सम्पादकीय—सहकारीका संकट सुल्झाऊ

सहकारी नीतिले भन्छः सहकारी अर्थतन्त्रको तेस्रो खम्बा हो । यो तेस्रो खम्बा राम्ररी फस्टाउन र स्थापित हुन नपाउँदै मक्किँदै गएको महसुस भएको छ । गण्डकी प्रदेशमा मात्र पाँच अर्ब ६३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको तथ्यांक सार्वजनिक हुनु सहकारी क्षेत्रको भयावह अवस्थाको प्रत्यक्ष प्रमाण हो । सहकारी क्षेत्रलाई साझा समृद्धिको आधार भनेर व्याख्या गरिन्छ, तर पछिल्ला घटनाक्रमले यो क्षेत्र साझा पीडा र अविश्वासको थलो बन्दै गएको संकेत दिन्छन् । सहकारी भित्रको कमजोरी केवल एक, दुई संस्थाको त्रुटि होइन, समग्र प्रणालीगत असन्तुलनको परिणाम हो । पछिल्लो समय पोखराका दर्जन सहाकारीहरु समस्यामा छन् । सामान्य समस्या भोग्ने त दर्जनौं छन् । प्राइम, कुमारी, इमेज, सूर्यदर्शन जस्ता सहकारीबाट अर्बौँ रकम हिनामिना हुनु नियामक निकाय, व्यवस्थापक, सदस्य सबैको बेवास्ताको परिणाम हो ।
यस्ता घटनाले सहकारीमा जोडिएको जनताको भरोसा कमजोर बनाउँदै लैजान्छ । अहिले गण्डकीमा ९ सय १ सहकारी दर्ता छन्, तर तीमध्ये करिब एक तिहाइ निष्क्रिय छन् । सक्रिय सहकारीहरू पनि लाभांशको लोभमा जोखिमपूर्ण लगानी, बिना धितो ऋण प्रवाह, कमजोर वित्तीय प्रणाली र आन्तरिक अनुगमनको अभावका कारण संकटमा फसिरहेका छन् । यी सबै कार्यप्रणालीले सहकारीको सदस्य–केन्द्रित मूल मर्मलाई नै भत्काइदिएको छ । सहकारीका समस्या नयाँ होइनन्, २०२२ सालदेखि देखिँदै आएका यस्ता विकृतिको दीर्घकालीन समाधान नखोजिँदा अहिले यो समस्या महामारीझैँ फैलिएको छ । दुई दर्जनभन्दा बढी अध्ययन समिति र आयोगले दिएको सुझाव बेवास्ता हुनु नियामक र राजनीतिक इच्छाशक्तिको कमजोर हुनु यसको मूल कारण हो । अहिले सहकारीमा देखिएको समस्या केवल आर्थिक होइन, नैतिक र संस्थागत संकट पनि हो । नाफाको लोभमा केही सञ्चालकले सदस्यको पैसा दुरुपयोग गरे, नियामक निकायले समयमा कारबाही गर्न सकेनन् । सदस्यहरूले पनि उचित नियमन गरेनन्, परिणामस्वरूप हजारौँ परिवारको पुँजी जोखिममा पर्यो ।
अब समस्या समाधानको बाटो स्पष्ट छ कि नियमन सुदृढ गर्न सहकारी नियमन प्राधिकरणलाई अधिकार सम्पन्न बनाइनु पर्छ । सहकारीको लेखापरीक्षण पारदर्शी र डिजिटल हुनुपर्छ । सँगसँगै जोखिममा परेका सहकारी सदस्यको बचत सुरक्षाका लागि अस्थायी जमानत कोष वा बैंक–वित्तीय संस्थाबाट ऋण सहयोगको व्यवस्था मिलाइनु पर्छ । सहकारी व्यवस्थापनमा पेशेवर मानक र प्रशिक्षणलाई अनिवार्य बनाउनुपर्ने हुन्छ । सहकारी आन्दोलनले नेपालमा आर्थिक सहभागिता र समुदायिक समृद्धिको नयाँ बाटो खोलेको इतिहास छ । तर अहिले त्यो आन्दोलन नै अस्थिरतामा होमिँदै गएको छ । अब सहकारी क्षेत्रलाई पुनः विश्वासको केन्द्र बनाउने जिम्मेवारी सरकारले मात्र होइन, प्रत्येक सदस्यले पनि लिनुपर्छ । पारदर्शिता, उत्तरदायित्व र नियमनको मार्गबाट मात्रै सहकारीको शाख फर्किन सक्छ, सहकारी समृद्धिको माध्यम बन्न सक्छ ।






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया