मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे

सुन्दरकुमार थकाली २०८२ कार्तिक २१ गते ७:१४

जोमसोम । यहाँको प्रसिद्ध धार्मिक स्थल मुस्ताङको मुक्तिनाथ धर्मशाला नजिकै निर्माण सम्पन्न भएको दुई तले हाईअल्टिच्युड उद्दार केन्द्र(अस्पताल) भवन प्रयोगविहिन अवस्थामा रहेको छ । संस्कृृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले दुईवर्ष अघि मुक्तिनाथ गुरुयोजनामा समेटिने गरी मुक्तिनाथ स्थित पुराङ रानीपौवा बजारको धर्मशाला नजिकै हाईअल्टिच्युड उद्दार केन्द्रको पक्की भवन निर्माण गरेको थियो ।

पर्यटन विभागले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरुलाई हाईअल्टिच्युडको जोखिमबाट जोगाउनका लागि प्रारम्भिक उपचार गर्न उद्दार केन्द्र भवन निर्माण गरेको थियो । झन्डै तीन करोड बढी लागतमा निर्माण भएको उद्दार केन्द्र भवनमा करिव एक दर्जन भन्दा बढी कोठाहरु छन् । तत्कालिन समयमा विभागले मुक्तिनाथमा गुरुयोजना अन्तर्गत निर्माण भएको हाईअल्टिच्युड उद्दार केन्द्र भवन एक वर्षअघि मौखिक हस्तान्तरण भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले निर्माण सम्पन्न भएको उक्त हाईअल्टिच्यु उद्दार केन्द्र भवनलाई लिखित हस्तान्तरण गर्न अनुरोध गरिएको भएपनि विभागले त्यसो गर्न नसकेको अध्यक्ष गुरुङको भनाई छ ।

पर्यटन विभागले निर्माण गरेको उक्त उद्दार केन्द्र भवनमा सामान्य रुपमा बिद्युत र खानेपानीको पहुँच जोडिएको भएपनि भवनमा आवश्यक पर्ने सबै कुराको व्यवस्थापन हुन नसकेको अध्यक्ष गुरुङले बताउँनुभयो ।विभागले निर्माण गरेको भवनलाई उद्दार केन्द्र अस्पतालको मोडलिटीमा लैजाने गरी मुक्तिनाथ विकास समिति र गाउँपालिकाबिच छलफल भईरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । तत्कालका लागि उक्त भवनमा मुक्तिनाथ मन्दिर र मन्दिर जाने ठाउँमा रहेको नेपाली सेनाद्वारा निर्मित विश्राम स्थलमा हाईअल्टिच्युड लागेका बिरामीलाई प्राथमिक उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकमीहरु सुत्ने गरेका छन् ।
मुक्तिनाथ विकास समितिले मुक्तिनाथ स्थित रानीपौवा बजारमा निर्माण सम्पन्न भएको हाईअल्टिच्युड उद्दार केन्द्र भवनलाई रात्रीकालीन हाईअल्टिच्युड उपचार केन्द्रको रुपमा प्रयोग गर्ने गरी छलफल भईरहेको बताईएको छ । बिहान र दिउँसोको समयमा मन्दिर र सेनाले निर्माण गरेको विश्राम स्थल भवनमा हाईअल्टिच्युड लागेका बिरामीको उचार गरिने सुविधा रहेको र बेलुकी र रातिको समयमा मन्दिर क्षेत्रमा विरामीको स्वास्थ्य परीक्षण नहुने हुँदा उक्त भवनलाई रात्रीकालीन अस्पतालको रुपमा लैजाने गरी अघि बढाईने योजना रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

Advertisement

मुक्तिनाथ स्थित रानीपौवा बजारमा निर्माण भएको हाईअल्टिच्युड उद्दार केन्द्र भवन विगत दुई वर्षदेखि प्रयोगविहिन अवस्थामा रहेको झारकोट स्वास्थ्य चौकीका ईञ्चार्ज सुवास अधिकारीले जानकारी दिनुभयो । मुक्तिनाथ दर्शनार्थीका लागि राज्यले यतिठुलो लगानी गरेर निर्माण गरेको भवन संञ्चालनमा आउन नसक्नु दुर्रभाग्यपूर्ण भएको बताए ।

‘मुक्तिनाथ क्षेत्र हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक पावन भूमी हो, यहाँ बर्सेनी लाखौं लाख धार्मिक पर्यटक मुक्तिनाथको दर्शन गर्न आउछन,’ स्वास्थ्य चौकी ईञ्चार्ज अधिकारीले भने ,‘ यहाँ आउने दर्शनार्थीले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन नसक्दा हाईअल्टिच्युडको जोखिम हुन्छ, कतिपय त तत्कालै स्वास्थ्य उपचार पाउन नसक्दा ज्यान गुमाएका उदाहरणहरु पनि छन्।’ धार्मिक पर्यटकहरुलाई हाईअल्टिच्युड लागेका धार्मिक पर्यटक तथा थोरङ्लापास गरी मुक्तिनाथ आउने पर्यटकहरुका लागि अतिआवश्यक उपकरणसहित आवश्यक जनशक्तिको व्यवस्था गरी हाईअल्टिच्युड उद्दार केन्द्र भवनलाई अस्पतालको मोडालिटीमा लैजानु पर्नेमा जोड दिए । पछिल्लो अवस्थामा एकाध स्वास्थ्यकर्मीको भरमा रानीपौवाको स्वास्थ्य समस्या र जटिलता समाधान हुन नसक्ने ईञ्चार्ज अधिकारीले उल्लेख गरे ।
मुक्तिनाथ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष सुरज गुरुङले सरकारले हाईअल्टिच्युड उद्दार केन्द्र भवनमा निर्माण गरेपनि हालसम्म पनि संञ्चालनमा आउन नसक्नु दुःखद पक्ष भएको टिप्पणी गरे । अध्यक्ष गुरुङले मुक्तिनाथ मन्दिर र नेपाली सेनाको हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई एकिकृत रुपमा लगेर अस्पतालको रुपमा सेवा संञ्चालन गर्न आवश्यक रहेको औल्याए ।

Advertisement

मुक्तिनाथ रानीपौवाका होटल तथा रेष्टुरेन्टमा बसेका पर्यटकहरुको स्वास्थ्य रक्षाका लागि यहाँका सबै होटलहरुमा अक्सिजन सिलिन्डरसहितको फस्ट एड बक्सको व्यवस्था गरिन लागेको अध्यक्ष गुरुङको भनाई छ ।

मुक्तिनाथ मन्दिरका दर्शनार्थीहरुलाई हाईअल्टिच्युडको जोखिमबाट बचाउन गण्डकी प्रदेश सरकारबाट दुईजना हेल्थ असिस्टेन स्वास्थ्यकर्मीहरुलाई करारमा व्यवस्था गरिएको छ । गाउँपालिकाले एक जना स्वास्थ्य सहयोगको समेत व्यवस्था गरेको छ । वारागुङ मुक्तिक्षेत्र—१ वडाध्यक्ष प्रमेश गुरुङले मुक्तिनाथ मन्दिरमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकाले मासिक १० हजार प्रोत्साहन भत्ताको सुविधा उपलब्ध गराउँदै आईरहेको जानकारी दिए ।

समुन्द्री सतहको तीन हजार ८०० मिटरको उचाईमा रहेको धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका पर्यटकहरुलाई अक्सिजनको कमी भई हाईअल्टिच्युडको समस्या हुने गरेको छ । बर्सेनि मुक्तिनाथ दर्शन गर्न आएका मध्ये एक दर्जन बढीले हाईअल्टिच्युडको कारण ज्यान गुमाउने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ । मुक्तिनाथका पर्यटन व्यवसायीहरुले आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाउन नसक्दा हाईअल्टिच्युडको समस्या हुने गरेको बताउँछन् । पर्यटन व्यवसायी कर्माछिरिङ गुरुङले मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकहरुलाई सरोकारवाला निकायहरुले स्वास्थ्य सचेतनाका बारेमा जानकारी गराउनु पर्ने सुझाए ।

पछिल्लो समय मुक्तिनाथ विकास समिति, स्वास्थ्य कार्यालय मुस्ताङ र सुरक्षा निकायहरुले हाईअल्टिच्युड सम्वन्धि जनचेतनामूलक पर्चा पम्लेट वितरण गरी पर्यटकहरुलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाउन मुस्ताङको घाँसा र जोमसोम लगायतका स्थानमा अनुरोध गर्ने गरिएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया