सम्पादकीय—पदयात्रा र मौसमी जोखिम

समाधान संवाददाता २०८२ कार्तिक १२ गते १०:३५

नेपालका हिमाली क्षेत्रहरू प्राकृतिक सौन्दर्य, अनुपम संस्कृति र साहसिक पदयात्राका लागि विश्वभर प्रख्यात छन् । अन्नपूर्ण संरक्षण क्षेत्र जस्ता गन्तव्यले वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्छन् । तर, यही आकर्षणको पछाडि लुकेको गम्भीर जोखिमलाई हामीले नजरअन्दाज गरिरहेका छौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकले यसको भयावह तस्बिर प्रस्तुत गरेको छ । एकै वर्षमा लेक लागेर २६ जनाको मृत्यु हुनु र १०५ घटनामा ८६ जना गम्भीर बिरामी पर्नु सामान्य घटना होइन । यो तथ्यांकले पदयात्रामा सुरक्षा र पूर्वतयारीको महत्वलाई गम्भीर रूपमा उजागर गरेको छ ।


हाल बंगालको खाडी र अरब सागरमा विकसित भएका दुई न्यूनचापीय प्रणालीका कारण नेपालको मौसम प्रतिकूल बनेको छ । यसले उच्च पहाडी तथा हिमाली भूभागमा भारी वर्षा र हिमपातको जोखिम बढाएको छ । यही मौसमको प्रतिकूलतालाई ध्यानमा राख्दै म्याग्दीतर्फको अन्नपूर्ण आधार शिविर पदमार्ग पूर्ण रूपमा बन्द गरिएको छ भने कास्की र मुस्ताङका जिल्ला प्रशासन कार्यालयहरूले उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न र विशेष सतर्कता अपनाउन सार्वजनिक सूचना नै जारी गरेका छन् । मौसमको यो चुनौतीसँगै लेक लाग्ने समस्या पदयात्रीका लागि ‘दोहोरो पासो’ बनेको छ । एकातिर प्रतिकूल मौसमले यात्रालाई कठिन बनाउँछ भने अर्कोतिर चिसो र उचाइले लेक लाग्ने जोखिमलाई झनै बढाउँछ । यस्तो अवस्थामा पदयात्रामा निस्कनु भनेको सुन्दरताको खोजीमा जाँदाजाँदै मृत्युलाई निम्तो दिनु सरह हो ।


पदयात्रा आफैंमा एक साहसिक र आनन्ददायी अनुभव हो, तर यसका लागि शारीरिक र मानसिक रूपमा पूर्ण तयारी हुनैपर्छ । विशेषगरी २,५०० मिटरभन्दा माथिको उचाइमा अक्सिजनको कमी हुने हुँदा शरीरलाई अभ्यस्त गराउन समय दिनुपर्छ । एकैपटक धेरै उचाइमा पुग्ने हतारो, एक्लै यात्रा गर्ने आँट र लेक लागेका सामान्य लक्षणहरूलाई बेवास्ता गर्नु नै मृत्युको प्रमुख कारण बनिरहेको छ । हालै कात्तिक ८ र ९ गते मनाङ र कास्कीमा चार जनाको मृत्यु भएको घटनाले यसैलाई पुष्टि गर्छ । मुटु, दम र उच्च रक्तचापका बिरामीहरूका लागि उच्च हिमाली क्षेत्रको यात्रा थप जोखिमपूर्ण हुन्छ ।

Advertisement


तसर्थ, पदयात्रामा निस्कनुअघि प्रत्येक व्यक्तिले जल तथा मौसम विज्ञान विभागको आधिकारिक पूर्वानुमानबारे जानकारी लिनु अनिवार्य छ । एक्लैभन्दा समूहमा वा अनुभवी पथप्रदर्शकको साथमा यात्रा गर्नु, न्यानो कपडा, प्राथमिक उपचारका सामग्री र तातो झोल पदार्थको व्यवस्था गर्नु, र लेक लागेको महसुस हुनासाथ तुरुन्त कम उचाइ भएको स्थानमा फर्कनु नै बुद्धिमानी हुन्छ । पर्यटन व्यवसायी, ट्रेकिङ एजेन्सी र स्थानीय निकायहरूले पनि पर्यटकलाई सही सूचना दिएर र मौसम सफा नभएसम्म यात्रामा रोक लगाएर जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । हिमालयको सौन्दर्यको आनन्द लिन जीवन नै सबैभन्दा महत्वपूर्ण छ, र सुरक्षित यात्रा नै सफल यात्रा हो भन्ने कुरा सबैले मनन गर्न जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया