जैविक विविधता संरक्षण गर्न भलिबल प्रतियोगिता

मुनाल भलिबल कपको तयारी सुरु, संरक्षण र पर्यटन प्रवद्र्धनको लक्ष्य

समाधान संवाददाता २०८२ असोज २६ गते १२:१९

पोखरा ।
जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपालले गत वैशाख तेस्रो साता पत्रकार सम्मेलन गरी कास्कीको माछापुच्छ्रे गाउँपालिका १ पिपर क्षेत्रमा चराको संख्या घट्दै गएको जानकारी गराएको थियो । उक्त पत्रकार सम्मेलनपछि गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र स्थानीयले यसको संरक्षणमा चासो दिएका थिए ।


सन् १९७० को दशकमा बेलायती नागरिक जिम्मी रोबर्ट पदमार्गको खोजी गर्दै पिपर क्षेत्र पुग्दा कालिज प्रजातिका डाँफे, मुनाल, फोक्रास, प्युरा एकै ठाँउमा देखेपछि यो ठाउँको चर्चा चलेको हो । सन् १९७९ देखि बेलायतकाे वल्र्ड फेजेन्ट असोसिएसन (डब्लुपिए) ले यहाँको कालिज प्रजातिका चराका गणना गर्दै आएको छ । पछिल्लो समय डब्लुपिएकै सहयोगमा बायोकसले यस क्षेत्रको चराका बारेमा अध्ययन अनुसन्धान गर्दै आएको छ ।


सोही क्रममा गत वैशाख ४ देखि १८ गतेसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गतका वन क्षेत्रमा चरा गणना गरिएको थियो । पालिकास्थत पिलिचो, पिपर, खुमई, कोर्चां, लुब्रचु, चिचिम्ले, डाँफे चौर, हिले र ओदाने क्षेत्रमा गणना गर्दा बायोकसले चराको संख्या घटेको पाएको थियो । भने, त्यसरी घट्नुमा अवैध चोरी–सिकारी प्रमुख चुनौतीका रूपमा देखिएको बायोकसले जानकारी दिएको थियो । सँगै सो क्षेत्रमा चरा पर्यटनको राम्रो संभावना रहेकाले यसको संरक्षण गर्नुपर्ने विषय जोडतोडका साथ उठेको थियो ।

Advertisement


सोही चुनौतीलाई चिर्न बायोकसले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासँगै पालिका र स्थानीयसँग मिलेर ‘स्मार्ट’ नामक मोबाइल एपमा आधारित गस्ती प्रणाली सुरु गरेको छ । साथै, ट्रेल क्यामराको प्रयोगद्वारा निगरानी प्रणालीलाई थप मजबुत बनाइएको छ । जनचेतनाका लागि स्कुलमा विभिन्न कार्यक्रम गरिरहेको छ । सोही अन्तर्गत सो क्षेत्रको चरा संरक्षणका लागि ‘मुनाल भलिबल कप’ हुने भएको छ ।


चरा संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ भलिबल प्रतियोगिताको तयारी थालिएको बायोकोस नेपालका अध्यक्ष लक्ष्मणप्रसाद पौेड्यालले जानकारी दिए । आगामी वर्ष आयोजना गरिने प्रतियोगिताको तयारी स्वरुप शनिबार माछापुच्छ्रे १ स्थित टुसेमा पूर्व तयारी तथा मैत्रीपूर्ण खेल आयोजना गरिएको छ ।

Advertisement

‘खुमाइ डाँडा र कोर्चा जस्ता पर्यटकीय क्षेत्रमा डाँफे, मुनाल जस्ता फेजेन्ट प्रजातिहरू मात्र नभई हिमाली कालो भालु, थार, कस्तुरी मृग र ध्वाँसे चितुवा जस्ता लोपोन्मुख जनावरहरू पाइन्छन्,’ उनले भने, ‘यस क्षेत्रका वन्यजन्तुको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्न खेलकुदमार्फत सबैलाई समेट्ने उद्देश्यले ‘मुनाल भलिबल कप’ को स्थापना गरिएको हो ।’


प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत जैविक विविधता संरक्षणको सन्देश फैलाउनु रहेको बायोकस नेपालका निर्देशक डा. पारसविक्रम सिंहले बताए । यसले स्थानीय समुदाय, विशेषगरी युवा र विद्यार्थीहरूलाई संरक्षण कार्यमा दीर्घकालीन रूपमा सहभागी गराउने लक्ष्य राखेको उनले सुनाए । साथै, समुदायमा एकता, सकारात्मक ऊर्जा र संरक्षणप्रतिको चेतना जगाउने तथा नेपाली संस्कृति, हिमाली भू–परिवेश र राष्ट्रिय पहिचानसँग सम्बन्धित प्रजातिहरूको संरक्षण आवश्यकताको सन्देश फैलाउने पनि यसको उद्देश्य रहेको छ ।

आगामी वर्ष आयोजना गरिने मुनाल कपको विजेतालाई नगद ३ लाख रुपैयाँ, द्वितीय टिमलाई २ लाख रुपैयाँ, र तृतीय हुने टिमलाई १ लाख रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए । उत्कृष्ट विधाका खेलाडीहरूका लागि पनि प्रोत्साहन स्वरूप विशेष पुरस्कारहरू राखिएको उनले बताए ।


बयाकोस नेपाल, वल्र्ड फेजेन्ट एसोसिएसन (डब्लुपिए), अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप), माछापुच्छ्रे गाउँपालिका र ग्रेट माछापुच्छ«े ट्रेलको संयुक्त आयोजनामा पूर्वतयारी स्वरुप शनिबार मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको माछापुच्छ«े १ का वडाध्यक्ष इन्द्र गुरुङले बताए । संरक्षण क्षेत्र ब्यवस्थापन समिति, कर्मचारी, जनप्रतिनिधि, शिक्षक भूतपूर्व खेलाडी ‘ए’ र ‘बी’ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगितामा कर्मचारीको टिम प्रथम भएको थियो ।


फाइनल खेलमा भूतपूर्व खेलाडी ‘ए’ टिमलाई २५–१० र २५–२० को सोटो सेटमा पराजित गरी कर्मचारीको टिम प्रथम भएको हो । कर्मचारी टिमलाई नगद १० हजार रुपैयाँ र कपसहित पुरस्कृत गरिएको थियो । भने, दोस्रो भएको भूतपूर्व खेलाडी ‘ए’ लाई ५ हजार रुपैयाँ र कप पुरस्कार प्रदान गरिएको थियो ।


कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले पिपर क्षेत्रलाई गाउँपालिकाले पिपर फेजेन्ट कन्जर्भेशन ल्याण्डस्केप नामाकरण गरेको जानकारी दिए । ‘हामीले औपचारिक रूपमा सो क्षेत्रलाई पिपर फेजेन्ट कन्जर्भेशन ल्याण्डस्केप घोषणा गरी संरक्षण र पर्यावरणीय पर्यटन प्रवद्र्धनको काम अघि बढाएका छौं,’ उनले भने, ‘यस प्रतियोगिताले उक्त घोषणालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने छ अनि पर्यटन प्रवद्र्धनमापनि टेवा पुग्ने हामीले विश्वास लिएका छौं ।’


माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सिता अधिकारीले चरा पर्यटनको संभावना बोकेको ठाउँमा संरक्षित पंक्षीको शिकार, ओसारपसार र बिक्रीवितरणमा रोक लगाउन प्रतियोगिताले सहयोग बताइन् । यस्तो क्रियाकलाप नरोकिने हो भनेर त्यस क्षेत्रमा चरा पर्यटनको संभावना सपनामै सिमित हुने उनको भनाइ छ । पहिलो खुड्किलो बायोकस नेपाल र डब्लुपिएले चालिदिएकाले अब अर्को पाइला यहाँका स्थानीय, सरकार र सरोकारवाला मिलेर चाल्नुपर्ने भएकाले पालिकाले यसमा काम सुरु गरिसकेको उनले सुनाए ।


माछापुच्छ्रे– १ का वडाध्यक्ष तथा ग्रेट माछापुच्छ्रे ट्रेलका अध्यक्ष इन्द्र गुरुङले आफ्नो वडामा पाइने डाँफे, मुनाल लगाएतका वन्यजन्तुको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्न सक्दो सहयोग गर्ने बताए । उनले आफ्नो वडा चरा पर्यटनका लागि राम्रो गन्तव्य भएकाले ‘बर्ड वाचिङ स्पट’ तोकेर नयाँ कार्यक्रम गर्दै जाने योजना सुनाए । प्रतियोगिताले संस्कृति, हिमाली भू–परिवेश र राष्ट्रिय पहिचानसँग सम्बन्धित प्रजातिहरूको संरक्षण आवश्यकताको सन्देश फैलाउने उनको भनाइ थियो ।


कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका निवर्तमान अध्यक्ष कर्णबहादुर गुरुङ, गाउँपालिकाका प्रवक्ता गणेश आचार्य, प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी, पूर्व जनप्रतिनिधिहरु विरेन्द्र गुरुङ, विक्रम गुरुङ, संरक्षण क्षेत्र व्यवस्थापन समितिको तर्फबाट सुर्जे गुरुङ, एक्याप ल्वाङका प्रमुख लेखनाथ गौतमलागयतले खेलकुदमार्फत जैविक विविधता संरक्षणको सन्देश उजागर हुने बताएका थिए ।

तपाईको प्रतिक्रिया