एउटा रोमाञ्चक यात्रा : अन्नपूर्ण नर्थ

पाइलाबाट पाइलासम्म फैलिएको जीवनको कथा नै हो यात्रा । सायद यस्तै भएर होला हामी अर्थात म र सविना यसपटकका सहयात्री । पुग्ने लक्ष थियो नर्थ एविसी । भनिन्छ “यात्रा बाटोमात्र हेर्ने हैन, त्यो त अनुभवको अनुपम सङ्ग्रह पनि हो ।” त्यसैले यसपटक दशै तिहार विदाको विचको समय अर्थात अशोज ३१ कार्तिक, १ र २ गते हामीले हाम्रो गन्तव्यको यात्रा तय गर्यौँ – नर्थ एविसी ।
पोखरा बसेको पनि १७ वर्ष पूरा भएर १८ वर्षमा सुरु हुँदै छ । पोखरा वासस्थानबाट विहान पहिले उठ्ने वित्तिकै हिमाल कति हाँसेको छ भनेर हेर्ने बानी अझै पनि गएको छैन । सेती नदीको खोच नजिकै महेन्द्रपुल नजिकै रहेको सैनिक स्कुलबाट साँझ ४ः३० बाट हाम्रो यात्रा आरम्भ भएको थियो । साँझको यात्रा वागलुङ वसबपार्कमा पुगेर एउटा इभी भ्यानमा बेनीसम्मको यात्रा तय गरी गाडीमा चढियो ।
भ्यान निर्धारित समयभन्दा केही ढिलो हिँडे पनि त्यसले समयमा पु¥याउने हामी निश्चित थियौँ । बाटोमा गाडिभित्रको गीतको चर्को स्वरले हामी सबैलाई सताइरहेको थियो भने चालक र सहचालक त्यसको आनन्दमा रामइ रहेका थिए । उनीहरूको बानी व्यहोरा पनि खासै राम्रो लागेन ।
लुम्ले नजिकै उनीहरूको खाजा खाने ठाउँमा खाजा खाएर भ्यान पर्वतको कुस्मा बजार पुगेपछि बेनी जाने हामी दुईमात्र देखेपछि गाडीको चार्ज सकियो भनेर हामीलाई त्यही छोडेर भाग्न खोज्यो । केहीवेर हाम्रो प्रतिकारपछि अर्को बसमा हालेर पठाइदियो र हामी निर्धारित समयभन्दा एक घन्टा जति ढिलो तातोपानी पुग्यौँ ।
तातोपानीको होटेलमा हामी रात बास त्यहीँ बस्यौँ । विहान ६ बजे नै हामीलाई हुम खोलासम्म लैजाने जिप आइसकेको थियो । हामी दुई र त्यहीबाट भेटिएका धुलिखेल निवासी सुशील श्रेष्ठका बाबु छोरा गरी ४ जनाले उक्त जिप आठ हजार रुपैयाँमा रिजर्भ गरेर हुम खोलासम्मको बाटो तय गर्यौँ । बाटोमा देखिएका सुन्दर प्रकृतिक सौन्दर्यता र गुरुजीबाट ती ठाउँका बारेमा बताउदै करिब २ः३० घन्टाको यात्रापछि हुमखोला पुगियो । सडक साह्रै अप्ठ्यारो थियो । नीलगिरी नदीमा बानाएको हाइड्रो पावरले आफ्नो कामको लागि बनाएको बाटो रहेछ त्यो ।
हुमखोलाबाट हाम्रो पदयात्रा सुरु भयो । त्यो यात्रा करिब १६ किलोमिटरको थियो । नीलगिरी नदीको तिरैतिर त्यस नदीको सौन्दर्यता र सङ्गीतको आवाजलाई पछ्याउँदै हामी अगाडि बढिरह्यौँ । कतै नदी लुकेको देखिन्छ भने कतै नदी हामफालेर सुन्दर झरना बनेको देख्न सकिन्छ । अन्यत्रको यात्राभन्दा यताको यात्रा केही फरक थियो किनभने अन्यत्र एकैपट गन्तव्यमा पुगेपछि मात्र सुन्दरता देख्न हेर्न पाइन्थ्यो भने यो यात्रामा भने सुरुबाटै सबै प्राकृतिक सुन्दरता हेर्न पाइने ।
हृदय जित्ने जादु भरिएको हिमालको मुस्कान । यी सबैले आआफ्नै भाषामा भनिरहेका थिए, हिमाल हेर्न पुग्नु भनेको हिँडाइमात्र हैन आफुले आफैलाई भेट्नु पनि हो
हुमखोलाबाट सुरु भएको यात्रा करिब ५० मिनेट हिडेपछि भने एउटा ठाडै उकालो गुरासे डाँडामा पुग्यौँ । करिब ४० मिनेट हिडेपछि उक्त उकालो सकिन्छ र केही बेरको ओरालो हिडेपछि ठाउँठाउँमा साह्र डरलाग्दो बाटो आउँछ । ती ठाउँहरूमा कम्तिमा रेलिङ हालिनु पर्ने छ । तल विशाल खोला र भित्ताको सानो बाटो । लालिगुरास फुल्ने समयमा कति सुन्दर देखिन्छहोला भन्ने कल्पना गर्दै हामी फुतफुते झरनामा पुग्यौँ ।
करिब ३१ सय ३५ मिटरको उचामइमा रहेको उक्त झरनाले त्यहाँ पुग्ने सबैको मन हर्दो रहेछ । त्यसलाई केहीबेर नियाल्दा त्यहाँ पुग्दासम्मको थकान नाश भै सक्ने । नीलगिरी नदीको पानी एकनासले बगिरेको छ । जसरी नदीहरू आफ्नो लक्षमा पुग्न निरन्तर बगिरहन्छन् त्यसैगरी मानिसले पनि आफ्नो गन्तव्य नपुसम्म नथाकी काम गर्नु पर्ने शिक्षा लिदै र केही थान फोटो खिचेर हामी पुन उकालिन लाग्यौँ ।
फुतफुतेको मधुर सङ्गीत, ताल र लयसँगै हामीले हाम्रो यात्रालाई अगाडि बढायौँ । केहीबेरको उकालो पश्चात पुग्न सकिने ठाउँ साँधीखर्क पुग्यौँ । त्यहाँ चिया खाजा खाएर र केहीबेर थकाइ मार्दै पुनः यात्रालाई अगाडि बढायौँ । साँधीखर्क करिब ३१६० मिटरको उचाइमा रहेको छ । यो अन्नपूर्ण ४ नारच्याङ, म्याग्दीमा पर्छ । त्यसपछि हामी गुफाफाँट भन्ने ठाउँमा पुग्यौँ । हामीभन्दा अगाडि जानुभएको शुशिल जी त्यहीँ भेट हुनुभयो । हामीले आजको विहानको खान त्यहीँ खाने निर्णय गर्यौँ ।
गुफाफाँटमा खाना खाएर पुन हामीले आफ्नो गन्तव्यलाई छोट्याउन थाल्यौँ । शुशील जी लगाएत अन्यले हामीलाई उछिनेर अगाडि लाग्नु भयो । तर हामी भने ट्रेकिङ हिड्दा खरायोको होइन कछुवाको चालमा हिड्ने गर्छौ जसले थकान कम लाग्छ । हामीलाई उछिनेर हिडेका मानिसलाई आराम गरिरहेको अवस्थामा हामीले भटिहालथ्यौँ । भौगोलिक र प्राकृतिक सुन्दरतालाई हेर्दै आजको हाम्रो वास बस्ने ठाउँ बुस्केट मेला भन्ने ठाउँमा हामी पुग्यौँ । त्यहाँ केही मानिस पहिले नै आइपुगेका थिए ।
हामीले पनि एउटा टिनले छाएको ठाउँमा वास बस्न पायौँ । यो ठाउँ करिब ३५५१ मिटरको उचाइमा रहेको छ । वरिवपरि ढुङ्गै ढुङ्गाको पहाड, बिचमा नीलगिरी नदीको आवाज । कति सुन्दर रहेछ त्यो ठाउँ । नीलगिरी नदीको सुमधुर स्वर, बाटोको सन्नटा अनि बुस्केट मेलाको रौनकता लाग्थ्यो जीवनका सबै रङ एकै साथ बुनिएको छ । यहीँ भेट भयो दिपेश केसी र राजेश अधिकारी सर पनि ।
थाकेको हुनाले सातै नबजी हामीले खाना खायौँ । प्रतिव्यक्ति खाना खाएको र सुतेको २ हजारको दरले रहेछ । रातको ११ बजेसम्म पनि मानिसहरू आउने लर्को लागेको थियो । वाहिरको चिसो र भित्रको केहि तातातो अनुभव भए पनि रातमा निद्रा खासै परेन । रातको १२ बजेतिर बाहिर निक्नेलको त खाना खाएको ठाउँमा पनि अटाइ नअटाइ मानिसको खचाखच भरिएको रहेछ । हामी विहान ३ः१५ तिर नै उठ्यौँ र आफ्नो नित्य कर्म सकेर ४ बजेतिर पञ्चकुण्ड ताल, तथा आधारशिविर जानका लागि हिड्यौँ ।
बाटो अध्याँरो । सुरुमा हिड्ने मानिसले बाटो भुल्दा हामी आधाघण्टा अलमलमा पर्यौँ । पहाडको आधाबाटो हिडेपछि पुन ओर्लिएर अर्को बाटो हिड्दा बाटोमा मरिमरि हाँस्यौँ पनि हामी । अध्यारो रातमा हिडेका हामी करिब ७ बजेर ३० मिनेट जादातिर पञ्चकुण्ड तलाको नजिकै पुग्यौँ । त्यो हिमालबाट बगेर आएको ताल थियो । धार्मिक अध्यात्मिक दृष्टिले समेत महत्वपूर्ण रहेछ त्यो ताल । त्यो ताल ४०५० मिटरको उचाइमा छ । पानी जमेको थियो हामी त्यहाँ पुग्दा । साच्चै त्यहाँको नीलो जलमा वरिपरिका हिमालको छायाँ प्रतिबिम्बित भएको थियो । वरिपरि हिमाललाई आफ्नै आँखा अगाडि देख्दा केही बेर मौन बसेँ । लाग्यो मौनतामा पनि केही अर्थ हुन्छ । ताललाई आँखाभरि अघाउन्जेल हेरेर केही थान फोटो खिचेँ सम्झनाका लागि । पञ्चकुण्डको तालको पानीमा नुवाउन त सकिएन तर पानीले आफ्ना पूर्वजहरूलाई सम्झँदै जल अर्पण गरेँ ।
चारैतिरका सुन्दर हिमाल अनि मानव सव्यता भन्दा अगाडि पृथ्वीको उत्पत्ति हुनेबेलादेखि नै बनेर कालिगढले मिलाएर राखेका जस्ता विशाल चट्टानका पहाड । नर्थ अन्नपूर्णको काखमा गएर उभिदा हावा, पानी, माटो नै पवित्र भए जस्तो लाग्ने । हिमालहरू ज्ञान र तपको केन्द्र पनि हुन् । हिमालमा शक्ति छ । अद्भुत शक्ति । वरिपरि फैलिएका चम्किला अन्नपूर्ण(८०९१), अन्नपूर्ण उत्तर(७५५५), नलगिरी हिमशृङ्खला, तिलिचो पीक, गङ्गापूर्ण र टाढा देखिने माछापुच्छ्रे आहा ! त्यो हृदय जित्ने जादु भरिएको हिमालको मुस्कान । यी सबैले आआफ्नै भाषामा भनिरहेका थिए, हिमाल हेर्न पुग्नु भनेको हिँडाइमात्र हैन आपूmले आफैलाई भेट्नु पनि हो । यहाँ हिउँ, हावा, नदीसँग पनि आत्मिय भेट गर्न पाइन्छ अनि आत्मसन्तुष्टि मिल्छ । फर्कदा जीवनमा पहिलो पटक प्रत्यक्ष हिउँ पैरो गएको पनि हेर्ने अवसर प्राप्त गर्यौँ ।
नेपालको जुनसुकै ठाउँबाट पनि बेनी, तातोपानी आउन सकिने, तातोपानी हुमखोला जिपबाट जाने भाडा प्रति जिप ८ हजार रुपैयाँ, हुमखोलाबाट ट्रेकिङ सुरु गर्ने फुतफुते, साँधीखर्क, गुफाफाँट, बुस्केट मेलासम्म पुग्ने हिड्न सक्नेलाई करिब हुमखोलाबाट करिब ७ घण्टा, बुस्केट मेलाबाट सुनखोला, पञ्चकुण्ड, एविसी आधार शिविरसम्म पुग्न ४ देखि ५ घण्टा
माथि उल्लेखित ठाउँहरूमा बस्ने बासको पर्याप्त नभए पनि व्यवस्था छ । ठाउँअनुसार खाना र बस्नको फरकफरक मूल्य छ । साथै गुरासे डाँडापछि सञ्चार सम्पर्क हुँदैन । मेडिकलको कुनै व्यवस्था छैन । बाटोमा खानको लागि अवश्यक सामग्री र तातो लुगा बाक्नु पर्ने साथै फोन चार्जका व्यवस्थापन आफै गर्नुपर्ने छ ।







कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया