‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’

समाधान संवाददाता २०८२ कार्तिक २४ गते ११:३१

पोखरा ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ पोखरा महानगर कमिटीको आइतबार दोस्रो विस्तारित बैठक भएको छ । बैठकले निजी क्षेत्रलाई हतोत्साहित नहुन आग्रह गर्दै अहिलेकाे राजनीतिक अस्थिरता र अराजक गतिविधिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको निष्कर्ष निकालेको छ ।


बैठकले गत भदौमा भएको आन्दोलनका क्रममा घुसपैठ गरी गरिएको आगजनीमा संलग्नहरुलाई अहिलेसम्म पक्राउ गर्न नसक्नु दुःखद रहेको बताउँदै लुटपाटमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेको छ । बैठकमा सहभागीहरुले सुरक्षा निकायको मनोबल नउत्साहित गर्न, कैदीबन्दी र लुटिएका हतियाररुको खोजी नगरी शान्ति कायम हुन नसक्ने भएकाले सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।


बैठकले उद्योगी व्यवसायीहरुको हकहित, राष्ट्रिय पूँजी निर्माण र रोजगारी सृजनाको माध्यमबाट देशको अर्थतन्त्र सबल बनाउन निजी क्षेत्रको भूमिका निर्णायक हुने निष्कर्ष निकालेको छ । अबका दिनमा लगानी र रोजगारी बढाउने कार्यक्रम सार्वजनिक गर्दै सम्पूर्ण व्यवसायिक संघसंस्थासँग सहकार्यमा अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । संविधानको रक्षा गर्दै अराजकता अन्त्य गरी देशको अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन सम्पूर्ण व्यवसायीहरू एकमत हुनुपर्नेमा वक्ताहरुको जोड थियो ।

Advertisement


कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश समिति सदस्य तथा वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीप्रसाद पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य आनन्द बराल, नेकपा एमाले जिल्ला समिति उपाध्यक्ष भेषराज बराल, महानगर समिति अध्यक्ष जीवन आचार्य, उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना, महासंघ महानगर समिति सल्लाहकारहरु सूर्यनारायण बराल, राजेन्द्र ओझा, प्रकाश ज्ञवाली, नरहरि अधिकारी, प्रवेशचन्द्र उप्रेति र दिलीप न्यौपानेले राजनीतिक र व्यवसायिक अवस्थाबारे बोलेका थिए ।


वक्ताहरुले राजनैतिक स्थिरता बिना व्यवसायिक क्षेत्र अघि बढ्न नसक्ने भन्दै संविधानको रक्षा र स्थायित्वको सुनिश्चितता अनिवार्य रहेको धारणा व्यक्त गरे । उनीहरुले संसद् पुनःस्थापना गरी विधिसम्मत संशोधनमार्फत सुधारका कार्य अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

Advertisement


अराजकता फैलाएर निजी लगानी हतोत्साहित गरी देशलाई आर्थिक रुपमा असफल बनाउन खोज्ने कुनै पनि शक्तिविरुद्ध देशभरका व्यवसायीहरु एकताबद्ध हुनुपर्ने सहभागिहरुकाे भनाइ छ । मंसिर २५ गते नेकपा एमाले महानगरले आयोजना गर्ने सभा र मंसिर २९ गतेको कार्यक्रममा व्यवसायीहरुको पूर्ण सहभागिता रहने निर्णय गरिएको छ ।


कमिटीका अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतमा भएको कार्यक्रम संञ्चालन कमिटीका सचिव महेन्द्र दाहालले गरेका थिए । उपाध्यक्ष तुलबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए । बैठकले चार जना नयाँ सदस्यलाई महानगर समितिमा मनोनीत गरेको छ ।


उद्योगी व्यवसायीहरुको हक हित तथा देशमा रोजगारी सृजना गरि देशको अर्थतन्त्र बलियो बनाउन सबै एकजुट हुनुपर्ने समितिका पूर्वअध्यक्ष हरि भुजेलले बताए । रोजगारी सृजना गर्न महासंघले विभिन्न कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ । व्यवसायिक क्षेत्रका कानूनी अवरोध र वातावरणबारमा जानकारी दिँदै उनले नीति निर्माण तहमा सुझाव दिने खालका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

तपाईको प्रतिक्रिया