
‘जान्नेलाई छान्ने’, ‘नो नट अगेन!’ जस्ता नाराहरू लगाएर भ्रष्टाचार उन्मूलन र सुशासनको सपना देखाएर स्थापित भएको एउटा राजनैतिक पार्टीका सभापति झन्डै दश ठाउँको सहकारी अनियमितता वा ठगीको आरोपमा मुद्दा पुर्पक्षको सिलसिलामा नख्खु कारागारमा बन्दी जीवन व्यतित गराइरहनु भएको अवस्थामा तरुण पुस्ताले चलाएको आन्दोलनको अवसर छोपी जेल तोडेर बाहिर निस्कनु भयो । उहाँ आफू मात्र निस्कनु भएन, उहाँका कारणले झन्डै १४,००० कैदीबन्दीहरू जेल तोडेर बाहिर निस्कन सफल भए ।
हुनलाई देशैभर कारागार आतंक नै फैलिन पुग्यो तर राजनीतिक दलका पार्टी सभापति आफैँले लगाएको सुशासन एवं अनियमितता विरोधी नाराको आफैँले उपहास गर्दै देशभरका कारागारहरूमा विद्रोहको आगो झोस्ने र सोही आगोमा दन्किएको ज्वालाको सहारामा कैदीबन्दीहरूलाई बाहिर निकाल्ने काम हुन पुग्यो । कैदीबन्दीहरूलाई बाहिर मात्र निकालिएन, बाहिर निस्किसकेपछि थप आतंक र लुटपाट मच्चाउन खटाइयो ।
संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकबाट नगद रू. छत्तीस करोड र १८ किलो सुन लुटपाट गरियो । सो सुन लुटपाटमा रवि लामिछानेसँगै नख्खु जेल ब्रेक गरी निस्केका कैदीबन्दीहरूको प्रत्यक्ष सहभागिता देखियो । अनियमितता विरुद्ध सशक्त आवाज उठाउने, बोलीमा मोहनी नै रहेको आभास दिने व्यक्तिको कत्लेमुलुकले अपुरणीय क्षति व्यहोर्न पुग्यो ।
करोडौँको भौतिक क्षति हुन पुग्यो । कैदीबन्दीहरू जेल तोडेर भाग्दा मुलुकमा सरकार शून्यताको अवस्था सिर्जना भयो । अपराधीहरू जेलबाट बाहिर आउँदा पीडित र पीडितका टोलछिमेक, समाज वा घर परिवार आतंकित हुन पुगे । कतिपय कैदीबन्दीहरूले त जेलबाट निस्कनासाथ नेपाली नारीहरूमाथि नै जबर्जस्ती वा बलात्कारको प्रयत्नसम्म गरे ।
१४,००० जस्तो ठूलो संख्याका कैदीबन्दीहरूलाई सायद माओवादी द्वन्द्वकालीन अवस्थामा समेत जेलबाट भगाइएको थिएन ।
थुप्रै आमा, दिदीबहिनीहरूलाई आफ्नो इज्जत बचाउन धौधौ पर्न पुग्यो । राज्यको गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्तिले र उनका कारणले मुलुक सरकारविहीन अवस्थामा पुग्यो । कहीँ कतैबाट गुहार वा कानुनी उपचार पाउने सम्भावना रहेन । देशमा प्रहरी प्रशासन र सरकार नै छैन भन्ने खालको आभास हुन पुग्यो । सरकारको गृहमन्त्री भइसकेका व्यक्तिका कारणले अझै पनि बन्दीगृहबाट भागेका ८,००० भन्दा बढी कैदीबन्दीहरू बेपत्ता भएको स्थिति रह्यो । उनीहरूको खोजी गर्न राज्यले ठूलै श्रम, समय र शक्ति खर्च गरिराख्नु पर्ने अवस्था सिर्जना हुन पुग्यो ।
मुलुकको सुशासन, सुरक्षा प्रशासनको जिम्मा लिएको र पदमा रहँदा वा नरहँदा कानुनको अक्षरशः पालना गर्नेछु भनी शपथ लिएको व्यक्ति जो आफूलाई मौजुदा सरकारको विकल्पका रूपमा सरकार प्रमुखको हैसियतले प्रस्तुत गर्दछ, त्यही व्यक्तिका कारणले आज नागरिकहरूमा सुरक्षा खतरा बढ्नु, राज्यको कानुनलाई नै लात हान्नु, व्यवस्थालाई नै चुनौती दिएर आतंक सिर्जना गर्नुले उनको असली नियत के रहेछ त भन्ने कुरा छर्लङ्ग थाहा हुन गएको छ । उनकै कारणले कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मी, कारागार प्रशासन र त्यहाँका कर्मचारीसमेतको जागिरै धरापमा पर्ने हो कि भन्ने सम्मको स्थिति सिर्जना हुन पुग्यो ।
१४,००० जस्तो ठूलो संख्याका कैदीबन्दीहरूलाई सायद माओवादी द्वन्द्वकालीन अवस्थामा समेत जेलबाट भगाइएको थिएन । माओवादीहरूको द्वन्द्वकालीन स्थितिलाई समेत माथ गर्ने गरी मुलुकमा अराजकता सिर्जना गर्ने गरी कैदीबन्दीहरू भगाइसकेपछि नेताहरूका घर, गाडी, सरकारी कार्यालय खासगरी अदालत र बैंकमा समेत आगजनी र लुटपाटका घटनाहरू घटाइए । व्यावसायिक भवनहरूमा आगो झोस्ने र लुट्ने काम गरियो । कानुनलाई हातमा लिएर वा कानुनको बेपर्वाहपूर्ण तरिकाले उपहास गरेर मुलुक आतंकित तुल्याइयो ।
जेल तोडेर भागेका कैदीबन्दीहरूलाई जुन अदालतमा आफू विरुद्धका मुद्दाका मिसिलहरू रहेका छन्, तत् तत् ठाउँमा आगो झोस्न लगाए र प्रमाण नष्ट गर्न लगाइयो । हिजोका दिनहरूमा विधि र नीतिको, मूल्य र मान्यताको, चरित्र र नैतिकताको रटान गर्ने व्यक्तिका कारणले अदालत, बैंक, प्रहरी चौकी, व्यापारिक प्रतिष्ठान, मुलुकको प्रमुख प्रशासनिक अड्डामा समेत आतंक फैलियो । कारागारभित्र सुरक्षित रहेका कैदीबन्दीहरू व्यापारिक प्रतिष्ठानभित्र आगजनी र लुटपाट गर्न जाने क्रममा झोसेको आगोमा आफैँ परेर मर्ने स्थिति सम्म सिर्जना भयो भन्ने सुनियो ।
राज्यको गृह प्रशासन सञ्चालन गरेको व्यक्ति आफैँले सोही मन्त्रालय मातहतको कारागारमा हजारौँ हजार कैदीबन्दीहरू उचालेर, उफारेर मुलुकमा फैलाएको राज्य आतंकलाई कुनै पनि विवेकशील नेपाली नागरिकले बिर्सने छैनन् र बिर्सनु पनि हुँदैन ।
सुशासन केवल सुगा रटाइले वा देउसी भैलो भट्टाइले स्थापित हुने होइन, यसको लागि त चरित्र र आचरणको आवश्यकता पर्दछ । महत्वपूर्ण पदमा बसिसकेको व्यक्तिको चरित्र वा आचरण मुलुकका सबै नागरिकहरूका लागि उदाहरणीय बन्न सक्नु पर्दथ्यो । उहाँको सच्चरित्रता र अनुशासनले अरू नागरिकहरूमा विश्वास वा चरित्र निर्माणको आधार सिर्जना हुने हो, तब मात्र मुलुकमा स्थिरता, समृद्धि र सुशासनको अपेक्षा गर्न सकिन्छ । तर यहाँ त वैकल्पिक सरकारको प्रमुख मै हुँ भन्नेले देखाएको अत्यन्त निम्नस्तरीय हर्कतले उहाँको असली चरित्रलाई उदाङ्गो पारिदिएको छ ।
नेतृत्व लिने मान्छे स्वभावैले पनि शालीन, भद्र, शिष्ट वा धैर्यवान हुन सक्नु पर्दछ । पदमा रहँदा वा नरहँदा जुनसुकै परिस्थितिमा पनि राज्यको कानुन र व्यवस्थालाई सम्मान गर्न सिक्नु पर्दछ । तर जतिसुकै बेला उहाँ र उहाँका कार्यकर्ताहरूमा आवेग र उत्तेजनाको प्रलाप फिँजाएर, अरूलाई दोषी देखाएर, पानी धमिल्याउने र धमिलो पानीमा माछा मार्ने अवसर छोप्ने क्षुद्र चरित्र बाहेक अरू देखिएन । उहाँले जतिसुकै आवेग र उत्तेजना फैलाए पनि उहाँका कारणले समाजमा फैलिएको ठगी, लुटपाट, विद्रोह, हिंसा र आतंकले उहाँको असली रूप देखिएको छ ।
दुनियाँको अगाडि सिंहले झैँ गर्जेर देखाउने गरेको उहाँको गर्जन अन्ततः बिरालोको म्याउमा परिणत भएको छ । यस्ता बिरालाहरूलाई बेलैमा किनारा लगाएर कुँडेको दूधको रक्षा गर्नु हामी सबै नेपालीहरूको बुद्धिमानी रहनेछ ।
(शर्मा वरिष्ठ अधिवक्ता हुन् ।)








अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया