सम्पादकीय—चुनावबारे आमसहमति जरुरी

समाधान संवाददाता २०८२ कार्तिक १३ गते १०:५०

अहिलेको सरकारबारे विभिन्न कोणबाट सकारात्मक एवं नकारात्मक टीका, टिप्पणी भइरहेका छन् । आ–आफ्नो दृष्टिकोण अनुसार गरिएका यस्ता टिप्पणीलाई अस्वाभाविक भन्न मिल्दैन । जेनजी विद्रोहसँगै सिर्जना भएको असामान्य परिस्थितिलाई चुनावमार्फत् निकास दिने उद्देश्यले चुनावी सरकार गठन भएको तथ्य छिपेको छैन । यो सरकार निर्माणमा राष्ट्रपति, प्रमुख राजनीतिक दल र ती दलको नेतृत्व, राज्यका सुरक्षा निकायहरुको समेत सहमति देखिएकाले यसलाई निश्चित उद्देश्यका साथ गठित नागरिक सरकार भन्न संकोच मान्नुपर्दैन ।

कुनै पनि राष्ट्रमा राज्यविहीनताको अवस्था कायम राख्न नमिल्ने र कुनै दलको नेतृत्वमा सरकार गठन हुने परिस्थिति नबन्दासम्मका लागि नै सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भएको हो । तत्कालीन परिस्थितिमा मुलुक बचाउनका लागि यो उत्तम विकल्प नै मानिएको छ । अहिलेको सरकारको मुख्य प्राथमिकता निर्वाचन नै हो । निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी नयाँ बन्नेसरकारलाई सत्ता हस्तान्तरण गर्न सक्यो भने कार्की नेतृत्वको सरकारले ठूलो सफलता पाएको मानिनेछ ।


जेनजी विद्रोहमा भएको नरसंहार, महत्वपूर्ण राष्ट्रिय सम्पदा र निजी सम्पत्ति लूटपाटको निष्पक्ष छानबिन गरी दोषीहरुलाई कानुनको दायरामा ल्याउनु पनि त्यत्तिकै जरुरी छ । त्यो बेलाको नेतृत्वले घटनाको नैतिक जिम्मेवारी लिनसमेत इन्कार गर्दै आएको परिस्थितिमा कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश दिनका लागि पनि कसैलाई उन्मुक्ति दिन मिल्दैन । सँगसँगै, महत्वपूर्ण राष्ट्रिय सम्पदा आगो लगाएर नष्ट गर्ने, सुरक्षा अंगमाथि आक्रमण गरी हतियार लूट्ने, निजी सम्पत्तिमाथि आगजनी गर्नेहरुमाथि कारवाही हुर्नपर्छ । कारागारबाट भागेका कैदी, लुटिएका हतियार र सुरक्षा सामग्री फिर्ता गर्न राज्य कठोर बन्नैपर्छ ।

Advertisement

घोषित निर्वाचनमा समेत सुरक्षा चुनौती थपिने भएकाले यसमा सम्झौता हुनु हुँदैन । भ्रष्टाचार बिरुद्धको जगमा खडा भएको सरकारले भ्रष्टहरुमाथि कारवाही गर्न सक्नुपर्छ तर त्यो कारवाही प्रतिशोधपूर्ण होइन कि प्रमाणका आधारमा भएको भनी नागरिकलाई आश्वास्त गराउनु जरुरी छ । सरकारकै गतिविधिले निर्वाचन हुने परिस्थिति नहुने अवस्था आयो भने अर्काे विडम्बना हुनेछ ।


यही सरकारले सबै कारवाही गरिसक्छ र सुशासन कायम भइहाल्छ भन्ने होइन । सुशासनको जग निर्माण र संकेतिक कारवाहीहरु थालिन सक्छन् । राज्य सञ्चालनमा मितव्ययिता अपनाउने, जनताले देख्ने गरी काम गर्ने विषयलाई प्राथमिकतामा राखिनुपर्छ । सरकारले अझै पूर्णता पाएको छैन र केही विवादित पात्रहरु मन्त्री बन्ने चर्चा हुनु र अन्तिममा मन्त्री नबन्ने अवस्था आउनु सुखद पक्ष होइन । लोकप्रियता र अनावश्यक चर्चाको लोभबाट अहिलेको सरकार मुक्त हुनुपर्छ । अहिलेको सरकार जेनजी विद्रोह र नवयुवाको त्यागको जगमा बनेकाले यसलाई मन नपराउने तत्वहरुले यसको विकल्प खोज्नु अस्वाभाविक होइन । जेनजी विद्रोहको अवमूल्यन गर्ने र नयाँ द्वन्द्व सिर्जना गर्ने बाटोमा मुलुकलाई जान दिनु हुँदैन । निर्वाचनका लागि आम सहमतिको वातावरण बनाउँदै समयमै निर्वाचन गरी देश र संविधानलाई लयमा ल्याउन लाग्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया