बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन।
भारतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन्। तीन जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन्। पोखराको रामबजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँतमा फर्केका छन्। तिलिजाले पोखराको घर आफन्तको जिम्मा लगाएर श्रीमती ज्यानमाया, जेठा छोरा नारायण र बुहारी कृष्णालाई लिएर २४ वर्षपछि जन्मथलो फर्केका हुन्।
‘छोरा, छोरी, बुहारी सबै विदेशमा भएका स्वाँतमै बस्ने एक जना आफन्तले वृद्ध अवस्थामा स्याहार, सुसारको अभावमा दुःख पाएको देखेर पैसाले मात्र केही हुने रहेनछ भन्ने सोच पलायो,’ बलबहादुरले भने, ‘बजारमा एउटै घरको ओल्लो, पल्लो कोठामा बस्नेको चिनजान र वास्ता हुँदैन। गाउँमा स्वच्छ हावापानी, खानपान मात्र छैन सहयोगी भावना पनि जीवन्त छ। छोरा बुहारीलाई विदेश जान रोकेर गाउँ ल्याएर होटल व्यवसायमा लगाएका छन्।’
बलबहादुरले स्वाँतमा प्यारामिड होटल सुरु गरेका छन्। उनले होटल सञ्चालन गर्नुको प्रमुख उद्देश्य छोरा बुहारीलाई गाउँमै भुलाउनु हो। दुई रोपनी पाखो सम्माएर होटलका संरचना तयार पार्न रु एक करोड ८० लाख खर्चेको बलबहादुरले बताए। ‘छोरा बुहारीलाई गाउँमा ल्याएर त्यत्तिकै राख्न भएन,’ उनले भने, ‘होटलले उनीहरूलाई यहाँ बस्ने आधार र बाध्यता दुवै भयो।’
गत हप्तादेखि सञ्चालन भएको प्यारामिड होटलको संरचना म्याग्दीका अन्य होटलहरूको भन्दा भिन्न छ। पाहुना सुत्ने प्यारामिड शैलीका १३ वटा भवन छन्। एट्याच बाथरुम भएको एक तले भवनका दुई वटा बाहेक कोठामा दुई वटा बेड छन्। चिसो हुने र हिउँदमा पर्ने हिउँ जस्तापाटाको छानोमा नथुप्रियोस् भनेर प्यारामिड शैलीको भवन बनाएको सञ्चालक तिलिजाको भनाइ छ।
होटलको डिजाइन भारतको सिलाङ र स्विट्जरल्यान्डका घरहरूको जस्तो छ। चुच्चो चुच्चो घरको कोठालाई हिउँदमा न्यानो र बर्खामा शीतल बनाउन भित्र फर्म राखिएको छ। काठको प्रयोग गरेर बनाइएको होटलका कोठाहरूलाई जस्तापाटाले छाइएको छ।
तिलिजा परिवारका चार जना बाहेक थप एक जनालाई होटलमा रोजगारी दिएका छन्। पाहुनाको स्वागत सत्कार, सरसफाइ, व्यवस्थापन देखि भान्छाकोठाको काममा परिवारकै सदस्य खटिन्छन्। सिस्नोको मुना, रातो च्याउ, दौडे, लोकल कुखुरा र खसीबोकाको मासु, कोदो, मकैको ढिँडो होटलका परिकार हुन्।
अन्नपूर्ण चक्रीय पदमार्गको तातोपानी–घोडेपानी अन्तर्गत शिख देखि एक घण्टाको पैदलयात्रामा पुगिने स्वाँतको पृष्ठभूमिमा धौलागिरि हिमाल देखिन्छ। स्वाँतदेखि २० मिनेट पैदलयात्रा गरेपछि पुगिने छहरे झरना मनमोहक र आकर्षक छ।
खोपारा, घोडेपानी, शिख, मोहरेडाँडा, घान्द्रुक र बयलीको बाटो भएर समुद्री सतह देखि दुई हजार तीन सय मिटर उचाइमा रहेको स्वाँतमा पुगिन्छ। होटलमा इन्टरनेट र चिसो याममा तातोपानीले स्नान गर्ने सुविधा छ।
स्वाँतका करिब आधा घरपरिवारको बसोबास पोखरा, काठमाडौं, चितवन, बुटवल र बेलायतमा छ। ७० घर भए पनि हाल करिब २५ देखि ३० परिवार मात्र गाउँमा नियमित बस्ने गरेको स्वाँतको शिखर आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पाइजा पुनले बताए।
स्थानीयबासी मनबहादुर पुनका अनुसार कच्ची सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट, मोबाइल सुविधा पुगेको छ। व्यावसायिक आलु खेती गर्न सकिने प्रशस्त उर्वर जमिन छ। रायो सागको बीउ उत्पादनको स्रोत केन्द्र पनि हो स्वाँत। ‘रित्तिँदै गएको गाउँमा सम्भावना देखाउन बजारको सुविधा छाडेर फर्केका हुन्,’ बलबहादुरले भने, ‘अरुलाई गाउँ फर्कने सन्देश दिनु पनि मेरो उद्देश्य हो।’रासस







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया