सम्पादकीय—भ्रमको चक्रव्यूह र समाजको दिशा

आजको युग सूचनाको हो । तर अचेल सूचनाको भेलबाढी छ, जहाँ सत्य र असत्य छुट्याउनु फलामका चिउरा चपाउनु जत्तिकै कठिन भएको हुन्छ । गलत सूचना, अफवाह र दुष्प्रचारले समाजलाई एउटा अदृश्य भाइरसले झैँ गाँजेको छ । जेन जी आन्दोलनले देखाएका ती तीता अनुभवहरू ताजै छन्, जहाँ संसद् भवनभित्रको काल्पनिक घटनाको खबरले जनमानसमा आतंक मच्चायो र शान्तिपूर्ण प्रदर्शनलाई हिंसाको आगोमा धकेल्यो ।
झुटा र भ्रामक सूचनाहरू प्रायः नियोजित रूपमा फैलिन्छन् । यसको पछाडि व्यक्तिगत स्वार्थ, राजनीतिक अभीष्ट वा सामाजिक विभाजनको दुर्भावना लुकेको हुन सक्छ । जब संवेदनशील विषयहरूलाई तोडमोड गरेर प्रस्तुत गरिन्छ, तब त्यसले समाजमा गहिरो अविश्वास र द्वन्द्व निम्त्याउँछ । विगतमा फैलिएका अनेकौँ अफवाहहरूले मानिसको जीवनशैली, स्वास्थ्य र सामाजिक सम्बन्धमा नकारात्मक असर पारेको छ । एउटा सानो गलत जानकारीले पनि ठूलो क्षति पु¥याउन सक्छ, जसको मूल्य समाजले चुकाउनुपर्ने हुन्छ ।
यस चुनौतीको सामना गर्न हामीलाई केवल सतही टिप्पणी होइन, गहिरो विश्लेषण र दीर्घकालीन समाधानको आवश्यकता छ । सबैभन्दा पहिले, हरेक व्यक्तिमा ‘सूचना साक्षरता’ को विकास अपरिहार्य छ । विद्यालयको पाठ्यक्रमदेखि सार्वजनिक चेतना कार्यक्रमसम्म सूचनाको सही विश्लेषण गर्ने, स्रोतको विश्वसनीयता जाँच्ने र आलोचनात्मक सोच विकास गर्ने सीप सिकाउनु पर्छ । ’आँखा चिम्लेर विश्वास’ गर्ने पुरानो बानी त्यागेर ’किन र कसरी’ प्रश्न सोध्ने बानी बसाल्नुपर्छ ।
सञ्चार माध्यमहरूको भूमिका यस सन्दर्भमा झनै महत्त्वपूर्ण हुन्छ । पत्रकारिताको मूल धर्म सत्यको खोजी र निष्पक्ष सूचना प्रवाह हो । तर, जब ’पहिलो हुने होड’ वा ’टीआरपी’ को दौडमा तथ्यको बलि चढाइन्छ, तब समाजले सत्यको बाटो बिराउँछ । मिडिया हाउसहरूले आफ्नो आन्तरिक संयन्त्रलाई बलियो बनाउनुपर्छ, जहाँ तथ्य जाँच (फ्याक्ट–चेक) प्रणालीलाई अनिवार्य बनाइनुपर्छ । पत्रकारहरूले ’सनसनीखेज’ शीर्षक र अपुष्ट खबरहरू फैलाउनबाट जोगिनुपर्छ । समाजलाई सही दिशा दिनु सञ्चार माध्यमको नैतिक र व्यावसायिक दायित्व हो ।
सामाजिक सञ्जाल प्लेटफर्महरूको उत्तरदायित्व पनि स्पष्ट हुनुपर्छ । यी प्लेटफर्महरू ’अभिव्यक्ति स्वतन्त्रता’ को नाममा गलत सूचना र घृणा फैलाउने माध्यम बन्नु हुँदैन । सरकारले यी प्लेटफर्महरूलाई नियमन गर्ने स्पष्ट कानुन र नीतिहरू बनाउनुपर्छ, तर यो नियमन ’अभिव्यक्ति स्वतन्त्रता’ को गला निमोठ्ने गरी हुन हुँदैन । प्रविधिको प्रयोग गरेर गलत सूचना पत्ता लगाउने र हटाउने प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ । प्रयोगकर्ताहरूलाई पनि जिम्मेवार बन्न प्रेरित गर्नुपर्छ, जहाँ उनीहरूले हरेक पोस्ट सेयर गर्नुअघि त्यसको सत्यता जाँच गर्ने बानी बसाल्न सकून् ।
गलत सूचनाको यो भेललाई रोक्न हामी सबैको सामूहिक प्रयास र चेतनाको आवश्यकता छ । ‘फलानाले भन्यो’ भन्दै होइन, ‘के सत्य हो’ भनेर खोज्ने बानी बसाल्नुपर्छ । समाजका हरेक वर्ग, विशेषगरी युवापुस्तालाई सूचनाको सही प्रयोग गर्न सिकाउनु आजको आवश्यकता हो । जबसम्म हामी हरेक सूचनालाई छान्ने बानी बसाल्दैनौँ, तबसम्म भ्रमको यो चक्रव्यूहले हामीलाई घेरिराख्नेछ । सत्यको बलमा मात्रै हामी एउटा स्वस्थ, सचेत र जिम्मेवार समाजको निर्माण गर्न सक्छौँ ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया