न्हेचुङबाट सवा २ अर्ब राजस्व संकलन

सुन्दरकुमार थकाली २०८२ असोज २९ गते ११:४०

जोमसोम ।
नेपाल—चीन उत्तरी कोरला नाका स्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले २ अर्ब २४ करोड ३ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यहाँको कोरला नाकामा सोमबारसम्म उक्त राजस्व संकलन भएको हो ।


२०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबासीलाई मात्रै लक्ष्य गरी खुला गरिएको कोरला नाकामा भन्सार गतिविधि आंशिक रुपमा भएकोमा पूर्ण रुपमा नाकामा व्यापारिक कारोबारका लागि आयात÷निर्यात खुला गरिएसँगै मुस्ताङ भन्सार कार्यालय सक्रिय बनेको थियो । विभागले यहाँको कोरला नाका सञ्चालनका लागि प्राविधिक जटिलता अन्त्य गरी जनशक्ति व्यवस्थापन गरेसँगै कोरलाबाट आयात निर्यात बढेको हो ।


भन्सार सक्रिय भएको एक साता आन्तरिक व्यवस्थापन मिलाउन समय लागेकोमा दसैं अघि १४ असोजसम्म कोरला नाकाबाट आयात निर्यातबाट २ अर्ब २ करोड ९६ लाख राजस्व संकलन भएको थियो । चीनबाट कोरला हुँदै भित्रिएका मालवस्तु बाहक र विद्युतीय कारहरुको जाँचपास चलिरहँदा दसैं बिदा परेका कारण भन्सार कार्यालय एक साताभन्दा बढी बन्द हुन पुगेको थियो ।

Advertisement


दसैंपछि कार्यालयको सेवा सञ्चालनमा आएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए । हालसम्म यो कार्यालयबाट चीनबाट आयात गरिएका मालवस्तु ढुवानीका ३ सय ८७ वटाको भन्सार जाँचपास भइसकेर गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार प्रमुख खड्का भनाइ छ । चीनबाट आयात गरिएका विभिन्न कम्पनीका १ हजार १ सय ९४ वटा विद्युतीय कारको भन्सार जाँचपास भइसकेको भन्सार प्रमुख खड्काको भनाइ छ ।


नेपालतर्फबाट भने स्थानीय उत्पादन तथा हस्तकलाका सामग्री ढुवानी गरिएका पाँच मालबाहक गाडी यहाँको भन्सारमा जाँचपास भई चीनतर्फ गएका छन् । यहाँको मुस्ताङ भन्सार कार्यालयमा दसैंपछि थप २२ करोड २ लाख रुपैयाँ राजस्व जम्मा भएको भन्सार कार्यालयले जनाएको छ । दसैं बिदापछि खुलेको भन्सार कार्यालयमा थप २ सय २९ वटा विद्युतीय कार र १२ वटा मालबाहक गाडीको भन्सार जाँचपास भएको छ ।

Advertisement


कोरलाबाट हुने आयात निर्यात तथा मुस्ताङ भन्सार कार्यालयले प्रवाह गर्ने सेवा, सुविधा बाह्रै महिना सञ्चालन गर्न कठिन देखिन्छ । समुन्द्री सतहको ४ हजार ६ सय १० मिटरमा अवस्थित नाकाबाट हिउँद यामको मंसिरदेखि फागुन मसान्तसम्म चिसोका कारण आयात निर्यात लगायत भन्सार कार्यालयको सेवा सञ्चालनमा चुनौति छ ।


नाकामा मालवस्तु ढुवानीका साधन र चीनबाट आयात हुने विद्युतीय कार चिसोले चल्न नसक्ने र ढुवानी साधनका चालक तथा सहचालक र भन्सारका कर्मचारीसमेत मौसमी प्रतिकूलताका कारण बस्न सक्ने अवस्था रहने भएकाले यहाँको नाकाबाट बाह्रै महिना काम गर्न समस्या देखिने गर्छ । नाकामा अत्यधिक चिसो र हिउँ पर्ने, पानीका स्रोत जम्ने र सीमावर्ती क्षेत्रका स्थानीय नागरिक चिसो छल्न बेसी झर्ने परम्पराले गर्दा नाका संञ्चालनमा अप्ठ्यारो पर्ने देखिन्छ ।


नाकामा नेपालतर्फको वातावरणमैत्री पूर्वाधार र न्हेचुङमा रहेको भन्सार कार्यालयमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा हिउँद याममा कोरला नाका पूर्ण रुपमा सञ्चालन गर्नमा थप कठिनाइ भएको भन्सार प्रमुख खड्काले सुनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया