पृथ्वी राजमार्ग : ६२ प्रतिशत काम, अझै हटेनन् व्यवधान

पोखरा ।
५ दशकअघि निर्माण भएको पृथ्वी राजमार्ग अहिले स्तरोन्नति गरिँदै छ । पर्यटन राजधानी पोखरालाई राजधानी काठमाडौं र पूर्वी नेपालसँग जोड्ने यो राजमार्गको काममा भएको ढिलाइले सर्वसाधारणसहित पर्यटक र यो क्षेत्रको अर्थतन्त्रमै असर पुर्याएको छ ।
२ पटक थप भएको म्याद सकिन डेढ महिना बाँकी हुँदा पश्चिम खण्डको भौतिक प्रगति ६२ प्रतिशत पुगेको छ । राजमार्गको आँबुखैरेनीदेखि पोखरासम्मको ८० किमी सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी दुई खण्डमा गरिँदै छ । पश्चिम खण्डको म्याद ३१ डिसेम्बर २०२५ सम्म छ ।
२०७८ जेठमा ठेक्का सम्झौता भए पनि काम तीन महिनापछि मात्र चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सुरु गरेको थियो । यसको लागत ७ अर्ब ४० करोड ४६ लाख छ । पछिल्लो समय निर्माण कम्पनीले कामलाई गति दिएको भए पनि केही व्यवधान बाँकी छन् ।
पोखरा–मुग्लिन सडक आयोजनाका इन्जिनियर अनन्त बराल कास्की खण्डमा अझै केही घर, टहरा हटाउन र बिजुलीका पोलहरु सार्न बाँकी रहेको बताउँछन् । सडक विस्तारका लागि अझै विजयपुर भिमाद क्षेत्रका ३८ बिजुलीका पोल हटाउन बाँकी छ । इन्जिनियर बराल भन्छन्, ’सेती आसपासको क्षेत्रमा १४ वटा, अन्तर्राष्ट्रिय विमानस्थलका ४९ वटा र एयरपोर्टदेखि कुँडहर क्षेत्रमा ५४ पोल हटाउन बाँकी छ ।’
यो क्षेत्रमा रहेका २ ट्रान्सफर्मरसमेत सडक विस्तारका लागि स्थानान्तरण गर्न बाँकी छन् । तनहुँको कोत्रेदेखि पोखराको पृथ्वीचोकसम्मको क्षेत्रमा २ सय ७ वटा संरचना हटाउने निर्णय भएकोमा केही अझै हटाइएका छैनन् । पछिल्लो क्रममा मुआब्जा लिन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरे पनि केही जग्गाधनी अझै नभएको बरालले उल्लेख गरे ।
पछिल्लो समय निर्माण कम्पनीले तदारुकताका साथ काम गरेको देखिएकाले यो आर्थिक वर्षभित्र सडक स्तरोन्नति सकिने अपेक्षा गरिएको छ । पश्चिम खण्डमा १३ पुल रहेकोमा ११ पुल निर्माण भइसकेका छन् । पश्चिम खण्डकै ठेक्कामा रहेको विजयपुरको पुल धमाधम निर्माण भइरहेको छ । यो पुल गडर राख्ने प्रक्रियामा पुगेको इन्जिनियर बरालले उल्लेख गरे ।
‘बाहिर बनाएको गडर क्रेनले राख्ने हो । त्यसका लागि चाहिने क्रेन भारतबाट मगाइएको छ,’ उनी भन्छन्, ‘गडर राखेपछि स्ल्याब ढलान हुन्छ । त्यसको १२/१५ दिनमै यसबाट गाडी चल्न सक्छन् ।’ यो सडकको चाइनपुलमा सेतीनदीमाथि अहिलेको पुलको तल र माथि दुई/दुई लेनका सिग्नेचर पुल बन्दै छन् । छुट्टै ठेक्का लगाइएको यो पुलको म्याद गएको भदौमा सकिएकोमा बैशाखसम्म थपिएको छ ।
१ सय ९० मिटर लामा यी पुलमा अहिलेसम्म आधामात्रै काम सकिएको छ । २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले भ्याटबाहेक ९४ करोडमा यसको ठेक्का पाएको थियो । पश्चिम खण्ड अन्तर्गत पोखरा, दुलेगौंडासहित मुख्य बजारी क्षेत्रमा सडक ४६ मिटर र जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटरको बन्दै छन् । बाँकी सडक २३ मिटर चौडा हुने छन् ।
पूर्वी खण्डमा मादी पुलमात्र बाँकी
आयोजना अन्तर्गत पूर्वी खण्डमा मादी नदीको पुल र बाटोको फिनिसिङका काममात्र बाँकी छन् । असोज मसान्तसम्मको विवरण अनुसार यो खण्डको भौतिक प्रगति ८६ प्रतिशत छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पूर्वी खण्डको काम सकिने क्रममा रहेको उल्लेख गरे ।
‘यो खण्डको कालोपत्र लगभग सकिएको छ । फिनिसिङ चरणका केही काम बाँकी छन् । छिटपुट काम र रङरोगन जारी छ,’ उनी थप्छन्, ‘डेढ वर्षसम्मको मर्मतसम्भारको हिसाब गर्दा ८७ प्रतिशत प्रगति देखिएको हो, निर्माणको काम लगभग सकिएकै छ ।’
यो खण्डको मादी नदीको पुल भने अलग्गै ठेक्कामा लगाइएको छ । मादीको सिग्नेचर पुलको प्रगति ७२ प्रतिशत छ । पुलको ठेक्काको अवधि गएको असार १९ सम्म रहेकोमा म्याद थपको चरणमा छ भने बाटोका लागि म्याद थप जरुरी नहुने पाण्डेले जनाए ।
पूर्वी खण्ड ४१.४५ किमी छ । यो खण्डमा बन्ने १७ पुल बनिसकेका छन् । यो खण्डमा २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । कम्पनीले ६ अर्ब २१ करोड ३१ लाखमा यो खण्डको ठेक्का पाएको हो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया