इनास युकेको अध्यक्षमा सञ्जयभक्त कँडेल दोस्रो पटक निर्वाचित

समाधान संवाददाता २०८२ कार्तिक ११ गते ८:४६

लन्डन: अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युकेको छैटौँ अधिवेशन घोषणा सभा तथा विविध सांस्कृतिक कार्यक्रम लन्डनको ट्रामसेड हलमा भव्य रूपमा सम्पन्न भएको छ। यस अधिवेशनबाट सञ्जयभक्त कँडेल दोस्रो पटक सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।

२०२५–२०२७ कार्यकालका लागि चयन भएको १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा दिपक थापा र सबिना श्रेष्ठ रहेका छन्। त्यस्तै, महासचिवमा लालमणी भट्टराई, सचिवमा दिपबहादुर गिरी, कोषाध्यक्षमा अनिष पाण्ड, सह-कोषाध्यक्षमा अमृता पाण्डे, ग्लोबल प्रतिनिधिमा सर्वेन्द्र अधिकारी, कार्यक्रम संयोजकमा सिदार्थ विक्रम क्षेत्री र प्रवक्तामा विज्ञान कार्की चुनिएका छन्। केन्द्रीय सदस्यहरूमा शैलेन्द्र राई, शत्रुधन शाह, रेनुका श्रेष्ठ र सुन्दर पण्डित रहेका छन्।

Advertisement

संस्थाका अध्यक्ष सञ्जयभक्त कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाड़ी रहेका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष कुल आचार्य, एनआरएन युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, सामाजिक अभियन्ता डा. बच्चु कैलाश कैनी, वरिष्ठ पत्रकार भगिरथ योगी, पत्रकार, सामाजिक अभियन्ता, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, निर्देशक, चलचित्रकर्मी, कलाकार, भाषा विज्ञ, संस्कृति प्रेमी, खेलकुद प्रेमी, संस्थाका पूर्व अध्यक्षहरू लगायत समाजका बुद्धिजीवीहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रिय गान र दीप प्रज्वलनसँगै गरिएको थियो।

उद्घाटन सत्रपछि नयाँ कार्यसमिति चयन र विविध सांस्कृतिक प्रस्तुतिहरू सम्पन्न भएका थिए। कार्यक्रमका क्रममा साहित्य, खेलकुद, गायन, अभिनय, नृत्य तथा सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो।

Advertisement

प्रमुख अतिथि दुवाड़ीले नयाँ कार्यसमितिलाई बधाई दिँदै ईनासले प्रवासी भूमिमा नेपाली कला, भाषा, साहित्य, संस्कृति र खेलकुदको क्षेत्रमा पुर्याइरहेको योगदानको प्रशंसा गरे। निर्वाचन समितिको संयोजनमा सम्पन्न निर्वाचनबाट चयन भएका नयाँ पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

कार्यक्रमका क्रममा विभिन्न पदाधिकारीहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्ययोजना र संस्थागत लक्ष्यहरूबारे जानकारी दिए।

समापन सत्रमा नव-निर्वाचित अध्यक्ष सञ्जयभक्त कँडेलले सबै अतिथि, सदस्य र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भने, ‘ईनास युकेले नेपाली कला, भाषा र संस्कृतिको प्रवर्द्धनमा निरन्तर योगदान दिइरहेको छ। आगामी दिनहरूमा संस्थालाई अझ सशक्त, पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउने हाम्रो प्रतिबद्धता रहनेछ।’

कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको थियो र उपस्थित कलाकार, साहित्यकार तथा अतिथिहरूले यसलाई सफल र ऐतिहासिक घोषणा सभाको रूपमा सराहना गरे।

औपचारिक कार्यक्रम संस्थाका सचिव दिप गिरी र सांगीतिक कार्यक्रम गायक राजेश बर्देवा सञ्चालन गरेका थिए। सांगीतिक प्रस्तुतिको संयोजन संस्थाकी उपाध्यक्ष सबिना श्रेष्ठले गरेकी थिइन्। सोही अवसरमा संस्थामा उत्कृष्ट कार्य गरेबापत श्रेष्ठ सम्मानित भएकी थिइन्। नेपाली कला, भाषा, साहित्यका क्षेत्रमा निरन्तर सक्रिय संस्थाका संस्थापक मनिष श्रेष्ठ पनि सम्मानित भएका थिए।


तपाईको प्रतिक्रिया