विद्यालयमा सामाजिक अध्ययन विषयको आवश्यकता किन ?

गुरुदत्त शर्मा दवाडी २०८२ कार्तिक ३० गते १०:३५

क. परिभाषा, उत्पत्ति र आवश्यकताः
सामाजिक अध्ययन एक यस्तो विषय हो जसले विद्यार्थीलाई समाज, संस्कृति, भूगोल, मानवशास्त्र, अर्थशास्त्र, राजनीति, विश्व परिवेश र वातावरणको ज्ञान, सिपहरूको विकास गराई सामाजिक रूपमा उत्तरदायी र विवेकी नागरिक बनाउँछ । यो विषय मानव समाज र त्यसका विविध आयामहरूको एकीकृत अध्ययन हो । जसको उद्देश्य विद्यार्थीलाई आफ्नो समुदाय, देश र विश्वका सामाजिक घटनाबारे बुझ्ने, विश्लेषण गर्ने र नागरिक दायित्व पूरा गर्न सक्षम बनाउनु हो । सामाजिक अध्ययन विषय सामाजिक विज्ञानका विषयहरूको एकीकृत रूप हो ।

Advertisement

यो विषय एकल विद्या होइन । भौतिक विकास र समृद्धिको उच्चतम तहमा सफल संयुक्त राज्य अमेरिकाले सर्वप्रथम आफ्ना मुलुकका नागरिकहरूको व्यस्त जीवनशैली र सहरीकरणले एकल जीवन पद्धति विकास हुँदै गर्दा समाजमा हराउँदै गएको आफ्नोपन, आत्मीयता, नागरिक दायित्वसँगै सन् १९१६ मा यो विषयको पठनपाठन सुरुवात गरेको इतिहास भेटिन्छ । नेपालको विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति र परिवर्तनपछि शिक्षा क्षेत्रमा पनि त्यसको परोक्ष एवं प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।


विसं २०१७ पुष १ गतेको राजनीतिक घटनाक्रमले बहुदलीय शासन प्रणालीको अन्त्य गर्दै निर्दलीय पञ्चायती शासन व्यवस्थाको स्थापना गरेको थियो । विसं २०२८ मा नयाँ शिक्षा ऐन आएको थियो । यसले नेपालको शैक्षिक इतिहासमा एकरूपता एवं आधुनिकता ल्याएको थियो । यो शिक्षा पद्धतिले निम्न माध्यमिक तहसम्म सामाजिक अध्ययन विषयको पठनपाठन गर्ने व्यवस्था पनि गरेको थियो । नेपालका हरेक परिवर्तनसँगसँगै विभिन्न प्रभाव एवं हस्तक्षेपका क्रियाकलापहरू सुनिँदै आएको यथार्थ हाम्रा सामु छर्लंग छ । विसं २०२८ को नयाँ शिक्षा पद्धति युरोपियन मोडालिटी अनुसार ल्याइएको थियो ।

Advertisement


यसले नेपालको धर्म संस्कृतिमाथि प्रहार गर्ने अदृश्य क्षेप्यास्त्रको काम गरेको थियो । नयाँ शिक्षा पद्धतिले निम्न माध्यमिक तहसम्म सामाजिक अध्ययन विषयको पठनपाठन गराएको थियो । विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै मुलुकमा प्रजातन्त्रको पुनस्र्थापना भएको थियो । प्रजातन्त्रको पुनस्र्थापनाको जगमा शिक्षा क्षेत्रमा नयाँ शिक्षा आयोगको गठन एवं शैक्षिक सुधार कार्यक्रमहरू अगाडि बढेका थिए । यसले शिक्षामा सामाजिक अध्ययन विषयलाई अनिवार्य रुपमा स्वीकार गरी कार्यान्वयनमा ल्याएको थियो ।


यसले क्रमिक रूपमा नयाँ ढाँचा र शैलीमा सामाजिक अध्ययन विषय कक्षा १ देखि १० सम्म क्रमिक रुपमा कार्यान्वयन गरेको थियो । त्यसैगरी पटकपटकका राजनीतिक क्रान्ति एवं परिवर्तनले शिक्षा क्षेत्रलाई अछुतो राखेको थिएन । राज्यको नीति, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र एवं शैक्षिक व्यक्तित्वहरूले अन्तर्राष्ट्रिय मानंक अनुसार विद्यालय तहको संरचना परिवर्तनसँगै कक्षा ११, १२ मा पनि सबै समूहमा अनिवार्य विषयको रुपमा सामाजिक अध्ययन एवं जीवन उपयोगी शिक्षालाई अनिवार्य विषयको रुपमा पठनपाठन गराउने निर्देशसँगै विसं २०७७ सालमा सबै समूहमा पठनपाठन पनि गराइएको थियो । करिब एक महिनाको अध्यापनपछि विज्ञान समूहबाट यो विषयलाई विभिन्न विचार र दृष्टिकोणका आधारमा वैकल्पिक विषयको रुपमा राखिएको थियो । यसरी यो विषयको आवश्यकतालाई यस प्रकार प्रस्तुत गर्न सकिन्छः

Advertisement


१. सामाजिक चेतना, जिम्मेवारी विकासका साथै सजग एवं सहिष्णु नागरिक निर्माण गर्न ।
२. राष्ट्र प्रेम, राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य मान्यता, नागरिक अधिकार र कर्तव्य बुझ्ने साथै देशप्रति गर्व गर्ने भावना जागृत गराउने ।
३. राष्ट्रको इतिहास, सभ्यता, संस्कृति, हाम्रा पुर्खा, वीरवीरङ्गना हरूको राष्ट्प्र्रतिको स्वाभिमान, एकता, राष्ट्रियता, सार्वभौम राष्ट्र निर्माणका लागि पुर्‍याएको योगदानको बारेमा सुझबुझ भएका नागरिक तयार पार्न एवं गर्बिलो इतिहासलाई बुझ्ने नागरिकता तयार पार्न ।
४. लोकतन्त्र, संविधान, शासन एवं कर्तव्य परायण, सुशासनको बुझाइ भएका सचेत नागरिक तयार पार्न ।
५. आफ्नो मुलुकको भूगोल, वातावरण, भौगोलिक विविधता, जलवायु, वातावरण संरक्षण, दिगो विकासको सिद्धान्त आत्मसात गर्न सक्ने एवं विश्व वातावरणका हरेक गतिविधिमा सहज विश्व भूगोलको सामान्यीकरण गर्न सक्ने नागरिक तयार पार्नु ।
६. आफ्नो मुलुकको माटोप्रति सच्चा बफादार साथै अर्थव्यवस्थाका प्रमुख आधार कृषि, उद्योग, व्यापार, आर्थिक नीति र कार्यक्रम जस्ता आधारभूत ज्ञानसाथै भविष्यमा आत्मनिर्भर र व्यावहारिक जीवन सक्षम बनाउन सहयोग पुर्याउने नागरिक तयार पार्नु ।


७. सामाजिक सह अस्तित्व, धार्मिक सहिष्णुता, लैंगिक समानता, मानवअधिकार, सामाजिक न्यायबारे सचेत नागरिक तयार पार्ने एवं सह अस्तित्व र शान्तिपूर्ण समाज साथै विश्व वातावरण निर्माणमा सहयोग पु¥याउने ।
८. समालोचनात्मक सोच निर्माण, सृजनात्मक विचारशक्ति भएका नागरिक निर्माण गर्न ।
९. आफ्नो राष्ट्रका नीति नियम, कानुन, भाषागत दखलता, संस्कृति बुझ्ने एवं व्यावहारिक नागरिक तयार गर्दै सभ्य, सुसंस्कृत राष्ट्र एवं विश्व नागरिक निर्माण गर्न ।
१०. दैनिक जनजीविकासँग सरोकार राख्ने हरेक पक्षसँग सकारात्मक सुझबुझ भएका योग्य नागरिक तयार पार्न ।

नतिजा मुखी भएर बढी प्रतिशत पास गराउने गलत प्रवृत्तिले पनि कहिँ कतै सिकाइ र व्यावहारिक जीवनसँग शिक्षा जोडिन सकिरहेको छैन


सरोकारवालाहरूको दृष्टिकोणः
विश्व परिवेशका हरेक अमानवीय गतिविधि र क्रियाकलापलाई शैक्षिक व्यक्तित्वहरूले मूल्यांकन गर्दै हाम्रो परिवेशमा एकता, सद्भाव, सहकार्य, समन्वय, भाइचारा, विश्व बन्धुत्व जस्ता विशिष्टता भएका नागरिकहरू तयार गर्ने उद्देश्यका साथ विद्यालय तहमा अनिवार्य विषयको रूपमा पठनपाठन हुँदै आइरहेको छ । यो विषय अनिवार्य विषयको रुपमा विद्यालय तहमा पठनपाठन हुँदै गर्दा यो विषयको उच्च ज्ञान र दक्षता भएका जनशक्ति उत्पादन र अधिकतम प्रयोगमा राज्यका निकायहरू उदासीनता त्यत्तिकै गम्भीर विषयका रूपमा रहेको थियो । दुई दशकभन्दा बढी विद्यालय तहमा अनिवार्य विषयको रुपमा पठनपाठन गराइएको यो विषयको सिकाई र मर्म कहीँ कतै पानीबिनाको माछा जस्तै बनिरहेको पनि थियो ।


तत्कालीन समयसँगै नेपाली जनजनमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदा मुलुकले चाँडै समृद्धि र विकासको चरमोत्कर्ष पुग्ने आँकलनसँगै सामाजिक अध्ययन विषयको मर्म र आवश्यकता विपरीत अंग्रेजी माध्यमबाट पठनपाठन गरियो । नेपाली विषयप्रति व्यवास्था गरिँदै गइयो । ‘अंग्रेजी जाने हुन्छ’ भन्ने भाष्यले प्राथमिकता पायो । यो विषय पठनपाठन गराउन सामाजिक विज्ञानका सबै विषयको एकीकृत ज्ञान भएको शैक्षिक जनशक्ति आवश्यक पर्ने सन्दर्भलाई नजरअन्दाज पनि गरियो ।


सामुदायिक विद्यालयमा सामाजिक अध्ययन विषयको शिक्षक नियुक्ति गर्दा सामाजिक विज्ञानको कुनै एक विषय प्रमुख विषयको रुपमा स्नातक तहमा अध्ययन गरेको जनशक्तिले पठनपाठन गर्न पाउने प्रावधानलाई कानुनसम्मत ढंगले स्वीकार पनि गर्यो । त्यसैगरी अंग्रेजी माध्यमबाट पठनपाठन भएका विद्यालयमा सामाजिक अध्ययन विषयको नतिजा तुलनात्मक रूपले राम्रो भएको महसुस गरियो । यो महसुस सँगसँगै अधिकांश सामुदायिक विद्यालयहरूले पनि अंग्रेजी माध्यमबाट मुस्किलले पठनपाठन गर्ने पद्धतिलाई प्रोत्साहन गरिरहे ।

यसरी यो विषय पठनपाठनका लागि संस्थागत विद्यालयमा अंग्रेजी विषयका शिक्षकलाई पठनपाठनमा अधिकतम प्रयोग गरियो भने सरकारी विद्यालयमा जो कोहीले पनि काम चलाउ पद्धतिको रुपमा प्रयोग गरियो । यसरी लामो समयसम्म अंग्रेजी भाषाका माध्यमबाट एसईई, एसएलसी परीक्षामा हाम्रो नतिजालाई आकलन गरी केवल अंग्रेजी भाषा बोल्न र लेख्न सक्ने शिक्षक शिक्षिकालाई विषयको मर्म विपरीत मानव संसाधनबाट काम चलाइयो ।

यसले केवल अंक मापन मात्रै गर्न सिकायो, विषयको यथार्थता र मर्मलाई व्यवस्था गरियो जसको परिणाम स्वरुप करिब दुई दशकभन्दा अगाडिको देशका लागि उत्पादन भएका नागरिकहरू आफ्नो देशको भाषा संस्कृति रीतिरिवाज चालचलन, नेपालीपन, देशको नीति नियम, कानुन, विधि पद्धति बुझ्न नसक्ने बनेको यथार्थ हाम्रो सामु घाम जस्तै छर्लंग छ ।


हाम्रो मुलुकले औद्योगिक क्रान्तिको दिशा अझै किटान गर्न सकेको छैन तर पनि यो मुलुकमा पटकपटक विधिको शासन, सुशासन, भ्रष्टाचारको अन्त्य, लोकतान्त्रिक शासन प्रणाली, ’समृद्ध नेपाल सुखी नेपाली’को मर्म विपरीत राजनीतिक परिवर्तन त भए तर अवस्था कहिले परिवर्तन भएन । यसैको धरातलमा रहेर जनताको राजनीतिकप्रतिको वितृष्णा एवं युवा जनशक्तिको आक्रोशसँगै विसं २०८२ भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले राजनीतिक परिवर्तन गर्दै राजनीतिक दलहरुलाई असफल बनाएको सन्देश प्रवाहसँगै जनताबाट निर्वाचित सरकारलाई हटाएर जेन्जी पुस्ताको माग अनुसार गैर राजनीतिक व्यक्तिहरूले यो मुलुकमा नेतृत्व गर्दै राजनीतिक स्थिरता कायम गर्ने एवं मुलुकमा भएका हरेक विकृति विसंगति, अनियमितता, भ्रष्टाचार जस्ता गतिविधिहरुलाई अन्त्य गर्न जनताको नयाँ जनादेश सहितको सरकार निर्माण गर्नका लागि यही वर्षको फागुन २१ गते प्रतिनिधि सभाको चुनावको मिति घोषणा भएको छ ।

यसरी जेन्जी आन्दोलनका अभियन्ता वा नाइकेहरूले देशको परिवेश अनुसार नेतृत्व गर्न एवं मुलुकको समग्र परिस्थितिलाई सुझबुझका साथ अगाडि बढाउन साथै देशको नीति नियम, कानुन, प्रक्रिया र पद्धतिलाई आत्मसाथ र सुझबुझ नेतृत्व गर्न सक्ने साथै भाषागत रुपमा राष्ट्र भाषाप्रतिको कमजोरी र प्रस्तुति देख्दै गर्दा हामी सबै सरोकारवालाको चरम लापरवाही र आफ्नो भाषा संस्कृति दोहन गर्दै सीमित स्वार्थले प्रेरित भई हामीले उत्पादन गरेका युवा जनशक्ति भाषागत रुपमा कमजोर बनाउन हामी कहिँ कतै चुकिरहेका त छैनौँ भन्ने किसिमको यक्ष प्रश्न खडा भएको छ ।


समग्र सरोकारवालाहरूले सामाजिक अध्ययन विषयको मर्म र भावना विपरीत अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदा बालबालिकाले राष्ट्र, राष्ट्रियता बुझ्ने र ग्रहण गर्ने नागरिक तयार नभएको महसुस गरी यो विषयलाई विद्यालय तहमा राष्ट्रभाषा नेपालीमा पठनपाठन गराउने व्यवस्था लागू गरियो । नेपाली भाषाको माध्यमबाट पठनपाठन गराउने पद्धति सुरुवातसँगसँगै विरोधका आवाजहरू पनि नआएका होइनन् । यसरी नेपाली भाषाबाट पठनपाठन गराउने पद्धतिसँगसँगै शैक्षिक जनशक्तिको व्यवस्थापनप्रति कुनै चासो दिएन ।

अंग्रेजी माध्यमका विद्यालयमा अंग्रेजी भाषाबाट पठनपाठन गराइरहेका शिक्षक शिक्षिकाहरू पुनः नेपाली भाषाबाट पठनपाठन गराउँदा भाषागत असहजताको भोगाई पक्कै महसुस गर्ने वातावरण निर्माण भयो । त्यसैगरी शिक्षामा सरोकार राख्ने हरेक क्षेत्र पनि यसमा त्यति सारो चिन्तित भएको कमै भेटियो । शिक्षाका सरोकारवालाहरू भाषागत रुपमा परिवर्तनसँगै विद्यालयका शिक्षक शिक्षिकाहरूलाई भाषागत रुपमा दखलता निर्माण गर्नप्रति कमै चासो देखाइयो ।

त्यसैगरी आफ्नो राष्ट्रभाषाप्रतिको उदासीनता पनि टट्कारो समस्याको रुपमा रहेको छ । हाम्रो समाज, हाम्रा बालबालिका अंग्रेजी भाषा बोल्दा अति नै गर्व गर्ने प्रवृत्ति पनि रहेको छ । यसैको आधारशिलामा पछिल्लो एसईई परीक्षामा विद्यार्थीले ल्याएको अंकमा सन्तुष्टि नभएको अभिव्यक्ति पनि आएको छ । सामाजिक अध्ययन विषयका शिक्षक शिक्षिकाहरूको मानव संसाधन निजी विद्यालयमा अपर्याप्त भइरहेको अवस्था छ ।


पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, विशिष्टीकरण तालिका, पाठगत एवं एकाइगत सिकाई उपलब्धि, पाठ्यवस्तु, क्रियाकलाप, सामुदायिक कार्य, योजना कार्य जस्ता सामाजिक अध्ययनका विषयवस्तु बुझाउने र मर्म अनुसार सहजीकरण गर्ने विद्यार्थी एवं अभिभावकलाई पूर्णरूपमा आत्मविश्वासका साथ बुझाउने नेतृत्व गर्ने शैक्षिक मानव संसाधनको न्यून सहजता पनि देखिएको छ । पाठ्यक्रमको मर्म र निर्देशन अनुसार कक्षाको आकार, विद्यार्थीको स्वभाव, भाषागत विषयवस्तुको गहिरो भाषागत दखलता भएका जनशक्तिहरू पर्याप्त नभेटिनु पनि समस्या बनिरहेको छ । त्यसैगरी यो विषयको मर्म र भावना अनुसार प्रत्येक कक्षामा त्यो कक्षाले सिकाउन खोजेको ज्ञान र व्यावहारिक अभ्याससँग विद्यार्थीलाई जोड्न नसक्ने शैक्षिक मानव संसाधन पनि त्यत्तिकै चुनौतीको विषय बनिरहेको छ ।


शिक्षक शिक्षिकाहरूमा पनि पेशागत दक्षता, इमान्दारिता, जवाफदेहिता पनि केही हदसम्म जिम्मेवार छन् । हाम्रो शिक्षा प्रणाली र हाम्रा अभिभावकहरु पनि बालबालिकाको सिकाई र भोगाई भन्दा बेसी परीक्षाको अंकनलाई विशेष ध्यान दिने गर्दछन् । परिणामस्वरूप शिक्षक शिक्षिकाहरू पनि विद्यार्थीहरूको वास्तविक सिकाई भन्दा पनि मूल्यांकनलाई अति फितलो रुपमा प्रस्तुत गर्दै अभिभावक र विद्यार्थीलाई खुसी हुने ढंगले अंकन गर्ने प्रवृत्ति पनि उत्तिकै हाबी छ ।


त्यसैगरी विद्यालय प्रशासन पनि विद्यार्थी एवं अभिभावकलाई खुसी बनाउने गलत प्रक्रियाले पनि सिकाईको जग र व्यावहारिक शिक्षा कमजोर बनिरहेको छ । त्यसैगरी सरोकारवाला निकायले शिक्षक शिक्षिकाहरू पनि विषयगत ज्ञानभन्दा अन्य रुचिबाट लिने र प्रयोग गर्ने कमजोर मानसिकताले पनि सामाजिक शिक्षाको मर्म र भावना विपरीत भएको छ । हाम्रो शिक्षामा भएका कतिपय अस्वस्थ प्रतिस्पर्धा जसले गर्दा अंक र ग्रेड भरपुर देखाउने प्रवृत्तिले सिकाई र व्यवहारिक जीवनसँग सामाजिक अध्ययन विषयलाई जोड्न सकिएको छैन ।

यसर्थ शिक्षामा सरोकार राख्ने हरेक क्षेत्रले साँच्चै इमान्दार भई विषयको भावना र मर्म एवं सूझबुझ, दृढ इच्छाशक्ति, नैतिकता, मर्यादा, जवाफदेही, उत्तरदायी, राष्ट्रप्रेमी देशभक्ति भएका नागरिक उत्पादन गर्दै समग्र शिक्षा प्रणालीलाई सफल र उत्पादनमुखी बनाउन हामी सबैको सरोकार र चिन्ताको विषय बनेको छ । त्यसैगरी शैक्षिक मूल्यांकन पद्धतिलाई समय सापेक्ष र विद्यार्थीको वास्तविक सिकाईसँग जोड्दै मूल्यांकन गर्ने परिपाटीमा आमूल परिवर्तन गर्नुपर्ने पनि देखिन्छ ।


हाम्रो सिकाइ उपलब्धि भन्दा पनि नतिजा मुखी भएर बढी प्रतिशत पास गराउने गलत प्रवृत्तिले पनि कहिँ कतै सिकाइ र व्यावहारिक जीवनसँग शिक्षा जोडिन सकिरहेको छैन । वर्तमान समयमा विश्वविद्यालय तहमा पनि सामाजिक अध्ययन विषयको पठनपाठन हुने गर्दछ । तर आजका पुस्ता शिक्षणमा न्यून रुचि लिएको देखिन्छ । यसर्थ देशका जिम्मेवार नागरिक उत्पादन गर्ने विषय सामाजिकको मर्म र गहिराईलाई कोही कसैले नजरअन्दाज गर्नु गलत हुनेछ ।


हामीले विश्व परिवेशको शिक्षा प्रणालीलाई हेर्दै गर्दा नेपालको शिक्षा प्रणाली विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने साथै देशको माटो सुहाउँदो रहेको छ । शैक्षिक पद्धति र प्रक्रियामा हामी विश्व बजारमा कमजोर छैनौँ । कमजोर केवल हाम्रो मानसिकता र व्यवहार छ । यसर्थ समग्र क्षेत्रका सुझबुझ भएका नेपाली नागरिक व्यक्तिगत एवं सामूहिक स्वार्थभन्दा माथि उठेर देशकाल परिस्थिति र माटो सुहाउँदो शिक्षाको अधिकतम प्रयोग र उपयोग गर्ने नीतिलाई सबैले इमान्दारपूर्वक पालना गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया