ब्रेन गेनको राष्ट्रिय आवश्यकता

गत दुई दशकयता उच्च शिक्षा र रोजगारीको खोजीमा ठूलो संख्यामा नेपाली युवाहरू विदेशतर्फ गइरहेका छन् । अष्ट्रेलिया, युरोप र अमेरिका लगायतका विश्वविद्यालयहरूमा उनीहरूले उल्लेखनीय सफलता हासिल गरिरहेका छन् । त्यस्तै, मलेसिया, कोरिया र अरू मध्यपूर्वी देशहरूमा वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या पनि उच्च छ । लगातार बढ्दो यो प्रवृत्तिले मुलुकका लागि गम्भीर चुनौती सिर्जना गरेको छ । देशका दक्ष, शिक्षित र ऊर्जाशील युवाहरूको यही विदेश पलायनलाई ‘ब्रेन ड्रेन’ अर्थात् मस्तिष्क पलायन भनिन्छ ।
हरेक वर्ष एक लाखभन्दा बढी नेपाली विद्यार्थीहरूले अध्ययनका लागि एनओसी लिन आवेदन दिन्छन् । उनीहरूको मुख्य गन्तव्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान र दक्षिण कोरिया हुन् । तर अध्ययन वा रोजगारीका लागि विदेशिएका धेरै युवा स्वदेश फर्किन चाहँदैनन्, जुन तथ्य नेपालको लागि गम्भीर चिन्ताको विषय हो ।
यस प्रवृत्तिले नेपालको मानव स्रोतमा ठूलो असर पारिरहेको छ । विशेष गरी विज्ञान, प्रविधि, चिकित्सा र व्यवस्थापनजस्ता क्षेत्रमा दक्ष जनशक्ति घट्दो छ । परिणामस्वरूप, देशले आफ्ना शिक्षित र सीपयुक्त नागरिकहरू गुमाइरहेको छ, जसले दीर्घकालमा राष्ट्रिय विकासमा नकारात्मक प्रभाव पार्ने खतरा उत्पन्न गरेको छ ।
ब्रेन ड्रेनका प्रमुख कारणहरु
नेपालबाट दक्ष र शिक्षित युवाहरूको विदेशिने प्रवृत्ति पछिल्ला वर्षहरूमा बढ्दो छ । शिक्षा मन्त्रालयको एनओसी शाखाका तथ्यांक अनुसार, आर्थिक वर्ष २०८०/८१ मा मात्र १ लाख १२ हजार २ सय ५६ विद्यार्थीलाई विदेशमा अध्ययन गर्न अनुमति (एनओसी) जारी गरिएको थियो । आर्थिक वर्ष २०१८/१९ देखि २०८१/८२ को चैत्रसम्म कुल ५ लाख ४३ हजार ८ सय ३३ एनओसी जारी भएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार सोही वर्ष ८ लाख ३९ हजार २ सय ७६ भन्दा बढी नेपाली युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । यही अवधिमा नेपाल राष्ट्र बैंकका अनुसार करिब ४ सय ९३ अर्बभन्दा बढी रकम विदेशी शिक्षाका लागि बाहिरिएको छ । केवल आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्रै करिब १ सय १२ अर्ब ४४ करोड देश बाहिर गएको तथ्यले विद्यार्थी पलायनले नेपालको अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गरेको छ ।
फन्ड फर पिसद्वारा प्रकाशित ह्युमन फ्लाइट एन्ड ब्रेन ड्रेन इन्डेक्स २०२४ अनुसार नेपालको मानव पूँजी तथा मस्तिष्क पलायन दर ६.१ रहेको छ, जो विश्व औसत ४.९८ भन्दा उच्च छ । देशभित्रका समस्या र विदेशका आकर्षणले क्रमशः नेपालमा ब्रेन ड्रेनका पुष र पुल कारकका रूपमा काम गर्छन् । देशभित्रका पुष कारकहरूमा रोजगारीको कमी, राजनीतिक अस्थिरता, कमजोर सुशासन, भ्रष्टाचार, र योग्यता–आधारित प्रणालीको अभाव मुख्य छन् । यी कारणहरूले युवामा निराशा र असुरक्षाको भावना पैदा गरी उनीहरूलाई विदेशतर्फ आकर्षित गर्छन् ।
नीतिगत स्पष्टता देखायौँ भने, आजको ‘ब्रेन ड्रेन’ भोलिको ‘ब्रेन गेन’ बन्नेछ, नेपाल आत्मनिर्भर, नवप्रवर्तनशील राष्ट्र बन्नेछ
अर्कोतर्फ, पुल कारकका रूपमा विदेशको गुणस्तरीय शिक्षा, प्रतिस्पर्धी करियर अवसर, उच्च जीवनस्तर, अनुसन्धानका अवसर र सुरक्षित सामाजिक वातावरण रहेका छन् । यी पक्षहरुले विदेश अध्ययन र रोजगारीतर्फको प्रवृत्तिलाई अझ सक्रिय बनाएका छन् ।
यीनै कारणहरूले गर्दा धेरै सक्षम र दक्ष युवाहरू अध्ययन तथा रोजगारीका लागि विदेश गइरहेका छन् र धेरैजसो फर्किन चाहँदैनन् । यसले नेपालको मानव–स्रोत क्षमतामा असर पारिरहेको छ । देशले शिक्षामा गरेको ठूलो लगानी अन्ततः अन्य देशहरूको आर्थिक लाभमा परिणत भइरहेको छ । स्वास्थ्य, इन्जिनियरिङ, सूचना प्रविधि, र शिक्षाजस्ता क्षेत्रमा दक्ष जनशक्ति घट्दै गइरहेको छ । यदि यो प्रवृत्ति रोकिएन भने, नेपाल आफ्ना युवाहरूलाई अरू देशका लागि शिक्षित गर्ने देश बन्न सक्ने खतरा बढ्दै गएको छ ।
ब्रेन गेनको ग्लोबल अभ्यास
विश्वका धेरै देशहरूले आज ‘ब्रेन ड्रेन’ लाई अवसरका रूपमा लिँदै ‘ब्रेन गेन’ तर्फको रूपान्तरण सुरू गरेका छन् । यस अवधारणा विदेशमा बसिरहेका दक्ष र शिक्षित जनशक्तिको सीप, ज्ञान, र अनुभवलाई स्वदेशको विकासमा पुनः प्रयोग गर्ने दृष्टिकोणसँग निहित छ । चीन, भारत, दक्षिण कोरिया र आयरल्यान्ड जस्ता देशहरूले यस दिशामा उल्लेखनीय सफलता हासिल गरेका छन् ।
चीनले ‘थाउजन्ड ट्यालेन्ट्स प्रोग्राम’ मार्फत विदेशमा रहेका वैज्ञानिक, अनुसन्धानकर्ता र प्रविधि विज्ञलाई आकर्षित गर्न सफल भयो । यस पहलले देशभित्र नवप्रवर्तन र अनुसन्धान संस्कृतिको पुनर्जागरण गर्यो । भारतले ‘ग्लोबल भारतीय नेटवर्क’ स्थापना गरी प्रवासमा रहेका पेशेवरहरूलाई उद्यमशीलता, लगानी, र ज्ञान–विनिमयका अवसरहरू प्रदान गर्यो, जसले देशमा प्रविधि उद्योग र स्टार्टअप संस्कृतिको विस्तारमा योगदान पुर्यायो ।
दक्षिण कोरियाले विदेशमा शिक्षित युवालाई स्वदेश फर्की उच्च प्रविधि, अनुसन्धान, र शिक्षामा योगदान दिन प्रोत्साहित गर्दै प्रतिस्पर्धी कार्य वातावरण र नवप्रवर्तन–मैत्री नीतिहरू लागू गर्यो । आयरल्यान्डले प्रविधि, शिक्षा र लगानीमैत्री नीति, कर–राहत, तथा ‘ग्लोबल आइरिस नेटवर्क’ मार्फत विदेशस्थित नागरिकलाई स्वदेश फर्केर योगदान दिन प्रेरित गर्यो । यो रणनीति आयरल्यान्डलाई युरोपको ’टेक्नोलोजी हब’ का रूपमा स्थापित गर्न निर्णायक साबित भयो ।
यसरी, प्रवासमा रहेका दक्ष जनशक्तिको ज्ञान, सीप र पूँजीलाई मातृभूमिको विकासमा पुनः प्रवाह गर्ने अभ्यास विश्वभर तीव्र रूपमा फैलिँदै गएको छ । मानव स्रोतको वास्तविक मूल्य भौगोलिक सीमाभन्दा पर, उनीहरूको बौद्धिक र व्यावसायिक योगदानमा निहित रहने तथ्य यसले प्रष्ट पार्छ ।
ब्रेन ड्रेनबाट ब्रेन गेनतर्फ
ब्रेन ड्रेनको कथा हानिको मात्र होइन, अवसरको पनि हो । विगतका वर्षहरूमा जुन कारणले नेपाली युवाहरू विदेशतिर आकर्षित भए, ती नै कारणहरूलाई अब नेपालका विकासमा उपयोग गर्न सकिन्छ । विदेशमा रहेका नेपाली विज्ञ, उद्यमी र पेशेवरहरूका ज्ञान, सीप, अनुभव र पूँजीलाई देशको विकासमा प्रयोग गर्न सकिने ठूलो सम्भावना छ । यसको लागि दीर्घदृष्टि, योजना र सबै पक्षको सहकार्य आवश्यक छ ।
पहिलो, देशले फर्किन चाहने युवाहरूका लागि सहज र आकर्षक नीति अवलम्बन गर्नुपर्छ । केवल देशप्रेमले मात्र दक्ष जनशक्ति फर्किँदैन; उनीहरूलाई आफ्नो सीप र अनुभव प्रयोग गर्न सक्ने अवसर दिनुपर्छ । त्यसका लागि योग्यता–आधारित प्रणाली, पारदर्शी प्रशासन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ । सरकारले ‘स्पेसल इकोनोमिक जोन’ वा ‘नलेज जोन’ स्थापना गरेर फर्किएका युवाहरूलाई अनुसन्धान, उद्योग, र उद्यममा संलग्न गराउन सक्छ ।
दोस्रो, उच्च शिक्षा र अनुसन्धान संस्थानहरूलाई सबल बनाउनुपर्छ । विश्वविद्यालयहरूमा गुणस्तरीय कार्यक्रम, आधुनिक पाठ्यक्रम, र अनुसन्धान–संस्कृति विकास गरेर विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न सकिन्छ । अन्तर्राष्ट्रिय साझेदारी, छात्रवृत्ति, र डिजिटल शिक्षाका अवसरहरू विस्तार गरेर युवाहरूलाई नेपालमै अध्ययन गर्न प्रेरित गर्नुपर्छ ।
तेस्रो, सबै युवाहरू शारीरिक रूपमा फर्किन नसके पनि उनीहरूलाई बौद्धिक र आर्थिक रूपमा देशसँग जोड्न सकिन्छ । नवप्रवर्तन केन्द्र, इन्क्युबेसन हब र स्टार्टअप सहयोग प्रणालीले युवाहरूको सिर्जनशीलतालाई उद्यममा रूपान्तरण गर्न मद्दत पु¥याउँछ । व्यवसाय दर्ता सजिलो बनाइयो, लगानी पहुँच बढाइयो, र बौद्धिक सम्पत्ति अधिकार सुरक्षित गरियो भने युवाहरूको सिर्जनशीलता उत्पादन र रोजगारीमा परिणत गर्न सकिन्छ ।
चौथो, विदेशमा रहेका नेपाली डायस्पोरालाई राष्ट्रका रणनीतिक साझेदारका रूपमा उपयोग गर्नुपर्छ । विश्वभर रहेका चिकित्सक, इन्जिनियर, अनुसन्धानकर्ता र उद्यमीहरू नेपालको अमूल्य सम्पत्ति हुन् । उनीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय नीति, अनुसन्धान र लगानीका क्षेत्रमा जोड्ने औपचारिक प्रणाली विकास गर्न आवश्यक छ । ’ग्लोबल नेपाली नलेज नेटवर्क’ जस्तो डिजिटल प्लेटफर्म निर्माण गरेर विदेशमा रहेका विज्ञहरूलाई विद्यार्थी, अनुसन्धानकर्ता र नीति–निर्मातासँग जोडेर ज्ञान सञ्जाल विस्तार गर्न सकिन्छ ।
पाँचौँ, राजनीतिक स्थिरता र सुशासन सबैभन्दा महत्वपूर्ण पक्ष हुन् । स्थिर सरकार र जिम्मेवार नेतृत्वले मात्र दीर्घकालीन नीति, लगानीमैत्री वातावरण, र जनविश्वासको निर्माण गर्न सक्छ । पारदर्शिता, जवाफदेहिता, र संस्थागत क्षमता सुदृढीकरण मार्फत युवाहरूलाई स्वदेश फर्कन र स्वदेशमै भविष्य खोज्ने वातावरण तयार हुनेछ ।
भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुर जस्ता देशहरूले पनि यस्तै चुनौती झेलेका थिए, तर प्रभावकारी नीति, स्थायित्व र नवप्रवर्तन–मैत्री वातावरण बनाएर उनीहरूले ब्रेन ड्रेनलाई ब्रेन गेनमा रूपान्तरण गरे । नेपालले पनि त्यसबाट सिक्न सक्छ । विदेशमा रहेका नेपालीहरू हराएका होइनन्, उनीहरू देशका अमूल्य स्रोत हुन्, जसले ज्ञान, लगानी र प्रविधिमार्फत देशको विकासमा योगदान दिन सक्छन् ।
ब्रेन गेन कार्यमा सरकारका अतिरिक्त शैक्षिक संस्थाहरूले विद्यार्थीहरूमा देशप्रतिको गर्व र सेवा–भावना विकास गर्नुपर्छ । निजी क्षेत्रले विदेशस्थित दक्ष नेपालीहरूलाई आफ्नो व्यावसायिक विकासमा समावेश गर्नुपर्छ । नागरिक समाज र सञ्चारमाध्यमले देश फर्किएका सफल युवाहरूका प्रेरणादायी कथाहरू प्रचार गरी उनीहरूलाई प्रोत्साहित गरिनुपर्छ ।
सबै क्षेत्रले मिलेर प्रयास गरे, नेपाल ब्रेन ड्रेनको होइन, ब्रेन सर्कुलेसनको युगमा प्रवेश गर्न सक्छ, जहाँ ज्ञान, सीप र विचारहरू नेपाल र विश्वबीच स्वतन्त्र रूपमा आदानप्रदान हुनेछन्, र यसले देशलाई आत्मनिर्भर, नवप्रवर्तनशील र समृद्ध बनाउनेछ ।
निष्कर्ष :
नेपालको सबैभन्दा ठूलो पूँजी यसको मानव स्रोत हो । विशेषतः जोशिला, शिक्षित र सिर्जनशील युवापुस्ताले देशको भविष्यको दिशा तय गर्ने शक्ति राख्छन् । तर पछिल्ला वर्षहरूमा अवसरको अभाव, राजनीतिक अस्थिरता र अनिश्चित भविष्यका कारण ठूलो संख्यामा युवा विदेशतिर आकर्षित भइरहेका छन् । अब पलायन भएको मानव पूँजीलाई नेपाल फर्किने बाटो तयार गर्ने समय आएको छ । त्यसका लागि स्वदेशमै रोजगार, अनुसन्धान, उद्यमशीलता र डायस्पोरा मैत्री वातावरण सिर्जना गर्नुपर्छ, जसले युवाहरूलाई आफ्नो सीप, ज्ञान र अनुभव यहीँ प्रयोग गर्न प्रेरित गरोस् । राज्यले स्पष्ट नीति, दीर्घकालीन दृष्टि र सक्षम नेतृत्व देखाउन सकेमा युवाहरूको विश्वास पुनः प्राप्त गर्न सकिन्छ ।
जब नेपाल रोजगारी, अवसर र आशाको भूमिमा रूपान्तरित हुन्छ, तब युवाहरूलाई विदेश जानुपर्ने बाध्यता रहनेछैन । यदि हामीले आजैबाट दृढ इच्छाशक्ति र नीतिगत स्पष्टता देखायौँ भने, आजको ‘ब्रेन ड्रेन’ भोलिको ‘ब्रेन गेन’ बन्नेछ, जसले नेपाललाई आत्मनिर्भर, नवप्रवर्तनशील र विश्वस्तरमा सम्मानित राष्ट्रका रूपमा स्थापित गर्नेछ ।
(बराल शिक्षादेखि सूचना प्रविधि, नागरिक सरोकार र सामाजिक सशक्तिकरणसम्बन्धी विषयमा कलम चलाउँछन्)







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया