सम्पादकीय—गाउँघरका सम्भावना खोजौं

समाधान संवाददाता २०८२ मंसिर ७ गते १४:२८

देशभरका धेरै गाउँ पछिल्लो समय रिक्ता हुँदै गएका छन् । रहर, रोजगारी र सुविधाको खोजीमा सहर पस्नेहरु फेरि गाउँ फिर्ता भएको तस्बिर निकै विरलै देखिन्छ । तर ह्याङ्जाकोटका केही उदाहरणले देखाएका छन् कि अवसर बनाइयो भने गाउँले गाउँमै सम्पन्न र आत्मनिर्भर बन्न सक्छन् । बसाइँसराइका कारण सुनसान हुँदै गएका बस्तीसँगै हराउँदै गएको कृषि, संस्कृति र सामुदायिक जीवनलाई जोगाउन यिनै उदाहरणबाट सिक्ने बेला आएको छ । ह्याङ्जाकोटमा सञ्चालनमा आएको सामुदायिक होमस्टे यहाँको जीवन बदलिने प्रमुख माध्यम बन्यो ।

पाहुनाले ल्याएको बजारले स्थानीय कृषि उपज बेच्न सहज बनाएको छ, जसले गाउँमा उत्पादन गर्ने प्रोत्साहन बढाएको छ । परम्परागत घर, गुरुङ संस्कार, स्थानीय परिकार, हिमालको सौन्दर्य र सामुदायिक सहयोगका कारण ह्याङ्जाकोटमा पर्यटनको सम्भावना देखिएको छ । ह्याङ्जाकोट जस्तै धेरै गाउँ नेपालमा छन् । गाउँसँग सम्भावना कम छैन, अभाव त केवल दृष्टिकोण र पूर्वाधारको ।


राज्यका योजना सहर–केन्द्रित हुँदा गाउँले विकल्प खोज्न बाध्य बनेका छन् । न उचित सडक, न बजार व्यवस्थापन, रोजगारी र शिक्षा, स्वास्थ्यका अवसर, यीनै गाउँ छाडिने प्रमुख कारण हुन् । बसाइँसराइ रोक्ने स्थायी उपाय भनेको गाउँमै आयआर्जन र पहिचान निर्माण गर्ने वातावरण तयार पार्नु हो । सामुदायिक पर्यटन, कृषि आधारित उद्योग, जडीबुटी प्रशोधन, पशुपालन, स्थानीय हस्तकला, नवीकरणीय ऊर्जा, डिजिटल सेवा जस्ता क्षेत्रलाई प्रोत्साहन गर्न सके हजारौं युवालाई गाउँमै भविष्य देखाउन सकिन्छ । स्थानीय पालिकाहरुले आधारभूत पूर्वाधार, बजार प्रबन्ध, तालिम र लगानीमैत्री वातावरण तयार गरिदिए यस्ता पहलमा थप गति मिल्छ ।

Advertisement

गाउँ छाडेर सहर पस्नेहरूमाथि दोषारोपण गर्नु पनि यसको समाधान होइन । जिम्मेवारी राज्य, स्थानीय सरकार र समुदाय सबैको हो । गाउँमा सेवा, सुविधा र अवसर विस्तार नगरेसम्म गाउँ बस्ने अवस्था सिर्जना हुँदैन । बसाइँसराइले रिक्त हुँदै गएका बस्तीलाई पुनर्जीवन दिन सबै तहबाट संयुक्त प्रयास आवश्यक छ ।


गाउँ बचाउने काम भावनाको मात्र होइन, भविष्यको रणनीति पनि हो । गाउँ जोगायौँ भने मात्र संस्कृतिसहित राष्ट्रको मेरुदण्ड जोगिन्छ । पछिल्लो क्रममा दिक्दारीलाग्दो दृश्य देखिन थालेको छ । अचेल अस्पताल, विद्यालय, सडक, सञ्चार गाउँ गाउँमा पुगेका छन् । विकासका पूर्वाधार पुगे पनि गाउँमा मान्छे भने साह्रै कममात्र छन् । केही अवसर वा कार्यक्रममा सहरबाट मान्छे गाउँ जाने र कार्यक्रम सकिएपछि बेलुका सहरै फर्किने क्रम देखिएको छ ।

Advertisement

धेरैजसो गाउँहरुमा जनप्रतिनिधि र कार्मचारीहरु नजिककैको सहरमा बस्ने र कार्यालय समयमा मात्रै पालिकातिर जाने गरेको देखिन्छ । गाउँमै विकासका सम्भावना खोज्ने हो भने त्यहाँ अवसरहरु सिर्जना गर्नेमात्र होइन, ती अवसरमा स्थानीयको भविष्य देखाउन सक्नुपर्छ । गाउँ नै गाउँले भरिएको नेपाल गाउँको विकासबिना समृद्ध बन्न सम्भव छैन । अव्यवस्थित सहर र उजाड गाउँले हामीलाई गिज्याइरहेका छन् ।

तपाईको प्रतिक्रिया