सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक

समाधान संवाददाता २०८२ कार्तिक २२ गते १८:०८

पोखरा। गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ ।

गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । गीतमा सङ्गीत पनि गायक बानियाकै रहेको छ । विदेश जाने क्रम बढिरहेको अवस्थामा स्वदेशमै दुःख गरेर भए पनि बाँच्नुपर्ने भाव समेटिएको गीतले नयाँ पुस्तालाई विदेश जानबाट किन रोक्न सकिएन भन्ने प्रश्न उठाएको छ । गीतकार उपाध्यायले ग्रामीण जीवनको यथार्थ घटनाबाट प्रेरित भएर लेखिएको गीतले मनोरञ्जन मात्र नभई सन्देश पनि दिने विश्वास व्यक्त गरे ।

गायक बानियाले आफूलाई मन परेको गीतमध्ये यो पनि एक भएको भन्दै गीतले आम दर्शकलाई मात्र होइन, सत्ता सञ्चालकलाई समेत एक पटक सोच्न बाध्य बनाउने धारणा राखे । उनले सुरजको गीतले आफ्नो मन छोएकाले गीत तयार पारिएको अनुभव सुनाए ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि गीतकार तीर्थ श्रेष्ठले विनोद र सुरज पोखरामै बसेर नेपाली साहित्य र स‌गीतका लागि गरेको योगदान अविस्मरणीय रहेको बताए । गीत लेखन कष्टकर यात्रा भएको भन्दै उनले गायक तथा सङ्गीतकारले यो मर्मलाई बुझेर प्रस्तुत गर्दा मात्र आम स्रोताले मन पराउने विचार राखे । उनले यो गीतका शब्दमाथि गायन, दृश्याङ्कन र अभिनयको तालमेल मिलेकाले पनि सफल बन्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार तथा निर्देशक अनुप बराल, अर्का कलाकार प्रकाश घिमिरे  म्युजिक भिडियोका निर्देशक नेत्र गुरुङलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

Advertisement

काव्यालयका लागि विक्रम कार्कीको प्रस्तुति रहेको गीतमा कार्कीसँगै सुषमा श्रेष्ठको अभिनय, मिलन शंकरको छायांकन तथा राजेश विष्टको स‌गीत संयोजन रहेको छ ।

तपाईको प्रतिक्रिया