सम्पादकीय—जेनजी आन्दोलन र सुशासनको सवाल

हालै भएको जेन–जी आन्दोलनले नेपाली समाज, राजनीति र शासन प्रणालीको गहिरो त्रुटिलाई उजागर गरिदिएको छ । यो केवल केही दिनको आवेग होइन, वर्षौंदेखिको निराशा र असन्तोषको विस्फोट हो । शिक्षित, प्रविधि साक्षर र स्वतन्त्र सोच भएका युवाको यो आन्दोलनले नागरिकको राज्यप्रतिको भरोसा गुमाउँदै गएको संकेत दिएको छ । यो पुस्ताले भ्रष्टाचार, अनुशासनहीनता, असमान अवसर र पहुँचविरुद्ध विद्रोह गरेको हो । जसको मूल मर्म सुशासन र पारदर्शिताको माग हो ।
सुशासन भनेको केवल सरकारको स्थायित्व होइन; नागरिकप्रतिको उत्तरदायित्व, प्रशासनिक जवाफदेहिता र न्यायमा समान पहुँचको सुनिश्चितता हो । यो नीतिगत पारदर्शिता, कार्यसम्पादनमा दक्षता र नागरिक अधिकारको सम्मानसँग जोडिएको मूल्य हो । जेन–जी आन्दोलनले यिनै आधारमा प्रश्न उठाएको छ । किन युवाहरु शिक्षित बेरोजगार छन्, किन नीति बनाउनेहरूमा जनताका मुद्दाले प्राथमिकता पाउँदैनन् र किन शक्तिशालीहरूले कानुनी प्रणालीमाथि खेलवाड गर्न पाउँछन् भन्ने प्रश्नको उत्तर खोजिएको छ ।
आन्दोलनसँगै देखिएका केही हिंसात्मक घटना र सार्वजनिक सम्पत्तिमाथि भएको क्षतिले भने आन्दोलनको मर्मलाई कमजोर बनाएको छ । असन्तोष अभिव्यक्त गर्ने अधिकार प्रत्येक नागरिकलाई हुन्छ तर तोडफोड, आगजनी वा हिंसालाई आन्दोलनको औचित्यका रूपमा व्याख्या गर्न मिल्दैन । विध्वंस र अपराधले कुनै पनि न्यायिक आन्दोलनलाई कमजोर पार्छ, र त्यसबाट फेरि दण्डहीनता र अराजकतालाई नै प्रश्रय मिल्छ ।
राज्यले पनि आन्दोलनका मूल कारण पहिचान गर्दै संवेदनशील प्रतिक्रिया दिनुपर्छ । केवल बल प्रयोग गरेर या प्रतिरोधलाई अपराधको रूपमा हेरेर समस्या समाधान हुँदैन । त्यसैगरी, दोषी जोसुकै होस्, राजनीतिक, प्रशासनिक वा आन्दोलनकारी, सबैलाई कानुनी दायराभित्र आउनुपर्छ । कुनै पनि रूपको दण्डहीनताले न त न्याय दिन सक्छ, न त सुशासन स्थापनामा मद्दत पु¥याउन सक्छ । अहिले विध्वंस गर्नेहरुले आन्दोलनकारीका नाममा उन्मुक्ति पाए भने त्यो विडम्बनापूर्ण हुन जान्छ । जसले अर्काे द्वन्द्वको विजारोपण गर्छ ।
जेन–जी आन्दोलनले नेपाली राज्य संयन्त्रलाई पुनर्विचार गर्न बाध्य पारेको कि अब शासन जनताको सेवामा केन्द्रित हुनैपर्छ न कि नेतृत्वको इच्छामा । यो आन्दोलनले दिएको सन्देश स्पष्ट छ : युवा पुस्ता अब मौन रहने छैन । उनीहरू पारदर्शी, इमानदार र न्यायपूर्ण प्रणाली चाहन्छन् । त्यसैले, सरकारले यस आन्दोलनलाई विद्रोहको रूपमा होइन, चेतावनीको रूपमा बुझ्न जरुरी छ । सुशासन र जवाफदेही शासनतर्फको ठोस कदम नै अहिलेको युगको माग हो । समृद्ध र स्थायी नेपालको आधार यहीँबाट सुरु हुन्छ । दशर्काैं जेलनेल र संघर्ष गरेका नेताहरुमाथिको आक्रमण र व्यक्तिगत सम्पत्ति नष्ट गर्ने समूह निर्माण त्यतिकै भएको होइन । त्यसरी एकसाथ विनाश हुँदा पनि प्रतिरक्षामा निस्कने समूह दलहरुमा देखिएन । यो स्तरको असन्तोष दशकौंको मनोमानी, सत्ता केन्द्रीत खेल र जनताका आकांक्षालाई उपेक्षा गर्नुको परिणाम हो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया