अब त अति भो…

मुलुकमा विभिन्न कालखण्डमा धेरै राजनीतिक परिवर्तनहरू भए । नेपालमा हालसम्म सात (७) वटा संविधानहरू निर्माण भए । तत्कालीन अवस्थामा निर्माण भएका सबै संविधानको मर्म र भावना आर्थिक समृद्धि, सुशासन र जनतामा अमनचयन कायम गर्नु थियो । संविधान निर्माणको प्रक्रियामा नेतृत्वदायी भूमिकामा रहेका राजनीतिक दल र सो पक्षधर राजनीतिक विश्लेषक एवं संविधानविद्हरूले प्रत्येक कालखण्डमा बनेका संविधान जनताको भावनाअनुरूप जनपक्षीय भएको वकालत पनि गर्दथे । विसं २००७ सालमा भएको आन्दोलनको बलबाट १०२ वर्षको जहानियाँ राणा शासनको अन्त भयो र प्रजातन्त्रको स्थापना भयो ।
विसं २०१७ सालमा राजा महेन्द्रले कु गरी बहुदलीय व्यवस्था समाप्त गरे र पुनः पञ्चायती व्यवस्था लागु गरी मुलुकको शासनसत्ता आफ्नो हातमा लिए । विसं २०३६ सालमा जनमत संग्रह भयो र पुनः सुधारिएको निर्दलीय पञ्चायती व्यवस्था कायम भयो । विसं २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट नेपालमा पुनः प्रजातन्त्रको स्थापना भयो । विसं २०५२ सालदेखि नेकपा माओवादीले भूमिगत सशस्त्र द्वन्द्व थाल्यो । विसं २०६२/०६३ मा त सबैभन्दा ठूलो परिवर्तन भयो । सोही आन्दोलनको जगबाट नेपाल सङ्घीय गणतान्त्रिक मुलुक बन्यो ।
विसं २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलनपछि संविधान सभाको निर्वाचनबाट नयाँ संविधान निर्माण गर्नका लागि विसं २०६४ सालमा संविधान सभाको निर्वाचन भयो । दलहरूको आपसी मतभेद, खिचातानी र दलगत स्वार्थको अन्तर द्वन्द्वका कारण पहिलो संविधान सभाको निर्वाचनबाट संविधान निर्माण हुन सकेन र पुनः दोस्रो पटक संविधान सभाको निर्वाचन भयो । दोस्रो पटकको संविधान सभाको निर्वाचनपश्चात् विसं २०७२ सालमा सङ्घीय गणतान्त्रिक संविधान लागु भयो र मुलुकमा राजसंस्था पूर्ण रूपमा अन्त भयो । विसं २०७२ सालको संविधानलाई समावेशी, प्रगतिशील र एसियाको सबैभन्दा लोकतान्त्रिक र जनपक्षीय संविधान हो भनियो ।
विसं २०७२ सालको संघीय गणतान्त्रिक संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त र सद्भावलाई संरक्षण तथा प्रवर्धन गर्ने व्यवस्था गरियो । यो संविधानप्रति पनि केही राजनीतिक दल र समुदायले विरोध गर्न भने छोडेनन् । केही राजनीतिक दलहरूले त आलोचनात्मक समर्थन पनि भने । संविधानप्रति असन्तुष्ट राजनीतिक शक्तिहरू संविधानको पुनरावलोकन गर्न पटक–पटक आन्दोलन गरिरहे । मूलतः मधेशवादी केन्द्रित दलहरू, आदिवासी, जनजाति, मधेसी समुदाय तथा विभिन्न जातीय र भाषिक समुदायका अगुवाहरू संविधान संशोधनका लागि आन्दोलित भइरहे ।
मुलुकमा प्रत्येक राजनीतिक कालखण्डमा भएका परिवर्तनको मूल उद्देश्य मूलतः राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, भौतिक, सामाजिक, साँस्कृतिक, आर्थिक विकास, सुशासन, अमनचयन, मौलिक अधिकार तथा सुख शान्तिका लागि अपेक्षित थिए । मुलुकमा सङ्घीय लोकतान्त्रिक संविधान लागु भएपछि मुलुकमा स्थायी सरकार हुन्छ, विकास निर्माणका कार्यक्रमहरू द्रुत गतिमा अगाडि बढ्छन्, सुशासन कायम हुन्छ भन्ने ठूलो अपेक्षा थियो । यिनै मूल ध्येयका साथ हजारौँ नेपालीहरूले विभिन्न आन्दोलनका चरणहरूमा शहादत समेत प्राप्त गरे ।
विसं २००७ सालपछि मुलुकमा थुप्रै राजनीतिक परिवर्तनहरू त भए तथापि रोजगारी, अमनचयन, सुशासन र भ्रष्टाचार नियन्त्रण लगायतका क्षेत्रमा उल्लेख्य परिवर्तन हुन भने सकेन । भ्रष्टाचार झन् मौलाउँदै गयो । मुलुकमा सुशासन, आर्थिक समृद्धि, भौतिक विकास लगायत बृहत्तर हित र विकासका लागि सिद्धान्तभन्दा पनि नेताको दूरदृष्टि सोच, व्यवहार, राजनीतिक अनुशासन, प्रतिबद्धता र निष्ठाको राजनीति महत्त्वपूर्ण हुँदो रहेछ । राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखी जनभलाईका कामहरू गर्ने हो भने जुनै व्यवस्था भए पनि खासै फरक नपर्ने रहेछ भन्ने अहिले आएर पुष्टि हुँदै गएको छ ।
विसं २०४६ सालपछि मुलुकमा सामाजिक, भौतिक तथा प्रविधिको विकासमा सकारात्मक परिवर्तन नभएको पनि होइन । प्रविधिको विकासमा धेरै फड्को मारिसकेको छ । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विकास लगायतका विकास अन्तरसम्बन्धित हुन्छन् । एउटाको विकासले अर्को पक्षलाई प्रभाव पारेको हुन्छ । भ्रष्टाचारको नियन्त्रण र सुशासनको प्रत्याभूति दिन नसक्नु नेतृत्व तहमा रहेका राजनीतिक दलको सबैभन्दा कमजोरी पक्ष हो । मुलुकमा बहुदलीय व्यवस्थाको सुरुवात भएपश्चात् पूर्वाधार विकासअन्तर्गत सडक निर्माण पहिलो प्राथमिकतामा पर्यो ।
लोकतन्त्रको बारीमा नेपालको बृहत्तर उद्देश्यलाई फुलाउन प्रेरित राजनीतिक दल अहिलेको आवश्यकता हो
सडक निर्माणको कार्य उल्लेख्य रूपमा भएको छ, तर विकाससँगै नेता कार्यकर्ता र कर्मचारी संयन्त्रबाट राज्य स्रोतको दोहन व्यापक रूपमा बढ्यो । आफ्ना नेता र कार्यकर्तालाई संरक्षण गर्ने, उल्टै भ्रष्टाचार र अनियमिततालाई ढाकछोप गर्ने, नातावाद कृपावाद र दण्डहीनताको राजनीति र पूर्वाग्रही व्यवहार जस्ता अलोकतान्त्रिक गतिविधिबाट जनताहरू दिक्क भए र राजनीतिक वितृष्णा भयो । तुलनात्मक रूपमा राजनीतिक नेताभन्दा पनि कर्मचारी संयन्त्र बढी हावी र भ्रष्टाचारमा लिप्त बन्दै गयो । यसलाई सरकारले प्रभावकारी रूपमा नियन्त्रण गर्न सकेन । सर्वसाधारण सेवाग्राहीहरू कर्मचारीबाट सास्ती खानु पर्यो, यो सबैभन्दा ठूलो कमजोरी हो ।
मुलुकमा कानुनको शासन भएन र राज्य कानुनअनुसार चल्ने होइन भने आम जनतामा राज्यप्रतिको विश्वास हराउँछ । जनताहरू प्रणाली बसाउनुपर्छ भन्नेभन्दा पनि चमत्कारी व्यक्तित्वको खोजी गर्छन् । प्रायः युवा पेढीमा यस किसिमको सोच बढी देखिन्छ । नेपाली समाजको उदाउँदो जनशक्ति अत्यधिक मात्रामा विदेशिने अभ्यासले यहाँको समाजको सोचाई र बुझाईसमेत हिजोको भन्दा पृथक भएको छ । फलतः यसको प्रभाव हरेक क्षेत्रमा प्रतिबिम्बित भइरहेको छ । यसकै परिणाम हो; पचास र साठीको दशकमा प्रचण्ड, सत्तरीको दशकमा ओली र असीको दशकमा रवि अनि बालेनको लोकप्रियता ।
तर लोकप्रियता टिकाउन धेरै गाह्रो रहेछ । अहिलेको विषम परिस्थितिमा राजनीतिक दलमा पुनर्गठनको आवश्यकता छ । नयाँ सोच, नयाँ संस्कार, नयाँ विधि र पद्धतिले मात्र जनताको विश्वास जित्न सकिन्छ । काम गर्छु भन्ने तर व्यवहारमा देखाउन नसक्ने, जनतालाई झुक्याउने, अलमलमा पार्ने वा ढाँटछल गर्ने जस्ता प्रवृत्तिले गर्दा नेताप्रति जनताको विश्वास गुम्दै गयो । तसर्थ; वर्तमान अवस्थामा नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरी चुनावमा जानु विकल्प देखिँदैन ।
चुनाव निर्धारित समयमा निष्पक्ष र प्रभावकारी किसिमले सम्पन्न गर्न/गराउन सरकारलाई सहयोग गर्नु पर्दछ । निर्वाचित नयाँ सरकारले वर्तमान संविधानमा भएका त्रुटि, कमी–कमजोरीहरू लगायत जेन–जी समूह, सर्वसाधारण जनता, बौद्धिक विश्लेषकहरूले उठाएका सवालहरूमा आवश्यकता अनुसार संशोधन गर्नु पर्दछ । सोही प्रक्रियाबाट मात्र संविधान संशोधन गर्न सकिने आधार देखिन्छ । तसर्थ; अब र्यालो गर्नु व्यर्थ छ ! यस किसिमका गतिविधिले मुलुक झन् पछाडि जान्छ । सबैले सोचौँ र थप दुर्घटना हुनबाट बचाऔँ ।
सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नुका अलवा कर्मचारीको माध्यमबाट उल्टै आर्थिक घोटाला गर्ने जस्ता गतिविधिहरू बढे । यसको परिणाम स्वरूप जेन–जी आन्दोलनको सुरुवात भयो । जेन–जीले उठाएका जायज माग र शान्तिपूर्ण आन्दोलनमा सरकारले पूर्व आँकलन गर्न सकेन र सोही मौका छोपी असन्तुष्ट राजनीतिक दल, अराजक समूहले जेन–जीको आन्दोलनमा मज्जाले खेल्ने अवसर पाएँ । मुलुक क्षणभरमा खरानी बन्यो र ध्वस्त भयो । अनाथ बालबालिका र युवाहरूले शहादत प्राप्त गरे ।
अराजकता यति हावी भयो कि युवाहरूको शहादत बिर्साउने गरी स्वार्थ समूहहरू जुरमुराउन थालिरहेका छन् । हामीले मुलुकमा भ्रष्टाचार नियन्त्रण, सुशासन र अमनचयन खोजेका हौँ । देशलाई ध्वस्त बनाएर कानुन, विधि, मूल्य मान्यता, मानवता र धरोहरको अन्त्य गर्न भने अवश्य पनि होइन होला । खैर, आज हामी उज्यालो भविष्य भन्दै ठूलो अन्धकारमा धकेलिएका छौँ । हाम्रो छवि अन्तर्राष्ट्रिय स्तरमा नराम्ररी बिग्रिएको छ । पर्यटन उठ्न नसक्ने गरी ढलेको छ र मुलुक थप ५० वर्ष पछि धकेलिएको छ । राजनीतिक चरित्र नै नभएका मानिसहरू राजनीतिमा हावी हुँदा मुलुकले यो गति भोग्नु पर्यो । राजनीतिक चरित्र र इमानदारिताको अभावमा अराजकता फस्टाउने मौका पाउँछ । अराजकताको खेति गर्नेहरूका लागि सर्वोत्तम मौसम वर्तमान नेपालको राजनीतिक परिवेश बनेको छ । अहिलेको अवस्थामा राजनीतिक दलहरू सच्चिने कि, सक्किने भन्ने स्थिति आएको छ ।
राजनीति सेवाका लागि नभई कमाउने दाउ भएको छ । मुलुकमा जस्तोसुकै व्यवस्था वा वादलाई स्थापित गरे पनि यदि मानिसमा इमानदारिता, कर्तव्यनिष्ठ र निष्ठाको राजनीति भएन भने त्यस्तो व्यवस्था वा वाद स्वयं बदनाम भएर जान्छ । अहिलेका राजनीतिक दलको अवस्था यही नै हो । यस्तो बेला मानवताका कुरा गर्नु, शान्तिका कुरा गर्नु, सद्भाव र आदर्शका कुरा गर्नु असान्दर्भिक हुन्छ । समाजको समग्र पक्षलाई राजनीतिले दूषित बनाएको छ । अब शुद्धीकरणको अभियान कसले चलाउने? पार्टी पुनर्गठन कसरी गर्ने? भ्रष्टाचार संस्कृतिले सर्वत्र जरो गाडेको छ, तत्सम्बन्धी संस्कृति नराम्ररी धमिलिएको छ ।
यो बेला इमानदारिताको आदर्श कसले कसलाई बुझाउने? एकले अर्कोलाई दोषी ठान्ने जस्ता नैतिकताको प्रश्न उठेको छ । सञ्चारका माध्यमहरूले पनि घटना परिवेशलाई वास्तविकताभन्दा बढी हुने गरी अतिरञ्जित बनाउने जस्ता गतिविधिले गर्दा पनि वातावरणलाई अझ बढी धमिल्याएको छ । आज बहसको प्रमुख विषय नै यही हो । यो बहसले समाधानको वास्तविक किनारा भेटाएन भने मुलुक अझ बढी दुर्दशातर्फ धकेलिने निश्चित छ । वर्तमान अवस्थामा जे–जति लक्षण, भयावह र चुनौतीपूर्ण वातावरण देखिएको छ त्यसले सुखद भविष्यको संकेत भने अवश्य गर्दैन । कता देशको अस्तित्व नै नरहने त होइन? यो चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ ।
प्रजातन्त्र जीवन पद्धतिको अंग र संस्कारको रूपमा किन विकास हुन सकेन? सबैले अरूबाट राम्रो संस्कार र प्रजातान्त्रिक व्यवहारको अपेक्षा गर्छन् तर आफू सो अनुरूप उदाहरण बन्न चाहँदैनन् र सक्दैनन् । आजको मूल समस्या यही हो । यो गम्भीर समीक्षा र आत्मआलोचनाको विषयवस्तु बनेको छ । तसर्थ; यो विषम परिस्थितिमा सबै पक्ष संवेदनशील भई, पूर्वाग्रही र मतभेदलाई छोडी साझा उद्देश्य र प्राप्तिका लागि अगाडि बढ्नुपर्ने अवस्था आएको छ । देश र जनता कुनै पनि राजनीतिक दलको साझा उद्देश्य बन्नुपर्छ । लोकतन्त्रको बारीमा नेपालको बृहत्तर उद्देश्यलाई फुलाउन प्रेरित राजनीतिक दल अहिलेको आवश्यकता हो ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया