सम्पादकीय—समृद्धिको आधारः राष्ट्रिय कर दिवसको सन्देश

हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने प्रचलन छ । आन्तरिक राजस्व विभागले ‘कर प्रणालीको सार लगानीको प्रमुख आधार’ भन्ने नाराका साथ कर दिवस मनाएको छ । कर अवसरमा विभिन्न १६ विधाअन्तर्गत राजस्वमा सर्वाधिक योगदान दिने उत्कृष्ट करदाताहरूलाई सम्मान गरियो । यो सम्मान केवल करदाताको प्रशंसा मात्र नभई, देश विकासमा करदाताको अतुलनीय योगदानको कदर पनि हो ।
कर प्रशासन र करदाताबीचको पारदर्शी सहकार्य, नीति सम्वाद र दिगो साझेदारी आजको आवश्यकता हो । कर प्रशासनमा सदाचारिता कायम गरी सुशासनको प्रत्याभूति गर्दै करदाता सेवा प्रणालीलाई थप सरल र सहज बनाउनुपर्छ । संघीयताको मर्मअनुसार करसँग सम्बन्धित अधिकांश सेवाहरू स्थानीय तहमार्फत प्रवाह गर्नु आवश्यक देखिन्छ, जसले करदातालाई सहज पहुँच प्रदान गर्दछ ।
नेपालमा २०५८ साल वैशाख २ गते विभागको स्थापना भएदेखि कर प्रणालीको आधुनिकीकरण र वैज्ञानिकरणमा महत्वपूर्ण प्रगति भएको छ । मूल्य अभिवृद्धि करको सुरुवातलाई यसको प्रस्थानविन्दु मान्न सकिन्छ । कर राजस्व राज्य सञ्चालनको प्रमुख आधार हो, जसले विकास निर्माण, सार्वजनिक सेवा र सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण क्षेत्रमा लगानी सुनिश्चित गर्दछ । आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसुललगायतका नियमित स्रोतहरू राज्यको आर्थिक मेरुदण्ड हुन् ।
आन्तरिक राजस्व विभागअन्तर्गतको पोखरा कार्यालयले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १ अर्ब ५० करोड २० लाख राजस्व संकलन गरी गत वर्षको सोही अवधिको तुलनामा १ करोड ५४ लाख बढी राजस्व संकलन गर्न सफल भएको छ, जुन सकारात्मक पक्ष हो ।
पछिल्ला वर्षहरूमा राजस्वको दायरा विस्तार हुँदै गए पनि कर संकलन लागत घटाउने, चुहावट न्यूनिकरण गर्ने र लगानीमैत्री वातावरणका लागि कर प्रणालीमा थप सुधार आवश्यक देखिन्छ । यसका लागि प्रविधिमैत्री सेवा प्रवाह, करदातामैत्री कार्यप्रणाली र स्वेच्छिक कर सहभागिता बढाउने अभियानमा जोड दिनुपर्छ । आर्थिक ऐन, २०८२ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागि करदाताहरूलाई सचेत गराउनु पनि उत्तिकै महत्वपूर्ण छ ।
कर दिवसमा नेपाल दुरसञ्चार प्राधिकरणले सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सम्मान प्राप्त गर्यो । यस्तै, आन्तरिक राजस्व कार्यालय पोखराअन्तर्गतका उत्कृष्ट करदाताहरू पनि सम्मानित भए । यस्ता सम्मानले निजी क्षेत्रलाई प्रोत्साहन गर्छ र उनीहरूको मनोबल उच्च बनाउँछ । देश विकासको प्रमुख हिस्सेदार निजी क्षेत्रलाई व्यावसायिक वातावरण तयार गर्न राज्यले थप सहजीकरण गर्नुपर्छ ।
आन्तरिक राजस्व कार्यालयहरूले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउँदै करको दायरा विस्तार गर्दै लैजानु आवश्यक छ । पोखरा कार्यालयमा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ हजार ८ सय ६ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या २ लाख १८ हजार १ सय २९ पुग्नुले कर सचेतना र सहभागिता बढ्दै गएको संकेत गर्दछ ।
अन्ततः, राष्ट्रिय कर दिवस केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई, समृद्ध नेपाल निर्माणका लागि करको महत्वलाई पुनः स्मरण गराउने एउटा अवसर हो । करदाता र कर प्रशासनबीचको सुमधुर सम्बन्धले मात्र दिगो आर्थिक विकास सम्भव छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया