सम्पादकीय—प्रदेश र संघको संवाद

जेन्जी आन्दोलनले प्रतिनिधिसभा भंग गर्यो । कतिपय त प्रदेश पनि खारेज गर्नुपर्छ भन्दै थिए । तर संविधानलाई समेत निरन्तरता दिने गरी आम निर्वाचनका लागि परिवर्तित सन्दर्भको सरकार गठन भयो । अन्तरिम रुपमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले जिम्मेवारी सम्हालेपछि राजनीतिक दलहरुसँग सम्बन्ध चिसो देखिएको थियो । हालै उनले दलका प्रतिनिधि बोलाएर छलफल गरिन् । त्यसले आउँदो निर्वाचनका लागि थोरै भए पनि सकारात्मक वातावरण बनाएको छ । आइतबार फेरि कार्कीले प्रदेशहरुका मुख्यमन्त्रीहरुसँग छलफल गरिन् ।
आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी कार्कीले प्रदेशहरुलाई स्वीकारेको सन्देश पनि हो त्यो छलफल । लामो समयको संवादहीनताले संघ र प्रदेशबीचको सम्बन्धमा चिसोपना ल्याएको थियो । यसले गर्दा प्रदेशका अधिकार र अस्तित्वमाथि नै प्रश्न उठेको थियो । तर प्रधानमन्त्रीले आइसब्रेक गरेकी छन् । त्यो सह्रानीय छ । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग गरेको बैठकले संवादहीनताको पर्दा हटाएको छ ।
यो संघीयताको जग बलियो बनाउने दिशामा एउटा सकारात्मक कदम हो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भनेझैँ, लामो समयदेखि हुन नसकेको संवादले विश्वासको वातावरण सिर्जना गरेको छ । तर, यो सुरुवात मात्र हो । अब संघ र प्रदेशबीचका साझा संयन्त्रहरू, जस्तै राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय विकास समस्या समाधान समिति, लाई क्रियाशील बनाउनु जरुरी छ । यस्ता संयन्त्रले तीनवटै तहका सरकारबीच सहकार्य र समन्वय स्थापित गर्न मद्दत गर्छन् ।
जेन्जी आन्दोलनबाट क्षति पुगेका प्रादेशिक संरचनाहरूको पुनर्निर्माणमा संघ सरकारको सहयोग अपरिहार्य छ । प्रदेशहरूको आम्दानीको सीमितताका कारण उनीहरू एक्लैले यो भार धान्न सक्दैनन् । संघले तत्काल राहत घोषणा गरी मर्मतसम्भारमा सहयोग पु¥याउनुपर्छ । यसका लागि विशेष बजेट विनियोजन गर्नुपर्छ । प्रदेशले बनाएका कानुनलाई संघको परिपत्रले कमजोर बनाउनु हुँदैन । यो संघीयताको मर्मविपरीत हुन्छ । संघले समन्वयकारी भूमिका खेल्नुपर्छ, न कि नियन्त्रणकारी ।
खर्च कटौतीको नाममा प्रदेशका राजनीतिक पदाधिकारीको सुविधामा मात्र लक्षित परिपत्र गर्नु उचित होइन । यसले प्रदेशहरूलाई आफ्नो काम गर्न झनै कठिन बनाउँछ । सुशासन कायम गर्न र मितव्ययी बन्नुपर्छ, तर प्रदेशको स्वायत्तता र अधिकारमाथि हस्तक्षेप हुने गरी होइन । यसका लागि संघ र प्रदेश दुवैले खुला मनले छलफल गर्नुपर्छ । अर्थमन्त्रीले खर्च कटौतीको नीति स्पष्ट पारे पनि प्रदेशका सरोकारहरूलाई सम्बोधन गर्नुपर्छ ।
संघीयतालाई सफल बनाउन संघ र प्रदेश दुवै पक्षले जिम्मेवार भएर काम गर्नुपर्छ । संवाद, समन्वय र सहकार्यको माध्यमबाट मात्रै जनअपेक्षा पूरा गर्न सकिन्छ । जेन्जी आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्दै देशलाई समृद्धिको बाटोमा लैजानु सबैको साझा दायित्व हो । अहिलेको अवस्था हेर्दा, संघीयताका सामु चुनौतीका चाङ छन् । तर, संवादको सुरुवातले आशाको दियो बालेको छ । यस दियोलाई बलिरहेको राख्न सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । संघीयताको मर्म जोगाउनु र यसलाई जनमुखी बनाउनु अहिलेको आवश्यकता हो ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया