गण्डकीमा ५८३ वटा सहकारी अद्यावधिक

‘नियम पालनाले मात्रै सहकारी सुदृढ हुन्छन्’

समाधान संवाददाता २०८२ कार्तिक ३० गते १६:४९

पोखरा ।
नियम कानुनको परिपालना र सुशासनबाट मात्र सहकारी क्षेत्रको सुदृढीकरण सम्भव रहेको सरोकारवालाहरूले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिकामा सम्पन्न सहकारिता, सहकारी ऐननियम तथा समसामयिक विषयक अभिमुखीकरण अन्तक्र्रिया गोष्ठीका सहभागीहरूले यस्तो बताएका हुन् । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा भएको यो कार्यक्रम कात्तिक २७ गते सम्पन्न भएको थियो ।


सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको नियमन क्षेत्राधिकारभित्र हाल ९०१ वटा सहकारी संघ संस्था कायम रहेकोमा ५८३ वटा सहकारी अद्यावधिक छन् । कार्यालयले चालु आर्थिक वर्षमा ४४ वटा सहकारीको अनुगमन नियमन, १ वटा संस्थाको विस्तृत रूपमा प्रारम्भिक छानबिन एवं सहकारी सम्बन्धी अन्तक्र्रिया गोष्ठी ३ वटा सम्पन्न गरेको छ ।


कार्यक्रमको समन्वय जिल्ला सहकारी संघ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र कावासोती नगरपालिकाले गरेका थिए । कार्यक्रम सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता र कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यस गोष्ठीमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका विभिन्न स्थानीय तहका सहकारी संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति सदस्य र व्यवस्थापक गरी ९४ जनाको सहभागिता थियो ।

Advertisement


कार्यक्रमको शुभारम्भ गर्दै कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालले सहकारी संस्था जुन उद्देश्यका लागि स्थापित भएको हो, सोही उद्देश्य परिपूर्ति हुने गरी प्रचलित सहकारी ऐन नियम र मापदण्ड अनुरूप चल्नुपर्छ भने । उनले ऋण लिएपछि शेयर सदस्यले समयमै ऋण तिर्नुपर्ने कुरामा पनि जोड दिए ।


कार्यक्रममा सहकारी रजिष्ट्रार भेषराज रिजालले गण्डकी प्रदेशमा सहकारीको अवस्था, समस्या र समाधानका उपाय विषयक कार्यपत्र प्रस्तुत गरे । शाखा अधिकृत चोलाकान्त वाग्लेले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी सहकारी मापदण्ड र तथ्याङ्क अधिकृत सूर्यप्रसाद आचार्यले सम्पत्ति शुद्धीकरण निवारण विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Advertisement

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष तिलक पराजुलीले मन्तव्य राखेका थिए । नारायणप्रसाद पौडेल, चन्द्रमान श्रेष्ठ लगायतका सहभागीले जिज्ञासा र सुझाव राखेका थिए । कार्यक्रम सञ्चालन तथ्याङ्क अधिकृत सूर्यप्रसाद आचार्यले गरेका थिए भने व्यवस्थापन सहजीकरण नायब सुब्बा सूर्यप्रसाद तिवारीले गरेका थिए ।


कार्यपत्र प्रस्तोताहरूले सहकारी संस्थाका सञ्चालकका काम, कर्तव्य र दायित्व बारे चर्चा गर्दै सहकारी संस्थाहरूबीच लाभांश वितरण, ब्याजदर निर्धारण, ऋण लगानी, सदस्यता प्रदान जस्ता क्रियाकलापहरूमा अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने कुरामा जोड दिए । उनीहरूले सदस्य हित, सदस्य सहभागिता, वित्तीय सुशासन एवं संस्थागत अनुशासनमा रहँदै संस्था सञ्चालन एवं व्यवस्थापन गर्नुपर्ने बताए ।

सहकारीका शेयर सदस्यहरूले पनि केवल लाभांश प्राप्त गर्ने र ऋण लिने उद्देश्यले मात्र सदस्य नबनी संस्थाप्रति जिम्मेवार भई नियमित बचत गर्दै आफूले लिएको ऋण तोकिएको शर्त बमोजिम समयमै चुक्ता गर्नुपर्ने विषयमा चर्चा भएको थियो । समस्या उन्मुख वा समस्यामा परेका सहकारीले सहज ढंगले ऋण असुली नभएमा लिलामी प्रक्रियाबाट भए पनि अघि बढ्नुपर्ने विषयमा छलफल भएको थियो ।


कार्यक्रममा सम्पत्ति शुद्धीकरण जस्तो सामाजिक अपराध न्यूनीकरण गर्न सहकारी संघ संस्थाहरूले गर्नुपर्ने कार्य प्रक्रियाका विषयमा छलफल गरिएको थियो । कार्यक्षेत्रभित्र रही शेयर सदस्यसँग मात्र कारोबार गर्नुपर्ने, निष्क्रिय रूपमा रहेका सहकारीहरूले अद्यावधिक गरी सम्बन्धित नियामक निकायमा नियमित प्रतिवेदन पेश गर्नुपर्ने तथा एउटै कार्यक्षेत्रका एकै प्रकृतिका सहकारी संघ संस्थाबीच एकीकरण गर्दा सहकारी सञ्चालन र व्यवस्थापन उपलब्धीमूलक हुने विषयमा समेत परिचर्चा गरिएको थियो ।

तपाईको प्रतिक्रिया