसरमा रूपान्तरण गरेका छौं र यस संकटलाई पनि नयाँ सम्भावनाको ढोका बनाउने आत्मबल राख्छौं । सबैभन्दा महत्वपूर्ण कुरा — हाम्रा पाहुना, कर्मचारी र परिवार सबै सुरक्षित हुनुहुन्छ, यही हाम्रो सबैभन्दा ठूलो धरोहर हो । हाम्रा कर्मचारी, अतिथि र शुभचिन्तकहरूको निरन्तर सहयोग र माया नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो । यही हौसला र एकताले हामीलाई पुनः उठ्न, होटललाई पुनर्जीवित बनाउन र अझ सशक्त रूपमा अघि बढ्न ऊर्जा दिएको छ । हामीलाई पीडा छ, दुःख छ, तर हामी छिट्टै पुनः सञ्चालनमा फर्कनेछौं र अझ सशक्त भएर अघि बढ्नेछौं । पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको साथ र समर्थन सधैं रहँदै आएको छ । सामाजिक संस्थाहरूको सामूहिक ज्ञान, सञ्जाल, पैरवी र सहयोगले यो कठिन समयलाई शक्तिमा रूपान्तरण गर्न मद्दत गर्नेछ । हामी सबै मिलेर न्यायपूर्ण, सुरक्षित र समुन्नत समाज निर्माणमा अग्रसर हुनेछौं ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया