सम्पादकीय—निर्देशनले मात्रै हुँदैन सुशासन

प्रधानमन्त्री सुशीला कार्कीले सुशासनका लागि १४ बुँदे निर्देशन जारी गरेकी छन् । यस्ता निर्देशनहरू नयाँ होइनन् । विगतका प्रधानमन्त्रीहरूले पनि यस्तै निर्देशनहरू दिँदै आएका हुन् । तर, त्यसले ठोस परिणाम दिन सकेको देखिँदैन । निर्देशन दिने तर कार्यान्वयन फितलो हुने पुरानो रोगले देशलाई गाँजेको छ । जेन जी आन्दोलनको राप र तापबाट उदाएकी प्रधानमन्त्री कार्कीमाथि सुशासन स्थापित गर्ने ठूलो जिम्मेवारी छ ।
यो आन्दोलनले परम्परागत राजनीतिको शैलीलाई अस्वीकार गरेको थियो । युवा पुस्ताले परिवर्तन र सुशासनको स्पष्ट म्यान्डेट दिएको छ । अतः प्रधानमन्त्रीका निर्देशनहरू कर्मकाण्डी मात्र बन्नु हुँदैन । भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता, कर्मचारी प्रशासन सुधार जस्ता विषयहरू हाम्रा लागि नौला होइनन् । हरेक सरकारले यी एजेन्डाहरूलाई प्राथमिकतामा राखेको हुन्छ । तर, कागजमा सीमित हुने यस्ता प्रतिबद्धताले जनतामा निराशा मात्र बढाएको छ । अब प्रधानमन्त्री कार्कीले यो चक्र तोड्नुपर्छ ।
सार्वजनिक प्रशासनलाई चुस्त र उत्तरदायी बनाउनु अपरिहार्य छ । अनावश्यक संरचना खारेज गरी प्रशासनलाई जनमुखी बनाउनुपर्छ । सरुवा–बढुवामा हुने राजनीतिक हस्तक्षेप रोकिनुपर्छ । नेपालमा सुशासनको संकट नयाँ होइन। विश्व बैंकको सुशासन सूचकांक २०२३ अनुसार नेपाल दक्षिण एसियामा अफगानिस्तानपछि दोस्रो सबैभन्दा कमजोर मुलुक हो । भ्रष्टाचार नियन्त्रणमा १०० मा ३२ अंक मात्र छ। पारदर्शिता इन्टरनेशनलको प्रतिवेदनले नेपाललाई १८० देशमध्ये ११० औं स्थानमा राखेको छ । यी तथ्यांकहरूले के देखाउँछन्? व्यवस्था जरैदेखि कमजोर छ । निर्देशन दिनेले काम गरेनन्, निर्देशन पाउनेले सुनेनन् ।
सिंगापुर र रुवाण्डाको उदाहरण लिऔं। सिंगापुरमा १९६० को दशकमा भ्रष्टाचार चरम सीमामा थियो। तर ली क्वान यूले कडा राजनीतिक इच्छाशक्ति देखाए । उच्च पदमा बसेका भ्रष्ट अधिकारीलाई पनि कारबाही गरे। सार्वजनिक सेवालाई योग्यतामा आधारित बनाए । नतिजा के भयो? आज सिंगापुर विश्वको सबैभन्दा कम भ्रष्ट र सुशासित मुलुक हो । रुवाण्डामा पनि त्यस्तै भयो । राष्ट्रपति पल कागामेले जिरो टोलरेन्स नीति अपनाए। डिजिटल सेवा विस्तार गरे । आज रुवाण्डा अफ्रिकाको सबैभन्दा सुशासित देश हो । यी उदाहरणहरूले के सिकाउँछन् ? निर्देशन होइन, कार्यान्वयन चाहिन्छ ।
सुशासनका लागि ऐन, नियम र नीतिहरू पर्याप्त छन् । समस्या कार्यान्वयनमा छ । प्रधानमन्त्री कार्कीले निर्देशन दिएर मात्र पुग्दैन । निर्देशनको कार्यान्वयनको नियमित अनुगमन हुनुपर्छ । दोषीलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने प्रणाली बसाल्नुपर्छ । ‘पानी बाराबार’ शैलीको राजनीतिले समस्या समाधान गर्दैन । व्यक्तिगत अहम्मा बाँच्ने स्वभाव भएको भनेर कार्की आलोचित छिन् । उनको निर्देशनलाई अहम् तुष्टिको साधन पनि बन्नु हुँदैन । सुशासन भनेको विधिको शासन हो । तर उनले अहम्कै कारण विदेशस्थित नेपाली राजदुतलाई फिर्ता बोलाएकी छन् ।
जब कि सर्वाेच्च अदालतले समेत राजदूत हटाउनु हुन्न भन्ने आदेश गरिसकेको छ । तर कार्की अदालतलाई अटेर गर्दै राजदुत फिर्ताकै बाटोमा छिन् । यो सुशासनको संकेत होइन । जनताको भरोसा जित्ने एउटै मात्र उपाय भनेको सुशासनको प्रत्याभूति हो । भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्नुपर्छ । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने मान्यतालाई तोड्नुपर्छ । सबै नागरिकलाई समान व्यवहार गर्ने प्रणालीको विकास हुनुपर्छ । यसले मात्र जेन जी आन्दोलनको म्यान्डेट पूरा हुन्छ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया