मानव अधिकार तथा शान्ति समाज कास्कीमा सावित्री

समाधान संवाददाता २०८२ कार्तिक ३० गते १६:१७

पोखरा ।
मानव अधिकार तथा शान्ति समाज कास्की शाखाको २७ औं जिल्ला साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले आगामी कार्यकालका लागि सावित्रीदेवी सुवेदीको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । यसै गरी उपसभापतिमा दिवलाल लामिछाने, सचिवमा झलक प्रसाद तिवारी, सहसचिवमा ऋषिराम रानाभाट, कोषाध्यक्षमा रमेश परियार सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

Advertisement


यसै गरी सदस्यहरुमा गीताराज शर्मा चालिसे, शुक्रराज लामिछाने, सचिता थापा, डेकमाया श्रेष्ठ र बाबुराम न्यौपाने रहेको निर्वाचन अधिकृत केदार ढकालले जानकारी दिए । यस अघि उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव एवं निर्वाचन पर्यवेक्षक तीर्थराज न्यौपानेले कास्की जिल्ला शाखाले छुट्टै पहिचान बनाएको चर्चा गरे ।

शाखालाई यहाँसम्म ल्याउन शाखाका कार्य समितिका पदाधिकारीहरु, पूर्व सभापतिहरु, आजीवन सदस्यहरु, साधारण सदस्यहरुको योगदान रहेको स्मरण उनले गरे । आफू सभापति हुँदा समाजको कुनै आँच आउने काम नगरेको जानकारी दिंदै आगामी दिनमा पनि समाजको छवि नबिगार्ने गरी आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

Advertisement


शाखाका सभापति सावित्रीदेवी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य एवं शाखाका सल्लाहकार सूर्यप्रसाद ढकालले कास्की शाखाको ऐतिहासिक पृष्ठभूमिकाको बारेमा चर्चा गरे । यसै गरी समाजका सभापति सावित्रीदेवी सुवेदीले आफूले कार्यवाहक सभापतिको रुपमा आफ्नो कार्यकाललाई सफल बनाउन लागिपर्ने कार्य समितिका पदाधिकारीहरु लगायत पूर्व सभापतिहरुको सहयोग प्रति आभार व्यक्त गरिन् ।


सल्लाहकार विश्वलाल श्रेष्ठले आफू समाजको स्थापना कालदेखि समाजलाई जीवन्त राख्न लागि परेको बताउँदै समाज यहाँसम्म आउँदा आफूलाई गर्व लागेको बताए । त्यस्तै गरी समाजकै सल्लाहकार एवं शाखाका पूर्व सभापति कुलबहादुर नेपालीले कास्की समाज विगतमा दुई वर्ष लगातार उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको इतिहासको स्मरण गरे ।

Advertisement

शाखाका पूर्वसभापति एवं पूर्व केन्द्रिय सचिव धीरज थापाले समाजका नेतृत्वमा बस्ने पदाधिकारीमा, सदस्यहरुमा सोचमा परिवर्तन हुन आवश्यक रहेको बताए । आजीवन सदस्य रमेशबाबु भट्टराईले संस्थाप्रति सबैले जिम्मेवारी बहन गर्न सके मात्र समाजको उद्देश्य अनुसार अगाडि बढ्न सकिने धारणा राखे ।

पूर्वसहसचिव रमा ढकालले समाजलाई जीवन्त राख्न सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताइन् कार्यक्रममा समाजका सचिव झलक प्रसाद तिवारीद्वारा प्रस्तुत सचिवको प्रतिवेदन र कोषाध्यक्ष पार्वती बरालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो भने कार्यक्रमको सञ्चालन समाजका सचिव झलक प्रसाद तिवारीले गरे ।

तपाईको प्रतिक्रिया