सम्पादकीय—नेतृत्व परिवर्तनको अपेक्षा

हालैको ‘जेनजी’ आन्दोलनले सरकार परिवर्तन गरायो । नेपाली ठूलो उथलपुथल ल्यायो । मुख्य दलहरुको शासनबाट वाक्क थिए नेपाली । तिनीहरु फिलाललाई सरकारबाहिर परेका छन् । तर तिनीहरु जुन परिवर्तनको अपेक्षा हो, त्यसको संकेत भने देखिएको छैन । खास गरी तत्कालीन प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अझै पदासिन भइरहन इच्छुक देखिएका छन् । उनी नेतृत्व हस्तान्तरण गर्ने मुडमा देखिन्नन् । तिनैको नेतृत्वलाई युवा पुस्ताले अस्वीकार गरेको हो । तर पार्टी नेतृत्वमा भने उनी अझै बसिरहन चाहेका छन् । भलै एमालेले पनि मंसिरमा विशेष महाधिवेशन गर्ने भनेको छ ।
कर्मकाण्डी शैलीको महाधिवेशनले फेरि उनैलाई अध्यक्ष बनायो भने अचम्म नमाने हुन्छ । दलहरु परिवर्तन हुन चाहेनन्, मानेनन् भन्ने बुझे हुन्छ । ओली सरकारको प्रमुख साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवहाक भनेर उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी सुम्पिए । कांग्रेसमा विशेष महाधिवेशनको माग चर्काे छ । तर संस्थापन भने त्यसको पक्षमा देखिएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष छाडेर संयोजक बनेका छन् । तर विशेष महाधिवेशनबाट उनै अध्यक्षमा आउने तयारी पनि सँगसँगै देखिन्छ । यी प्रवृत्तिले नेपालका दल र तिनका नेता जेन जी आन्दोलले दिएको पाठ सिक्न तयार छैनन् भन्ने प्रष्ट हुन्छ । बरु उनीहरु षडयन्त्रको सिद्धान्तको चश्मा लगाएर आन्दोलनलाई षडयन्त्र देखिरहेका छन् । जसरी हिजो राजा ज्ञानेन्द्रले आफू विरुद्धको आन्दोलनमा त्यही चश्मा लगाए । अहिले नेताहरुले दोहो¥याएको प्रवृत्ति उही हो ।
सबैतिर प्रमुख राजनीतिक दलहरूलाई तत्काल नेतृत्व हस्तान्तरण गर्न आह्वान छ । तर केपी ओलीले त भनिपनि हाले, ‘फेसबुकमा कसैले लेख्दैमा म पद छोड्दिन ।’ सामाजिक सञ्जाल फेसबुकले समाजको ऐना देखाउँछ भन्ने ओलीलाई आज पनि हेक्का देखिन्न । दलहरूमा आन्तरिक लोकतन्त्रको अभाव छ भनेर जुन आलोचना हुन्थ्यो । नेताहरुले पद नछोड्ने र नयाँलाई मौका नदिनु भनेको त्यही हो । बाँचुञ्जेल पदासिन हुन चाहने र तिनैलाई संकट मोचक देख्ने कार्यकर्तालाई कुनै पनि व्यक्तिको भौतिक शरीर सधैं रहन्न भन्ने हेक्का पनि छैन । सत्तामोह यो संकटको मुख्य कारण हो । अहिले दलका शीर्ष नेतृत्वहरूमा देखिएको वैचारिक विचलन र सत्ता स्वार्थले जनविश्वास गुमाउँदै गएको छ । जेन जी आन्दोलनमा केही अराजक तत्वहरूको घुसपैठ भएको कुरा सत्य हो, तर यसको मूल मर्मलाई बेवास्ता गर्न मिल्दैन ।
हाम्रो राजनीतिक इतिहासलाई फर्केर हेर्दा, जब–जब नेतृत्वले जनताको आवाज सुन्न छोडेको छ, तब–तब ठूला परिवर्तनहरू भएका छन् । पञ्चायत विरुद्धको आन्दोलन होस् या २०४६ सालको जनआन्दोलन, हरेक परिवर्तनमा जनताको असन्तुष्टि र नयाँ नेतृत्वको आकांक्षाले काम गरेको छ । आज फेरि त्यही अवस्था दोहोरिएको छ । अहिलेको समस्याको जड भनेकै दलहरूको शीर्ष नेतृत्वमा रहेको वैचारिक विचलन र सत्तामोह हो । जुन दलहरूले गणतन्त्र ल्याए, तिनै दलका नेताहरू अहिले गणतन्त्रलाई कमजोर बनाउँदैछन् ।
अब दलका पहिलो पुस्ताका नेतृत्वहरूले अब आफैँ अग्रसर भई नयाँ पुस्ताका लागि बाटो खोल्नुपर्छ । युवा पुस्ताको सक्रिय सहभागिता बिना कुनै पनि परिवर्तन दिगो हुन सक्दैन । दलहरूले तत्काल आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्नुपर्छ । हरेक तहमा युवा नेतृत्वलाई अवसर दिनुपर्छ । यो समय दलहरूले आत्मसमीक्षा गर्ने समय हो । देश र जनताको हितलाई केन्द्रमा राखेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु नै अहिलेको अपरिहार्य आवश्यकता हो । पुरानै ढर्रामा चल्ने हो भने यसले अझ ठूलो संकट निम्त्याउनेछ । नेतृत्व परिवर्तन बिना देशमा नयाँ आशाको सञ्चार सम्भव छैन ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया