मुख्यमन्त्रीले हेरे क्षतिग्रस्त कार्यालय

समाधान संवाददाता २०८२ असोज २३ गते १०:५०

दमौली ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका तनहुँका सरकारी कार्यालयको बुधबार निरीक्षण गरेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएका विभिन्न कार्यालयको मुख्यमन्त्री पाण्डेले अवलोकन गरेका हुन् ।


मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालयको निरीक्षण गर्दै क्षतिको विवरणबारे चासो राखे । त्यस क्रममा मुख्यमन्त्री पाण्डेले कार्यालयबाट हाल भइरहेका सेवा प्रवाहका बारेमा पनि जानकारी लिए ।


मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालयका विभिन्न कक्ष, प्रमुख जिल्ला अधिकारीको निवास, अदालतका इजलास, विभिन्न कक्षहरू हेरे । उनले आन्दोलनबाट गण्डकी प्रदेशका धेरै जिल्लामा क्षति पुगेको बताउँदै वैकल्पिक व्यवस्थाका माध्यमबाट जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न आग्रह गरे ।

Advertisement


जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले हाल कार्यालयबाट नयाँ नागरिकता र प्रतिलिपिको काम सुरु गरिसकेको जानकारी दिए । आगजनी र तोडफोडबाट प्रशासन कार्यालयको भवन पुनः प्रयोग गर्न असुरक्षित रहेकाले अन्य कार्यालयमा व्यवस्थापन गरेर कार्यालयको सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।


‘हामीले केही कार्यालय हेरेर प्रशासन कार्यालय स्थानान्तरण गर्ने विषयमा पनि हे¥यौं, हालको कृषि ज्ञान केन्द्र अन्यभन्दा उपयुक्त देखिएको छ,’ सिडिओ अधिकारीले भने । निरीक्षणका क्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, प्रहरी उपरीक्षक टेकबहादुर कार्की लगायत उपस्थित थिए । रासस

Advertisement

तपाईको प्रतिक्रिया