अन्तर्राष्ट्रिय स्याङ्जाली मञ्चको नेतृत्वमा मीनबहादुर क्षेत्री

पाेखरा ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको छैठौं विश्व सम्मेलन स्याङ्जाको पुतलीबजारमा सम्पन्न भएको छ । विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने स्याङ्जालीहरूको सहभागितासहित सम्पन्न सम्मेलनले बेल्जियम निवासी मीनबहादुर क्षेत्रीलाई नयाँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको छ ।
दुई वर्षका लागि गठन गरिएको समितिमा सर्वसम्मत पदाधिकारी चयन गरिएको हो । बरिष्ठ उपाध्यक्षमा दक्षिण कोरियाका राजेश पाण्डेय निर्वाचित भएका छन् भने उपाध्यक्षका रूपमा पोर्चुगलका एम.पी. अर्याल र अर्जुन अर्याल, जापानका धुर्व ज्ञवाली, युएईका पिताम्बर अर्याल, अमेरिकाका शोभाकान्त पाण्डेय र महिला उपाध्यक्षका रूपमा बेल्जियमकी इन्दिरा खनाल चयन भएका छन् ।
महासचिवको जिम्मेवारी क्रोसियाका ओमप्रकाश पोखरेलले पाएका छन् । सचिवका रूपमा नेपालका गुप्त प्रसाद गैह्रे र अमेरिकाका दिनदयाल भण्डारीले सर्वसम्मत निर्वाचित भएका हुन् । कोषाध्यक्षमा नेपालकै चिरञ्जीवी ढकाल, सह–कोषाध्यक्षमा तारा प्रसाद गौडेल, प्रवक्तामा धर्मागत पराजुली र युवा संयोजकमा बिदुर कोइरालाले निर्वाचित भएका छन् ।
क्षेत्रीय संयोजकमा अमेरिकाबाट ज्ञानबहादुर क्षेत्री, मध्यपूर्वबाट गोपाल पंगेनी र एसिया–प्यासिफिक क्षेत्रबाट चित्र गुरुङ चयन भएका छन् । निर्वाचन समितिका संयोजक खेम काफ्लेका अनुसार सदस्यहरूमा साउदी अरबका विष्णु भट्टराई, जापानका तुल्सिराम गौडेल, पोर्चुगलका राजेन्द्र प्रसाद डुम्रे र जापानकै अर्मान गुरुङ निर्वाचित भएका हुन् ।
देश र विदेशमा रहेका स्याङ्जालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनलाई स्याङ्जा समुदायले ऐतिहासिक महत्वको उपलब्धिका रूपमा लिएको छ ।
मीनबहादुर क्षेत्री : शिक्षकदेखि कानुनविद्सम्म
शिक्षक, कानुन व्यवसायी, खेलकुदप्रेमी र समाजसेवी—यी सबै परिचय बोकेका मीनबहादुर क्षेत्री हाल स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको नेतृत्वमा पुगेका छन् ।
स्याङ्जाको आँधीखोला गाउँपालिका २ मा २०३१ माघ २० गते जन्मिएका क्षेत्रीको जीवन यात्रा शिक्षाको बलियो जग, सामाजिक समर्पण र नेतृत्व क्षमताको मिश्रण हो । सामान्य परिवारमा हुर्किएका क्षेत्रीले प्रारम्भिक शिक्षा प्रदुम्न पनेरो माध्यमिक विद्यालय, रंगेठाटीबाट प्राप्त गरेका हुन् । २०४६ सालमा एसएलसी पास गरेपछि उनले पोखराको पृथ्वीनारायण क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र समाजशास्त्रमा समेत स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्ण गरे ।

कानुनप्रति विशेष रुचि राख्ने क्षेत्रीले नेपाल बार एसोसिएसनको अधिवक्ता परीक्षा पास गरी कानुन व्यवसायीका रूपमा २०५५ देखि सक्रिय जीवन सुरु गरे । शिक्षण क्षेत्रमा पनि रुचि राख्ने उनले लिटल स्टेप बोर्डिङ स्कुलका प्रिन्सिपलदेखि कालिका बहुमुखी क्याम्पसका शिक्षकसम्मका भूमिकामा काम गरे । पोखरा एफएमको सब–स्टेशन म्यानेजरका रूपमा २०५६ देखि २०५९ सम्मको अनुभवले उनलाई सञ्चार र व्यवस्थापनमा पनि दक्ष बनायो ।
भलिबलप्रेमी क्षेत्री युवावस्थामा क्षेत्रीय स्तरका खेलाडी र राष्ट्रिय स्तरका रेफ्री समेत बने । शिक्षण, खेलकुद र कानुन क्षेत्रको अनुभवले उनलाई सामाजिक अभियन्ताको बाटोमा अघि बढायो ।
सन् २०११ मा उनी युरोपको बेल्जियममा पुगे । ‘नेपालमा पनि धेरै गर्न सकिन्छ, तर विदेशको अनुभवले सोच फराकिलो बनाउँछ’ भन्ने विश्वाससहित उनले नयाँ जीवन सुरु गरेको सुनाउँछन् । त्यही बेला उनले स्याङ्जाली समुदायलाई संगठित गर्ने उद्देश्यले स्याङ्जा समाज बेल्जियम स्थापना गरेको उनी बताउँछन् । जसलाई २०१९ मा वैधानिक रूपमा दर्ता गराएर सञ्चालनमा ल्याए ।
त्यसपछि क्षेत्री अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाजसँग आबद्ध भए । सन् २०१९ देखि २०२१ सम्म उनले युरोप संयोजकको रूपमा काम गर्दै बेलायतलगायत देशमा स्याङ्जा समाजको विस्तार गरे । सफल संयोजनपछि उनी सचिव पदमा सर्वसम्मत चयन भए, उनले २०२१ देखि २०२३ सम्म सचिवको भूमीका काम गरेका थिए ।
विदेशमा रहेर आफ्नो जन्मभूमीप्रति माया गर्नेलाई उनले गोलबन्द गर्न गर्दै आएपछि उनी अहिले नेतृत्वमा पुगेका छन् । उनको कार्यकालमा ‘अक्षय कोष’ स्थापना अभियान अघि बढेको छ । क्षेत्रीको पहल र युरोपस्थित सदस्यहरूको सहयोगमा एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । जसको ब्याज सामाजिक तथा सामुदायिक काममा खर्च गरिन्छ । विधान संशोधन समितिका संयोजकका रूपमा उनले संस्थाको दीर्घकालीन नीतिलाई सुदृढ बनाउने काम गरे ।

सन् २०२३ पछि उनले उपाध्यक्षका रूपमा कार्य गर्दै विश्वभरका एनसीसी (राष्ट्रिय समन्वय परिषद्) विस्तारमा पनि नेतृत्व गरेका उनी क्षेत्री स्याङ्जा सहयोग समाजको अध्यक्षका रूपमा निर्वाचित भएका हुन् । अध्यक्षका उम्मेदवार बन्दै गर्दा उनले पाँच बुँदे योजना अघि सारेका थिए—संस्थाको आफ्नै भवन निर्माण, प्रशासनिक प्रणाली सुदृढीकरण, विश्वव्यापी संरचना विस्तार, युवाहरूलाई नेतृत्वमा ल्याउने र समाजको अक्षय कोषलाई दीर्घकालीन स्रोतमा रूपान्तरण गर्ने उनको योजना छ । ‘यदि म बिहान–साँझ खानको लागि कमाउँछु भने, त्यो कमाइको केही हिस्सा समाजको लागि खर्च गर्नुपर्छ,’ क्षेत्रीले आफ्नो योजना सुनाए । उनको यही सोच र निरन्तर प्रतिबद्धताले उनलाई स्याङ्जाली समुदायको विश्व नेतृत्वको सर्वोच्च स्थानमा पु¥याएको छ ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया