सम्पादकीय—मालपोतको सेवा सरल होस्

मालपोत कार्यालय भनेकै भ्रष्टाचारको अखडा भनेजस्तो छाप आमजनतामा छ । भदौ २३ र २४ को जेन जी आन्दोलनमा कास्की मालपोत कार्यालय पनि तोडफोड भयो । तोडफोड गर्नेहरुले घुस्याहाहरुको अफिस भन्दै आक्रोश पोखेका थिए । मालपोतमा काम गर्न जाँदा सजिलै र पैसा नखुवाई हुन्न भन्ने जुन छाप परेको छ, त्यसैको आक्रोशको तारोमा यो कार्यालय परेको छ । तोडफोड र आगजनी गराउनै नहुने थियो, तर युवा आक्रोशले विवेकको प्रयोग गरेन । मालपोत भनेको सरकारी कार्यालय हो र त्यो जनताकै सम्पत्ति हो, जहाँ जनताका सम्पत्तिको अभिलेख छ ।
त्यसैलाई खरानी बनाएर घुसखोरी अन्त्य हुँदैनथ्यो । यो कुरा बुझेकाले भन्दा पनि राज्यलाई तहसनहस पार्न खोज्नेहरुले मालपोत लगायत सरकारी कार्यालयहरु जलाए । जसै मालपोत खरानी भएको छ, तसै जनतालाई सास्ती थपिएको छ । नागरिकलाई झन्झट र दुःख थपिदिएको छ । हालै मालपोत कार्यालयले जारी गरेको सूचनाले समस्या समाधानको सट्टा नयाँ समस्या जन्माएको छ । आगलागीपछि कार्यालयले दर्ता स्रेस्ता कायम गर्नका लागि ११ वटा कागजात माग गरेको छ । यो माग अव्यावहारिक छ । ‘नीतिगत सुधारका लागि नागरिक अभियान’ र पोखरा उद्योग वाणिज्य संघले यसको विरोध गरेका छन् । उनीहरुको भनाइ जायज छ । यस्ता जटिल प्रक्रियाले जनतालाई थप पीडा दिनेछ ।
‘जेन–जी’ आन्दोलनका क्रममा भएको आगजनीले धेरैको जग्गासम्बन्धी अभिलेख नष्ट भएको छ । यस्तो अवस्थामा सबै नागरिकबाट ११ वटा कागजात माग्नु न्यायोचित छैन । भूमि प्रशासन निर्देशिका, २०८१ को दफा २१ अनुसार सबैलाई एउटै प्रक्रियामा राख्न खोज्नु गलत हो । सबै नागरिकको अवस्था एकैनास हुँदैन । कोही विदेशमा छन्, कोही अशक्त छन् । कतिपयसँग पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका कागजात छैनन् । यस्तो अवस्थामा सबैलाई एउटै नियम लागु गर्दा अन्याय हुन्छ । मालपोत कार्यालय आफैंसँग डिजिटाइज्ड अभिलेख छ । कार्यालयले आफ्नै सर्भरमा भएका प्रमाणलाई अमान्य मानेर जनतासँग माग्नु आफैंप्रति अविश्वास हो । यसले कार्यालयको कार्यक्षमतामाथि प्रश्न उठाउँछ । सरकारले जनताको सम्पत्तिको अधिकार सुनिश्चित गर्नुपर्छ ।
मालपोत कार्यालयले दर्ता स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरल बनाउनुपर्छ । न्यूनतम कागजातको आधारमा काम गर्नुपर्छ । कार्यालयले आफ्नै डिजिटल अभिलेखलाई मान्यता दिनुपर्छ । जनतालाई अनावश्यक कागजात माग्नु हुँदैन । क्षति भएका अभिलेखहरूको पुनर्निर्माणका लागि द्रुत कार्यदल गठन गर्नुपर्छ । यसमा स्थानीय तह र सरोकारवाला निकायको सहभागिता हुनुपर्छ । मालपोतले ‘जनतालाई सास्ती दिएर होइन, सहजता दिएर सेवा प्रवाह गर्नुपर्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्नुपर्छ ।
पोखराका केही क्षेत्रमा भौतिक अभिलेख सुरक्षित रहेको कार्यालयले जनाएको छ । त्यसैले कास्कीका सबै जग्गाधनी मालपोत धाइहाल्नुपर्ने भन्ने पनि होइन । सूचनाबाट आतंकित पनि हुनु हुँदैन । जसले तुरुन्ता तुरुन्तै किनबेच, अंशबन्डा वा जग्गा सम्बन्धी काम गर्नुपर्ने छ, तिनीहरुका हकमा मात्रै सूचना आकर्षित हुने हो भन्ने पनि सेवाग्राहीले बुझ्नुपर्छ । कार्यालयसँगै रहेका डिजिटल अभिलेख अस्तित्वमा छन् । त्यसैले सबै आत्तिहाल्नुपर्ने स्थिति पनि छैन ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया