सम्पादकीय—प्रवासी नेपालीको मताधिकारको सवाल

नेपालको लोकतान्त्रिक यात्रामा प्रवासी नेपालीहरूको मताधिकारको विषय लामो समयदेखि ओझेलमा परेको छ, जसले हाम्रो लोकतन्त्रको जगलाई कमजोर बनाइरहेको छ । रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रलाई टेवा दिने लाखौं प्रवासी नेपालीहरूलाई आफ्नो देशको भविष्य निर्धारण गर्ने प्रक्रियामा प्रत्यक्ष सहभागी हुनबाट वञ्चित गरिनु न्यायोचित छैन । यो लोकतान्त्रिक अधिकारको संरक्षण, आप्रवासी कामदारहरूलाई असर गर्ने विदेश नीतिको चिन्ता, घर र यसको राजनीतिक विकाससँगको सम्बन्ध, र नेपालको राजनीतिक प्रक्रियामा योगदान गर्ने इच्छाजस्ता प्रबल कारणहरूले उनीहरूलाई मतदानका लागि उत्प्रेरित गरिरहेको छ ।
नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) ले यस विषयमा गम्भीर चासो व्यक्त गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस बुझाएको छ, जसले आगामी २०८२ को निर्वाचन र त्यसपछिका लागि विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था गर्न सुझाएको छ । मेक्सिको र फिलिपिन्सलगायत विश्वका धेरै देशहरूले अपनाएका सफल अभ्यासहरूबाट सिक्दै एनपीआईले नेपालका लागि मिश्रित बाह्य मतदान मोडेल (दूतावासमा प्रत्यक्ष मतदान, हुलाकमार्फत मतदान र इन्टरनेटमा आधारित आइ–भोटिङ) अपनाउन सकिने प्रस्ताव गरेको छ । विशेषगरी, आइ–भोटिङ प्रविधि दूरदराजमा रहेका नेपालीहरूका लागि एक समावेशी र प्रभावकारी समाधान हुनसक्छ ।
सर्वोच्च अदालतले २०७४ साल चैत ७ गते नै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने गरी कानुन र पूर्वाधारको व्यवस्था गर्न सरकारलाई आदेश दिएको भए पनि, सात वर्ष बितिसक्दा पनि यो आदेश पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । निर्वाचन आयोगले विधेयकको मस्यौदामा केही प्रावधान राखे पनि, ती केवल समानुपातिक प्रतिनिधित्वका लागि मात्र सीमित छन् र सूचना प्रविधिमाथि ‘आयोग विश्वस्त भएमा’ जस्ता शर्तहरूले जकडिएका छन् । यसले राजनीतिक दलहरूको इच्छाशक्तिको अभाव र प्रवासी नेपालीको मताधिकारप्रतिको उदासिनता स्पष्ट पार्छ । नेपालका आप्रवासी नागरिकहरूको संवैधानिक अधिकार, आर्थिक योगदान, निर्वाचनको वैधता तथा अन्य कारणले पनि विदेशस्थित नेपालीका लागि मतदान आवश्यक भएको छ ।
गत महिना जेनजीको नेतृत्वमा भएको आन्दोलनपश्चात् विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने मुद्दा पुनः प्राथमिकतामा परेको छ । विदेशमा काम गर्ने वा अध्ययनरत नेपालीलाई मतदान प्रक्रियामा समेट्नु उनीहरूलाई देशको भविष्यमा वास्तविक सरोकार दिनु पनि हो । संविधानले प्रत्येक नागरिकलाई निर्वाचनमा सहभागिताको अधिकार सुनिश्चित गरेको छ भने सर्वोच्च अदालतले पनि यसलाई अनुमोदन गरेको छ । त्यसैले यसका लागि छुट्टै कानुनी प्रावधान तयार गर्दै डिजिटल मतदाता दर्ता र समानुपातिक निर्वाचनमा आइ–भोटिङमार्फत मतदान गर्न कानुनी मान्यता दिनु उपयुक्त हुन्छ ।
प्रवासी नेपालीहरूको मताधिकार केवल एउटा कानुनी वा प्राविधिक विषय मात्र होइन, यो लोकतन्त्रको आधारभूत सिद्धान्त र नागरिक अधिकारको सम्मानसँग जोडिएको गम्भीर मुद्दा हो । यसको कार्यान्वयनले निर्वाचनको वैधता बढाउनुका साथै देशको विकासमा प्रवासी नेपालीहरूको अपनत्व र सहभागितालाई अझ सशक्त बनाउनेछ । ढिलो नगरी, सरकार र निर्वाचन आयोगले सक्रिय भूमिका निर्वाह गर्दै सर्वोच्चको आदेशलाई पूर्ण पालना गर्नुपर्छ र प्रवासी नेपालीहरूको मताधिकारलाई यथार्थमा परिणत गर्नुपर्छ । यो लोकतन्त्रको पूर्णताका लागि अपरिहार्य छ ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया