सम्पादकीय—जेनजी आन्दोलनः हिंसा, क्षति र अपराध

सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणलाई मुल मुद्दा बनाएको जेनजी आन्दोलनले हिंसात्मक मोड लिएपछि यसले ठूलो जनधनको क्षति पु¥यायो । विशेष गरी भदौ २३को प्रर्दशन र २४ गते भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा ३७५ जना पक्राउ परेका छन्, जसमध्ये १४१ जनामाथि विभिन्न कसुरमा मुद्दा चलाइएको पाइएको छ । यी घटनामा संलग्न धेरै व्यक्तिहरू आपराधिक पृष्ठभूमि भएका पाइएकाले यसले आन्दोलनको स्वरुपमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
काठमाडौं उपत्यकाबाट सबैभन्दा धेरै २१८ जना पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानले पक्राउ परेकामध्ये ६० प्रतिशत व्यक्तिहरू विगतमा कुनै न कुनै आपराधिक गतिविधिमा संलग्न रहेको देखाएको छ, जसमध्ये कतिपयले कैद सजायसमेत भुक्तान गरिसकेका छन् । यसले शान्तिपूर्ण प्रदर्शनको आडमा आपराधिक समूहले आफ्नो स्वार्थ पूरा गर्ने प्रयास गरेको हुन सक्ने संकेत गर्दछ । पक्राउ पर्नेमा १३ वर्षीय नाबालकदेखि ६१ वर्षीय प्रौढसम्मका व्यक्तिहरू छन्, तर सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यसले युवा पुस्तामा देखिएको असन्तुष्टिलाई आपराधिक समूहले कसरी दुरुपयोग गर्न सक्छ भन्ने चिन्ताजनक अवस्था सिर्जना गरेको छ ।
आन्दोलनका क्रममा प्रदर्शनकारीसहित ७६ जनाको ज्यान गएको थियो । सरकारी कार्यालय, निजी सम्पत्ति, राजनीतिक दलका कार्यालय र व्यापारिक प्रतिष्ठानहरूमा समेत तोडफोड, आगजनी र लुटपाट गरियो । प्रहरीका अनुसार देशभरका ६२९ भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १५६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ । यसमध्ये १७७ प्रहरी भवन पूर्ण क्षति भएका छन् र ३१० सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् । यी घटनाहरूले देशको भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ, जसको पुनर्निर्माणमा राज्यलाई थप आर्थिक भार पर्ने देखिन्छ ।
प्रहरीले आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचानका लागि भिडियो फुटेजहरू सार्वजनिक गरी सर्वसाधारणलाई सहयोगको अपिल गरेको छ । प्रहरीको मेलमा ३६ हजारभन्दा बढी भिडियो र तस्बिर प्राप्त भएको र सोही आधारमा अनुसन्धान अघि बढेको छ । यसले अपराध अनुसन्धानमा प्रविधिको महत्व र नागरिक सहभागिताको आवश्यकतालाई दर्शाउँछ ।
पक्राउ पर्नेहरूमा नेपालीबाहेकका केही भारतीय नागरिक र शरणार्थीको हैसियतमा नेपालमा बसोबास गरिरहेका व्यक्तिहरू पनि रहेको पाइएको छ । यसले शरणार्थी व्यवस्थापन र उनीहरूको अभिलेख राख्ने प्रक्रियामा थप कडाइको आवश्यकता औंल्याउँछ, ताकि उनीहरूको दुरुपयोग हुन नपाओस् । विशेष गरी म्यान्मारबाट भारतहुँदै आएका रोहिन्ज्या शरणार्थीहरू जीविकोपार्जनको समस्यामा रहेकाले उनीहरूको दुरुपयोग हुन सक्ने जोखिममाथि सुरक्षा निकायहरू चनाखो हुनुपर्ने देखिन्छ ।
जेनजी आन्दोलनको नाममा भएको यो हिंसात्मक घटनाले शान्तिपूर्ण प्रदर्शनको अधिकार र आपराधिक गतिविधिलाई अलग्याउनुपर्ने आवश्यकता स्पष्ट पारेको छ । राज्यले दोषीहरूलाई कानूनी दायरामा ल्याउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस कदम चाल्नुपर्छ । युवा पुस्तालाई रचनात्मक बाटोमा डो¥याउन र उनीहरूको असन्तुष्टिलाई सही ढंगले सम्बोधन गर्न आवश्यक नीति र कार्यक्रमहरू ल्याउनु आजको अपरिहार्यता हो ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया