सचेतना र पूर्वतयारीले डेंगु संक्रमण कम

समाधान संवाददाता २०८२ असोज २९ गते १७:०१
Original Title: Aa_FC3_10a.jpg

गण्डकी ।
यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेंगु संक्रमणदर कम देखिएको छ । गत वर्ष यही याममा डेंगु सङ्क्रमितको संख्या झण्डै ९ हजार पुगेकामा यस वर्ष हालसम्म ५ सय ५४ जनामा डेङ्गु रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।

Advertisement


गत वर्ष डेंगुबाट पोखरामा तीन जनाको मृत्युसमेत गएको थियो । प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरालाई डेङ्गु संक्रमणको ‘हटस्पट’ उल्लेख गरेको थियो । यस वर्ष डेंगु संक्रमणको दरमा उल्लेख्य रूपमा कमी आएको महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए ।


डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको पूर्वतयारी र समुदायको सजगताका कारण डेङ्गु फैलन नपाएको उनको भनाइ छ । प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा डेंगु संक्रमणको दर झण्डै ७५ प्रतिशतले कम भएको बताए ।

Advertisement


‘गत वर्ष डेंगु संक्रमण व्यापक रूपमा देखिएपछि । यस वर्ष मानिस आफैं सजग भएको देखियो, सम्बन्धित निकायले पनि समयमै नियन्त्रण तथा रोकथामका उपाय अवलम्बन गरे’, उनी भन्छन्, ‘पोखराका अस्पतालहरूको अनुगमन गर्दा पनि डेंगुका बिरामी धेरै कम भर्ना भएको पाइयो, अहिले डेंगुको खासै समस्या छैन ।’

जनघनत्व बढी भएका ठाउँमा डेंगु छिटो फैलने हुँदा सहरी क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्छ

Advertisement


डेंगु सार्ने लामखुट्टेको मुख्य बासस्थान मानिने पुराना टायरलाई सरसफाइ तथा व्यवस्थापनमा अटोमोबाइल एसोसिएसनले अगुवाइ गरेको छ । डेंगु सार्ने लामखुट्टेका लागि मौसम पनि प्रतिकूल परेकाले समुदायमा रोग फैलन नपाएको प्रमुख नेपालीले जनाए । जाडो याम सुरु हुन लागेकाले अब डेंगुको जोखिम पनि घट्दै जाने उनको भनाइ छ । साउनदेखि कात्तिकसम्मलाई डेंगु संक्रमणको बढी जोखिमयुक्त समय मानिन्छ ।


डेंगु संक्रमण रोक्न पोखरा महानगरपालिकाले सुरुदेखि नै समुदायस्तरमा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । कक्षा ७ देखि १० सम्मका विद्यार्थी, महिला स्वास्थ्यस्वयंसेवी लगायतलाई पनि रोकथामका विषयमा सचेतना प्रदान गरिएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक रेग्मीले उल्लेख गरे ।

डेंगु परीक्षणका लागि ‘किट’ व्यवस्थापन र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका काममा पनि महानगरको स्वास्थ्य महाशाखा लागिपरेको छ । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गु रोकथाम र नियन्त्रण गर्न कठिन हुने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए ।


डेंगु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने उनको भनाइ छ । ‘समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगुले महामारीको रुप लिन सक्छ’, जनस्वास्थ्य निरीक्षक रेग्मी भन्छन्, ‘जनघनत्व बढी भएका ठाउँमा डेंगु छिटो फैलने हुँदा सहरी क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्छ ।’


डेंगु रोग सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टेको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु नियन्त्रणको उत्तम उपाय भएको चिकित्सकहरु बताउँछन् । रासस

तपाईको प्रतिक्रिया