सम्पादकीय—फरार कैदीबन्दीले सुरक्षा चुनौती

नेपालमा गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनको मौका छोपी देशका विभिन्न भागमा रहेका कारागारबाट १४ हजारभन्दा बढी कैदीबन्दी फरार भए । कारागार व्यवस्थापन विभागले अहिलेसम्ममा झन्डै ५ हजार ५ सय अझै फरार कैदीबन्दीको सूचि सार्वजनिक गरेको छ । फरार भएका कैदीबन्दीहरुको खोजी कार्यलाई तीव्रता दिनुका साथै उनीहरूलाई आश्रय दिने व्यक्तिलाई पनि कारबाही गर्ने सरकारले चेतावनी दिएको छ ।
भागेका कैदीबन्दीहरु मध्ये सामान्यदेखि जघन्य अपराधसम्म गरेका छन् । त्यस्ता कैदीबन्दीबाट परिवार या समाजमा पुन अपराध हुने जोखिम हुने भएकोले उनीहरुको पुरा कैद भुक्तानी हुनु पर्नेछ । लामो समय बन्दी भएर समाजमा फिर्ता भएका मध्येका कम संख्या पुनः अपराधमा संलग्न हुने जोखिम हुन्छ भने बन्दी अवधि पुरा नगरेका मध्ये धेरैबाट पुनः अपराध गर्ने जोखिम हुन्छ । जुन कुरा फरार भएकामध्ये केही कैदीबन्दीले भारतमा हत्या गर्ने, श्रीमतीको हत्या गर्ने र खुकुरी प्रहार गर्ने जस्ता जघन्य अपराधमा संलग्नताले प्रमाणित गर्छ ।
कारागार व्यवस्था ऐन, २०७९ अनुसार कारागारबाट भागेमा वा भाग्ने उद्योग गरेमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । यसका अतिरिक्त, फरार कैदीबन्दीहरुलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही हुन सक्छ ।
जेन–जी प्रदर्शनको आडमा भएको कैदीबन्दीको सामूहिक रुपमा भागेको घटनाले नेपालको सुरक्षा व्यवस्थामा गम्भीर चुनौती खडा गरेको छ । १४ हजारभन्दा बढी कैदीबन्दी फरार हुनु र अझै पनि ठूलो संख्यामा उनीहरूको पत्ता नलाग्नुले समाजमा भय र असुरक्षाको भावना बढाएको छ । फरार भएकामध्ये केहीले पुनः जघन्य अपराधमा संलग्न भएको पाइनुले यो समस्याको भयावहतालाई अझ उजागर गर्दछ ।
यस चुनौतीलाई सामना गर्न सरकारले तत्कालै प्रभावकारी कदम चाल्नु आवश्यक छ । ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ को सक्रियतालाई अझ बढाउनुका साथै, स्थानीय सरकार, वडा कार्यालय, र समुदायसँगको समन्वयलाई थप सुदृढ बनाउनुपर्छ । सीमा नाकामा उच्च सतर्कता र अध्यागमन विभागसँगको सहकार्यले फरार विदेशी कैदीबन्दीहरूलाई नियन्त्रणमा लिन मद्दत पुग्नेछ ।
दीर्घकालीन रूपमा, कारागार सुरक्षा प्रणालीको व्यापक सुधार, कैदीबन्दीको अभिलेख व्यवस्थापनलाई डिजिटल र अद्यावधिक बनाउने, र जेलबाट भाग्ने प्रयास गर्नेहरूलाई कठोर सजाय दिने कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन अपरिहार्य छ । साथै, फरार कैदीबन्दीलाई आश्रय दिनेहरूलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गरिनुपर्छ । यसका अतिरिक्त, कारागारमा रहेका कैदीबन्दीको मानसिक स्वास्थ्य र पुनस्र्थापनका कार्यक्रमहरूमा पनि ध्यान दिनु जरुरी छ ताकि उनीहरू समाजमा फर्किँदा सकारात्मक योगदान दिन सकुन् ।
यो समस्या केवल सुरक्षा निकायको मात्र नभई सम्पूर्ण समाजको हो । नागरिक समाज, सञ्चार माध्यम, र स्थानीय समुदायले पनि फरार कैदीबन्दीको सूचना संकलन र उनीहरूलाई पक्राउ गर्नमा सहयोग पु¥याउनुपर्छ । सबैको सामूहिक प्रयासबाट मात्र यो सुरक्षा चुनौतीलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ र समाजमा शान्ति तथा सुव्यवस्था कायम गर्न सकिन्छ ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया