असोजमा घरजग्गा कारोबारबाट २ अर्ब ७५ करोड राजस्व संकलन, आन्दोलनले असर

समाधान संवाददाता २०८२ कार्तिक ५ गते ६:३१

काठमाडौं । गत असोज महिनामा देशभरका मालपोत कार्यालयले कुल २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ बराबरको राजस्व संकलन गरेका छन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुई दर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो।

चाडपर्व र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएकाले राजस्व संकलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

विभागका अनुसार, गत असोजमा सेवा कर २१ करोड ३० लाख ७५ हजार २६० रुपैयाँ, रजिस्ट्रेसन शुल्क १ अर्ब ४४ करोड १६ लाख ८७ हजार ७५५ रुपैयाँ संकलन भएको छ। यसैगरी, पुँजीगत लाभकर १ अर्ब ६ करोड १९ लाख ३५ हजार ५३७ रुपैयाँ संकलन भएको छ।

Advertisement

विभागका अनुसार, मालपोत कार्यालय चाबहिल, काठमाडौंले २७ करोड ४२ लाख ९६ हजार २१० रुपैयाँ र आगलागी तथा तोडफोडमा परेको कलंकी मालपोत कार्यालयले ४१ लाख ५० हजार ३७१ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।

यसैगरी, मालपोत कार्यालय बुटवलले ५ करोड ३ लाख ५६ हजार ६३९ रुपैयाँ, मालपोत कार्यालय दमक, झापाले २ करोड ८६ लाख ४१ हजार ३९० रुपैयाँ र मालपोत कार्यालय मनमैजु, काठमाडौंले ४ करोड ७७ लाख २३ हजार ३६१ रुपैयाँ बराबरको राजस्व संकलन गरेको विभागले जनाएको छ।

Advertisement

गत असोजमा २३ हजार ३५३ वटा लिखत पारित भएका छन्। यस्तै, २ हजार ४४२ वटा नामसारी, २३ हजार ९१४ वटा रोक्का र १७ हजार ९३० वटा फुकुवा भएका छन्। विभागका अनुसार, सो महिनामा कुल ७९ हजार ७३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन्।


तपाईको प्रतिक्रिया