विनोदी, उदासी र घिमिरे सम्मानित

समाधान संवाददाता २०८२ कार्तिक ३० गते १०:४९

पोखरा ।
माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालले साहित्यकार माधव वियोगीको जन्मदिवसको अवसरमा उनका नाममा स्थापित पुरस्कार र सम्मानहरू वितरण गरेको छ । पोखरा बेलघारीमा भएको समारोहमा ती पुरस्कार र सम्मान प्रदान गरिएको हो ।

Advertisement


५० वर्षदेखि कविताकाव्यको समुन्नतिका लागि निरन्तर साधनारत नवलपुरको गैंडाकोटका कवि गोविन्दराज विनोदीलाई माधव वियोगी साहित्य पुरस्कार र नेपाली नाटकको विकासमा उल्लेख्य योगदान गरेकोमा कृष्ण उदासी र बालसाहित्यको कविता विधामा आधुनिक शैली अपनाई उत्कृष्ट सिर्जना गरेकामा बालसाहित्यकार रमेशचन्द्र घिमिरेलाई माधव वियोगी सम्मान प्रदान गरिएको प्रतिष्ठानका सचिव शिव त्रिपाठीले जानकारी दिए ।


कार्यक्रममका कवि तीर्थ श्रेष्ठले माधव वियोगी प्रतिष्ठानले वाङ्मयको विकासमा उल्लेख्य कार्य गर्दै आएको बताए । विनोदी अस्वस्थताका कारण कार्यक्रममा उपस्थित नभएकाले पछि उनकै निवासमा कार्यक्रम गरी पुरस्कार हस्तन्तरण गरिने प्रतिष्ठानका अध्यक्ष नवराज बरालले बताए । माधव वियोगी साहित्य पुरस्कारको राशि २५ हजार र सम्मानहरूको राशि ५/५ हजार रहेको जानकारी संस्थाकी प्रमुख संरक्षक सरिता घिमिरेले दिइन् ।

Advertisement


समारोहमा साहित्यकार वियोगीले आफू वाङ्मयको विकासमा बाँकी समय अझ सक्रियताका साथ लाग्ने उल्लेख गरे । प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा जगन्नाथ रेग्मी, छन्दिका त्रिपाठी, आर्या त्रिपाठी, रमा खतिवडा, छविलाल आचार्य, गायत्री पराजुली, लक्ष्मी थापा, संस्थाका सचिव शिव त्रिपाठी र उपाध्यक्ष छन्दमणि त्रिपाठीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया