जेनजीको ज्वालामा नेतातन्त्रको ऐंठन

सुरेश रानाभाट २०८२ कार्तिक १० गते ११:१५

यो वर्ष पात्रोमा चाडपर्वहरू महिनाका सुरुवाती समयमै थिए । तीज सकिएपछि सोह्र श्रद्धाको छेको पारेर जेनजी पुस्ताले मुलुकमा मौलाएको चरम भ्रष्टाचार विरुद्ध, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सुशासनका पक्षमा विरोधको बतास सुसेन्दै विद्रोहको झण्डा उठाए । भदौ २३ र २४ गते नेपालका सडकमा उत्रिएका युवाहरूको केवल भीड थिएन, हाहुमा हो भन्ने आवाज थिएन । थियो त केवल आक्रोशको आवाज थियो जसमा इतिहासको स्वर गुञ्जिरहेको थियो ।

युवा पुस्ताको मुठ्ठीमा केबल ढुङ्गा थिएन, थिचिएको असन्तोषको स्पन्दन थियो । यो आन्दोलन केवल जेनजी नामको प्रतीक थिएन यो थकित, गलित, गोता र सास्ती पाएका नागरिकको पुकार थियो । जसरी श्रीलङ्का र बङ्गलादेशमा नागरिकहरू आफ्नै नेताहरूको स्वार्थ र अपराधबाट वाक्क भएर परिवर्तनको घोषणा गर्न सडकमा ओर्लिए, त्यसरी नै नेपालका युवाहरूले पनि नेतातन्त्रको विरुद्ध बुलन्द आवाज उठाए र सातो खाइदिए ।


जेनजी आन्दोलन कुनै आकस्मिक विस्फोट थिएन, यो त लामो समयदेखि कुहिंदै आएको व्यवस्था, असमानता, भ्रष्टाचार र जनअसन्तोषको ज्वारभाटा थियो । जनताले विश्वास गरेका दलहरू र तिनका नेताहरूले जनताको मर्म र देशको सपना बेचेका अनुभूति यति गहिरो बनिसकेको थियो कि जनताले अब शब्द होइन, उत्तर माग्न सडक रोजेका थिए । स्वतन्त्र देशको पहिचानमा बाहिरी शक्तिको हस्तक्षेप हुनु, माफियातन्त्रको कब्जा हुनु, लोकतन्त्रको आवरणमा नेतातन्त्रको साम्राज्य मौलाउनु, आम नागरिकको आशा निराशामा परिणत हुनुको परिणति नै आन्दोलनको आक्रोश थियो ।

Advertisement


जेनजी आन्दोलन नेपालको राजनीतिक इतिहासमा एउटा असाधारण घटना बन्यो । यो आन्दोलन केवल सडकमा जुलुस र नारा थिएन, यो दशकौँदेखि सञ्चित जनआक्रोशको विस्फोट थियो । जनताले सिंहदरबारलाई केवल भवनको रूपमा होइन, सत्ताको प्रतीकका रूपमा जलाए । तर, आगोले भवन त जल्यो तर व्यवस्थाको हड्डी पोल्न सकेन । सिंहदरबार जल्यो, तर नेतातन्त्र बाँच्यो । परिवर्तन खोजिएको थियो, तर दोहोरियो उही भ्रष्ट चरित्र । नेतातन्त्र कुहिएको छ, तर त्यसको मरणको अन्तिम पाना अझै लेखिएको छैन नत संशोधन नै ।


नेपालको राजनीति दल र पार्टी होइन, बिचौलियाको व्यापार बनेको थियो । नागरिकहरू रैतीजस्तै रमिते हुँदा चेतनामा विर्को लागेको थियो । उद्योग धन्दा बन्द हुँदै जानु, कारखाना निजीकरणमा परिणत हुनु र राजनीति मुलुकको सबैभन्दा शक्तिशाली र सङ्गठित उद्योगधन्दा बन्नु समयको किस्सा बनेको थियो । जसमा नेताहरू मालिक र कार्यकर्ताहरू कमैयामा रूपान्तरण भएक थिए । जब नागरिकको विवेक दलको झण्डामुनि थुनिन्छ, तब सडक नै अन्तिम पाठशाला बन्न पुग्छ । ती युवाहरूले न राजनीतिक मञ्च खोजे, न भाषण केवल न्याय मागे । नेताहरूको अपराध, दुरुपयोग र माफियासँगको साँठगाँठविरुद्ध ती चिच्याएका आवाजहरू नागरिकताको आत्मसमीक्षा थिए ।

Advertisement

जेनजी आन्दोलनले इतिहासमा कीर्तिमान त बनायो, तर साँचो परिवर्तनको दिशामा भ्रम झर्‍यो । सत्ता त बद्लिन सक्छ, तर संस्कार नबद्लिँदा क्रान्ति पनि पुरानो यथार्थको पुनरावृत्ति बन्छ



वास्तवमा भदैरे गर्मीमा जेनजी आन्दोलनले के देखायो भने, नेपालको राजनीतिक ढाँचाले अब नागरिकको प्रतिनिधित्व गर्न सक्दैन । संसद् गणतन्त्रको प्रतीक होइन, व्यापारिक साझेदारीको अखडा बनेको छ । न्यायालय निष्पक्षताको मन्दिर होइन, दलगत आस्थाको मठ बनेको छ र नागरिक समाज नै नेताभक्तहरूको जमातमा परिणत भएको छ । यो विद्रोह केवल आर्थिक असमानता वा बेरोजगारीको कारण थिएन । यो विद्रोह विवेकको पुनर्जागरण (रेनेसाँ) हो । नेताका निजी स्वार्थ र अपराधपूर्ण सम्बन्धलाई पार्टी र आन्दोलनको सङ्कट मानेर प्रतिरक्षा गरिरह्यौँ भने यो नेतातन्त्रले समाजका सबै आशा समाप्त पार्नेछ भन्ने सबक सिकायो । त्यो चेतावनी अहिले साक्षात्कार भयो । जेनजी आन्दोलनले नेतातन्त्रको अपराधप्रति निष्ठाको परम्परालाई ऐना फुटे झैँ चकनाचुर बनाइदियो ।

जेनजी आन्दोलनपछिको सरकारमा शिक्षा मन्त्री भएका महाबिर पुनले फेसबुकमा प्रतिबन्ध नलाग्दै लेखेका थिए ‘ऊर्जा मन्त्रीजस्तो दिउँसै रात पार्ने पापीलाई जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ’ भन्ने वाक्य देशभित्रको नैतिक दिवालियापनको प्रतीक हो । कुलमान घिसिङको कार्य सम्पादन मूल्याङ्कनमा शून्य अङ्क दिएर कार्यकारी निर्देशकबाट हटाउने दीपक खड्काजस्ता पात्र लोकतन्त्रको उज्यालो र उर्जामा बाधक भएका थिए । दशकौँदेखि चलिरहेको शक्ति, ठेक्का र लुटको संयन्त्र विरुद्ध सामूहिक चीत्कारले सडकमा गगनभेदी नारा लगाएको थियो ।


जेनजी आन्दोलनले छोटो समयमा नै प्रधानमन्त्रीलाई राजिनामा दिन वाध्य पार्‍यो तर त्यो विजय अस्थायी भयो । सत्ताको स्वरूप फेरियो, तर सार फेरिएन । सिंहदरबारका केही कोठा र कोटा मात्रै बदलिए, बाँकी सबै कोठामा पुरानै आत्माहरू बसीरहे । यो आन्दोलनको पटकथा जनताले होइन, नेतातन्त्रले आफैँले लेखेको हो । दुईतिहाइको नशामा चुर सत्ताले जनताकै हातमा आफ्ना पतनको कारण सुम्पिएको थियो । तर, आन्दोलनले संरचनाको चरित्र फेरेन, चेहरा मात्रै फेर्‍यो । आन्दोलनले विवेक गुमायो र भीषण आगजनी भयो, तोडफोड, मारपिट, लुटपाट भयो । विवेक बिनाको परिवर्तन केवल क्षणिक आवेग बन्यो ।


फिलिपिन्सको पिपुल पावर रिभोलुसन चार दिनमै तानाशाहीलाई ढाल्न सफल भएको ऐतिहासिक उदाहरण हो । तर नेपालमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले त्यो रेकर्डलाई नै तोड्दै २७ घण्टामै प्रधानमन्त्रीलाई घुँडा टेकायो । यो केवल शासन परिवर्तनको घटना होइन, नागरिक चेतनाको विस्फोट थियो । जनताले सडकबाटै सत्ता र व्यवस्था दुवैलाई चुनौती दिएका थिए । माइतीघरदेखि सिंहदरबार, वानेश्वरसम्म युवाहरूको ज्वालामुखी आवेगले सत्ताको आधार नै हल्लाइदियो । यो आन्दोलनले स्पष्ट सन्देश दियो, लोकतन्त्र कागजमा होइन, नागरिकको विवेकमा बस्छ ।


जेनजी विद्रोहले व्यवस्था ढाल्न त सकेन, तर सत्ता चलाउने तरिका र जनभावनाको सम्बन्धलाई पुनः परिभाषित गर्‍यो । आन्दोलनको नारा नेतातन्त्र अन्त्य होस् भन्ने थियो, तर नेतातन्त्र पुनः उही अवतारमा फर्कियो । त्यसैले, यो आन्दोलनले एक ऐतिहासिक क्षण त सिर्जना गर्‍यो, तर संरचनागत सुधार र दीर्घकालीन राजनीतिक रूपान्तरणका दृष्टिले अपूर्ण रह्यो ।

नेपालको राजनीतिक नेतृत्व सत्ता र व्यापारको मिश्रण जस्तै भएको थियो । जनताको विश्वास सत्ताको इन्धन होइन, केवल मुखौटो बनेको थियो । यही मुखौटो खोल्ने साहस युवा पुस्ताले देखायो । जेनजी आन्दोलनले यही भावलाई व्यवहारमा रूपान्तरण गर्‍यो । पार्टीको क्रियाशील सदस्यता होइन, नागरिक पहिचानलाई अगाडि राख्ने चेतनाको बीउ उम्रियो । यो आन्दोलन नेताविरोध होइन, नेतातन्त्रविरोधी विवेकको पुनर्जन्म हो । वास्तवमा जेनजी आन्दोलनको मूल आत्मा नै न्याय, उत्तरदायित्व र नयाँ राजनीतिक नैतिकताको खोज हो ।

लोकतन्त्रको नाममा दलहरूले जनता होइन, माफियालाई सेवा दिएका थिए । राजनीतिक पार्टीहरूको झन्डा विचारको होइन, बिचौलिया र ठेक्काको प्रतीक बनेको थियो । देशमा अब पनि त्यस्ता इमानदार, सक्षम, निर्भीक पात्रहरू छैनन्, जो नीति, शिक्षा, अर्थ, वा पर्यटनजस्ता क्षेत्रको निष्ठापूर्वक नेतृत्व गर्न सकून् । यो केवल नेतातन्त्रको असफलता होइन, समाजको पतन हो । नेतातन्त्रले देशका हरेक संस्थालाई भित्रभित्रै कुहायो शासन प्रशासनदेखि विश्वविद्यालय, न्यायालयदेखि प्रहरीसम्म ।


जेनजी आन्दोलनको दुःखान्त पाटो पनि छ, अप्रिय घाउमा पनि परिणत भएको छ । राज्यले नागरिकको पीडा सुन्नुको सट्टामा बल प्रयोग ग¥यो । गोली प्रहार ग¥यो । दुई दर्जन बच्चा, विद्यार्थी र तन्नेरीहरूको रगत बग्यो । जसरी बंगलादेशमा अवामी लिगको सत्ता नागरिकको क्रन्दन सुन्न असफल रह्यो, त्यसरी नै नेपालमा पनि नेतातन्त्र बहिरो भयो । जेनजीका सडकहरूमा बग्ने आँसु र रगत केवल एक आन्दोलनको कथा होइन, यो असफल लोकतन्त्रको आत्मालाप हो ।

अहिलेको समस्या नेताहरूको मात्र होइन, मौन नागरिकहरूको पनि हो । संविधानका रक्षक नै उल्लङ्घनकर्ता बनेपछि, न्यायालयको विश्वास, संवैधानिक निकायको स्वतन्त्रता र नीतिनिर्णयको नैतिकता सबै दलका हातमा परेपछिको अवस्थामा आन्दोलन अपरिहार्य बन्दै गएको थियो । आक्रोशले नेतातन्त्र मात्रै होइन, लोकतन्त्र नै बढार्ने जोखिम पनि हुन्छ । खासमा जेनजी आन्दोलनलाई व्यवस्थाविरोधी नभई संशोधनवादी र सुधारमुखी जनविद्रोहका रूपमा व्याख्या गर्न उपयुक्त हुन्छ ।


राजनीतिक क्रान्ति भए पनि संस्थागत सुधार शून्य रह्यो । सिंहदरबार जल्यो, तर प्रशासनको मनोवृत्ति जलेन । फोहोरको बिल जसरी पुराना कागजमा हस्ताक्षर गरेर पठाइन्थ्यो, त्यस्तै पुरानो सोच र बासी हातले नयाँ देश लेख्ने कोसिस भइरहेको छ । यो देश स्थायी सरकार होइन, स्थायी भ्रष्टाचारले चलेको थियो । जेनजी आन्दोलनले त्यो संरचना ध्वस्त गर्ने अवसर पाएको थियो, तर नेतृत्वको गलत रणनीति र विवेकहीन आवेगले त्यो मौका गुमायो । राजनीतिक परिवर्तन केवल सिंहदरबार घेरिएर सम्भव हुँदैन, यदि राज्यका हरेक धमनीमा कुहिएको विष निकालिएन भने सुधार केवल भ्रम हुन्छ ।


समाज सप्तरङ्गी छ, समुदाय बहुलवादी छ, देश प्राकृतिक, भौगोलिक, जातीय, भाषिक, धार्मिक, साँस्कृतिक विविधता र वैशिष्ट्यले ओतप्रोत छ । लोकतन्त्रमा जरुर दलको महत्व हुन्छ तर नेपाललाई अहिले पार्टी होइन, नयाँ नागरिक दर्शन चाहिएको छ । आन्दोलन होइन, आत्मसमीक्षा चाहिएको छ । आत्मालोचना र आत्मस्वीकारोक्तिको बाटोमा हामीले अब राष्ट्रको पुनर्जन्म खोज्नुपर्छ । जेनजी आन्दोलनले केवल क्रोध जगाएको छैन, चेतनाको घण्टी बजाएको छ । अब प्रश्न नेताको होइन, नागरिकको छ । हामी चेतनशील जागरुक नागरिक बन्न तयार छौँ कि दलका दास नै बन्ने ?

नेपालको लोकतन्त्र नेतातन्त्र र माफियातन्त्रमा अड्किएको छ । जेनजी आन्दोलनले एउटा नयाँ बाटो देखाएको छ । जनताको जागरण, नीतिगत शुद्धता र नेतृत्वमा नैतिक क्रान्तिको बाटो । यदि पुरानो शक्तिसंरचना यथावत रह्यो भने, आगामी पुस्ताले यो आन्दोलनलाई मात्र होइन, आजका नेताहरूलाई पनि इतिहासको कठघरामा उभ्याउनेछ । जनताको आवाज अब दवाइने छैन । लोकतन्त्रले अब नेताबाट होइन, लोकबाट पुनर्जन्म लिनेछ । क्रान्तिले भवन फेरेर मात्र देश फेर्दैन, क्रान्तिले चेतना फेर्नुपर्छ । जेनजी आन्दोलनले इतिहासमा कीर्तिमान त बनायो, तर साँचो परिवर्तनको दिशामा भ्रम झर्‍यो । सत्ता त बद्लिन सक्छ, तर संस्कार नबद्लिँदा क्रान्ति पनि पुरानो यथार्थको पुनरावृत्ति बन्छ । सुधारको बाटो केवल विद्रोह होइन, पूर्ण पुनर्जागरण हो । त्यो पुनर्जागरण तब सम्भव छ, जब देश पूरै तदर्थ होइन, पुनर्निर्मित हुनेछ, मनदेखि, संरचनासम्म ।


जेनजी आन्दोलन नेपालको राजनीतिक इतिहासमा जनशक्तिको प्रमाण बनेको छ । यसले सन्देश दियो, जब जनता जाग्छन् तब शक्तिशाली सत्ताहरू पनि बालुवाको महल झै र तासको दरबार झै २७ घण्टाभित्र ढल्न सक्छन् । तर आन्दोलनको सफलता केवल सत्ताको पतनमा होइन, व्यवस्थाको पुनर्जागरणमा निहित हुन्छ । फिलिपिन्समा तानाशाही ढले पनि भ्रष्टाचार र राजनीतिक माफियातन्त्रले फेरि जरो गाड्यो; नेपालमा पनि उस्तै पुनरावृत्तिको खतरा देखिएको छ । त्यसैले, जेनजी आन्दोलनको साँचो अर्थ के हो भने, सत्ताको अदलबदल होइन, चेतनाको पुनर्जागरण नै साँचो क्रान्ति हो । यदि जनताको विवेक निरन्तर सचेत रह्यो भने मात्र यो आन्दोलन इतिहास होइन, भविष्यको मार्गदर्शक बन्न सक्छ । महाकवि देवकोटाको महावाणी छ ‘घर चिन्न घर छोड तर घर नबिर्स ‘अब कुराले होइन कामले नै समृद्धि आउँछ सबैलाई चेतना भया ।

suresh.ranabhat@gmail.com

तपाईको प्रतिक्रिया