सम्पादकीय—प्रवासीलाई मताधिकार

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न चारवटा ऐन संशोधनका लागि सरकारलाई राय पठाएसँगै प्रवासी नेपालीको मताधिकारको बहसले नयाँ मोड लिएको छ । यो कदम स्वागतयोग्य भए पनि यसलाई कार्यान्वयनमा ल्याउन अनेकौं व्यावहारिक चुनौतीहरू छन् । सरकारले अध्यादेशमार्फत ऐन संशोधन गर्ने बाटो खुलेको छ र आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा केही देशबाट मतदान सुरु गर्ने तयारी छ । तर, यो केवल सुरुवात मात्र हो, वास्तविक यात्रा अझै लामो छ ।
लामो समयदेखि ‘नोट चल्ने, भोट नचल्ने’ भन्ने गुनासो गरिरहेका प्रवासी नेपालीहरूका लागि यो एक सुखद खबर हो । सर्वोच्च अदालतले २०७४ सालमै मताधिकार सुनिश्चित गर्न आदेश दिए पनि कार्यान्वयन हुन सकेको थिएन । अहिले आयोगले कानुनी बाटो खुलाएको छ । यसका लागि मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, निर्वाचन आयोग ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा संशोधन गर्नुपर्नेछ ।
तर, कानुनी सुधार एउटा पाटो हो, व्यावहारिक पक्ष अर्को । अहिलेको अवस्थामा नेपाल बाहिर मतदान केन्द्र राख्ने परिकल्पना विद्यमान कानुनमा छैन । अध्यादेशमार्फत कानुन संशोधन भएपछि पनि नियमावली र निर्देशिकाहरू बनाउनुपर्नेछ । मतदाता नामावलीमा विदेशमा रहेका नेपालीलाई कसरी समावेश गर्ने र उनीहरूको रुजू कसरी गर्ने भन्ने पनि महत्वपूर्ण प्रश्न हो ।
परराष्ट्र मन्त्रालयका अनुसार, नेपालका ४४ ठाउँमा मात्र दूतावास वा मिसनहरू छन् । ती मुलुकहरुमा मतदान केन्द्रहरूको स्थापना अर्को ठूलो चुनौती हो । निर्वाचन प्रणालीको छनोट पनि महत्वपूर्ण छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा १६५ वटा मतपत्र हुने भएकाले विदेशमा रहेका नेपालीलाई यसमा सहभागी गराउनु असम्भवजस्तै छ । समानुपातिक निर्वाचन प्रणाली तुलनात्मक रूपमा सहज भए पनि सम्बन्धित मुलुकमा मतपत्र पठाउने र त्यहाँबाट संकलन गरेर नेपाल ल्याई गणना गर्नु अर्को चुनौती हो ।
हुलाक वा अनलाइन भोटिङ जस्ता विकल्पहरूको पनि आफ्नै सीमा छन् । हुलाकबाट मतपत्र पठाउँदा छरितो व्यवस्थापन र त्रुटिरहित प्रक्रिया सुनिश्चित गर्नुपर्छ । अनलाइन भोटिङ ह्याकिङको जोखिम, मतदाताको प्रमाणीकरण र प्रणालीमाथिको आक्रमण जस्ता समस्याहरूले गर्दा चुनौतीपूर्ण छ । यद्यपि, निर्वाचन आयोगका विभिन्न अध्ययनहरूले अनलाइन मतदानलाई नै अन्तिम तथा उपयुक्त विकल्प मानेका छन् ।
करिब ४० लाख नेपालीहरू विदेशमा रहेको अनुमान छ, जसमध्ये ठूलो संख्याले देशको अर्थतन्त्रमा रेमिट्यान्स पठाएर ठूलो योगदान दिएका छन् । उनीहरूलाई मताधिकारबाट वञ्चित गर्नु लोकतान्त्रिक मूल्यमान्यताविपरीत हुन्छ ।
सरकारले अध्यादेश ल्याएर ऐन संशोधन गर्न सक्छ, तर त्यसपछि पनि विस्तृत कार्ययोजना, आवश्यक पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय समन्वय बिना यो सम्भव छैन । फागुन २१ को निर्वाचनमा केही सीमित देशबाट सुरुवात गर्ने तयारी सकारात्मक भए पनि सबै प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न दीर्घकालीन र ठोस योजनाको आवश्यकता छ । यसका लागि सरकार, निर्वाचन आयोग, परराष्ट्र मन्त्रालय र सरोकारवाला निकायहरूबीच गहन छलफल र सहकार्य अपरिहार्य छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया