
अचेल मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि मुस्ताङको मार्फा गाउँ निकै चर्चित छ । २ वर्ष अघिसम्म गुमनाम जस्तै रहेको मार्फा पछिल्लो समय पर्यटकको उपस्थिति बढेसँगै यसको चर्चा परिचर्चा चुलिन थालेको हो । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा’ बोलको गीतका सर्जक थिइन् स्वर्गीय बसन्ती लालचन । २ दशकअघि यो गीत निकै चर्चामा थियो । मुक्तिनाथ मन्दिरसँगै मार्फा गाउँ र स्याउबारीको गीतमा वर्णन गरिएको थियो । यो गीत जति चर्चामा आयो तर पर्यटक आकर्षित गर्न भने सकेन ।
मार्फाको वास्तविक मौलिकता र यसको महत्व कमैलाई मात्रै ज्ञान हुँदा पर्यटन प्रवर्धन हुन नसकेकै हो । मार्फा गाउँ धमाङपछिको स्थान्तरित प्राचीन बस्ती हो । जहाँ अलौकिक धार्मिक, सांस्कृतिक, सामाजिक र परम्परागत मौलिकता लुकेर बसेको छ । यही लुकेको अपार सम्पदालाई पर्यटन प्रवद्र्धनमा जोड्न चाहन्थे मार्फाली समुदाय । पछिल्लो समय आफ्नो गाउँभित्र लुकेको अपार सांस्कृतिक मौलिक सम्पदालाई जोगाएर राख्न सके । एक अजङ्गको पहाड । त्यसको फेदैमा क्या राम्रो चिटिक्क मिलेको मार्फा गाउँ । त्यही बस्ती हो, जहाँ गाउँभित्रको अद्भूत सांस्कृतिक सम्पदा लुकेका छन् ।
एक सय बढी घरधुरीको बसोबास रहेको मार्फामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको छ । बगैँचामा लटरम्म स्याउ फलाउनु मार्फालीको दैनिकी थियो । तर, अचेल कृषि कर्मसँगै पर्यटनसँग समेत जोडिन थालेका छन् । स्याउ खेतीको पुख्र्यौली व्यवसाय अचेल पर्यटनमा जोडिन थालेको हो । मुस्ताङमा पर्यटन क्षेत्रमा आएको उभार मुख्य सडक मार्ग सहज पहुँच नै हो ।
मुक्तिनाथ मन्दिर, कागबेनीधाम, लोमान्थाङ दरबार, कोरलानाका, छोसेर गुफा र ढुम्बातालसँगै थासाङ क्षेत्रमा थुपै्र पर्यटकीय गन्तब्यमध्ये मार्फा गाउँ पनि यहाँको मुख्य पर्यटकीय गन्तब्यका रूपमा विकास हुन थालेको मार्फाका स्थानीय आइतप्रसाद हिराचन बताउँछन् । स्थानीय हिराचनका अनुसार दुई वर्षअघि सुनसान हुने मार्फा गाउँभित्रको गल्लीमा पर्यटकहरूको चहलपहल व्यापक हुन थालेको उल्लेख गर्छन् ।
मार्फा गाउँभित्रको पुरानो बस्ती र बस्तीभित्रको परम्परागत सांस्कृतिक मौलिकता अवलोकन गर्न पर्यटकको आगमन हुने गरेको स्थानीय हिराचनको भनाइ छ । उनका अनुसार दसैँ, तिहार र छठ पर्वको बिदामा पर्यटकको भीड बढेको र यहाँका गल्लीभित्र मात्रै दैनिक १५ लाख बढीको आर्थिक कारोबार हुने गरेको जानकारी दिए । यहाँको मार्फा गाउँभित्र सदिंयौ वर्ष पुराना ढुंगा र माटोले निर्मित एकापसमा जोडिएका घरहरू जीवन्त छन् । राष्ट्रिय राजमार्गको बेनी—जोमसोम सडक नजिकै रहेको मार्फा गाउँको भित्री बस्ती हेर्न, फोटो, भिडियो र टिकटक बनाउन पर्यटकहरूको भीड नै लाग्ने गरेको पाइएको छ ।
अजंगको पहाड, त्यसको फेदैमा क्या चिटिक्क मिलेको मार्फा गाउँ । त्यही बस्ती हो, जहाँ गाउँभित्रको अद्भूत सांस्कृतिक सम्पदा लुकेका छन् ।
मुक्तिनाथको दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटक गाडी रोकेर दुई÷तीन घण्टासम्म बिताउने गरेको पाइएको छ । चितवनबाट मुस्ताङ भ्रमण गर्न आएका पर्यटक विनोद ढकालले सडकको सहज पहुँच भइरहेकाले पर्यटकहरू मुस्ताङ घुम्न रुचाउने गरेको सुनाए । यहाँका धार्मिक पावन भूमि मुक्तिनाथको दर्शन गरी मार्फाको सौन्दर्यता अवलोकन गर्न पाउँदा गौरान्वित भएको प्रतिक्रिया दिए ।
यहाँको मार्फामा भाइरल भाइरल गल्लीहरू रहेको र साँघुरो गल्लीभित्रको यति ठूलो पर्यटकीय मानव सागर पहिलोपटक देखेको अनुभूति उनले सुनाए । आफ्नै देशको यो ठाउँ र यहाँको सांस्कृतिक जीवन्त कला संस्कृति कमै भेटिने गरेकाले मार्फा गाउँको सौन्दर्यताले आफूलाई मोहित तुल्याएको उनले बताए ।
मार्फा गाउँ पहाडको भिरालो सतहमा अवस्थित छ । वस्तीका सबै घर एकापसमा गुजमुच्च जोडिएका छन् । गल्लीभित्र दर्जनांै शाखा गल्लीहरू रहेका छन् । मुख्य राजमार्ग सडकको उत्तर/दक्षिणसम्म मार्फा गाउँको लम्बाई करिव पाँच सय मिटरभन्दा बढी छ । उक्त दूरीमा रहेको मुख्य गल्लीभित्र चाहार्दै जाँदा दर्जनौं साघुरा शाखा गल्लीहरू भेटिन्छन् । जुन पर्यटकका लागि फरक अनुभूति दिलाउँछ ।
मकवानपुरबाट शिक्षकसँगै मुस्ताङ भ्रमणमा आएको विद्यार्थी टोली पनि मार्फा गल्लीमा भेट्टियो । टोलीका विद्यार्थी सीमा तामाङ र अनुस्का तामाङ मार्फा गल्लीभित्र मोवाइलबाट टिकटक बनाउन व्यस्त देखिन्थे । मुस्ताङको मार्फामा आएका थकाली र तिब्बतीय संस्कृति झल्काउन मौलिक वेषभूषा लगाएर टिकटक बनाउन खोजेको उनीहरूको भनाइ थियो । विद्यार्थी सीमा तामाङले भनिन्, ‘मार्फा गाउँभित्र पसेर टिकटक बनाउन पाउँदा खुसी लागेको छ । सायद यहाँको प्राचीन संस्कृति निकै लोभलाग्दो रहेछ ।’
अर्का विद्यार्थी अनुस्का तामाङले पुराना घरहरूमा लस्करै दाउरा पाजेर राखेको देख्दा कौतुहलता बढेको सुनाइन् । सबै सबै घरहरूको छत माथि लस्कर दाउरा पाजिएका छन्, के का लागि राखिएको होला कुन्नि ? उनले प्रतिप्रश्न गरिन् । सहरको कोलाहल र प्रदूषणभन्दा यहाँको हावापानीको स्वच्छता र शान्तमय वातावरणले आफूहरू प्रफुल्ति भएको उनीहरुको भनाइ छ ।
यहाँको मार्फा गाउँमा सडक सञ्जालको पहुँच राम्रो नहुँदा आकलझुकल विदेशी पर्यटकहरू पुग्थे, तर अचेल मार्फा गाउँमा आन्तरिक पर्यटकहरू आइरिन थालेका छन् । मार्फा गाउँभित्रको गल्लीमा दर्जनांै पर्यटक लक्षित होटल सञ्चालनमा छन् । पछिल्लो समय सडक सहज भएसँगै कतिपय मार्फाली समुदाय सडकमार्गसँगै जोडिएका स्याउ बगैंचा मासेर आधुनिक प्रकारका कंक्रिट ठूला पर्यटक लक्षित होटल निर्माण गर्ने होडबाजी नै चलेको छ ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले मार्फा गाउँभित्र कसैले पनि पुराना घरहरू मासेर आधुनिक घरहरू निर्माण गर्न नपाइने गाउँलेले नियम बनाएको जानकारी दिए । यहाँको गल्लीभित्रको सम्पदा पर्यटकीय तथा सांस्कृतिक सम्पती भएकाले यसलाई मासेर आधुनिकतातर्फ लम्किनु आत्मघाती हुने भएकाले मार्फा गाउँबासी यसतर्फ सचेत रहेको बताए ।
पर्वतका नितेन श्रेष्ठले मुस्ताङ योसँगै तेस्रो पटकको भ्रमण रहेको बताए । मोटरसाइकल चढेर साथीहरूसँगै मुक्तिनाथ दर्शन र कोरलानाका घुम्ने योजना बनाएका श्रेष्ठले मार्फा गाउँमा भ्रमण यात्रा सुरु गरेको जानकारी दिए । ‘पहिलो पटक तीन वर्षअघि आउँदा यहाँ कोही पर्यटक आएको देखिएको थिएन, अहिले तेस्रो पटक आउँदा यहाँ आउँदा त पर्यटकले थेगिसक्नु रहेछ’, श्रेष्ठले थपे, ‘गाउँभित्रको सौन्दर्यता बढाइएको रहेछ, गल्ली गल्लीमा नामाकरण गरिएको रहेछ ।’ मार्फा गाउँले पर्यटन बढाउने तरिका अपनाएकै कारण यस ठाउँको महत्व बढेको श्रेष्ठले सुनाए ।
पोखराकी सोनी गुरुङ पनि मार्फामा साथीहरूसँगै भेषभूषा लगाएर टिकटक बनाउँदै थिइन् । यसैबीचमा उनलाई सोधिएको प्रश्नमा सोनीको उत्तर छ, ‘मुस्ताङ जिल्ला स्वर्गको एक टुक्रा हो, यहाँ आएपछि सबै दुःख पीडा थकान बिर्साइदिन्छ, साँच्चै मुस्ताङ एक पटक घुम्नै पर्ने जिल्लाको हो ।’ मुस्ताङ घुम्ने क्रममा मार्फा गाउँमा पस्दा निकै रमाइलो अनुभूति भइरहेको सोनीले उल्लेख गरिन् ।
पर्यटकको भीडले गल्ली पूरै भरिएको देख्दा ठमेल बजारको याद दिलाइएको सोनीले बताइन् । यहाँभित्र गल्ली गल्ली चाहर्दा पृथक प्रकारको रमाइलो भएको उनको अनुभूति छ । मुस्ताङ भ्रमणका लागि मार्फा आएका भक्तपुरका पर्यटक सुर्दशन न्यौपानेले धार्मिक तथा पर्यटकीय जिल्लाको पर्यटन प्रर्वद्धनका निम्ति सरोकारवाला निकाय सचेत रहनुपर्ने सुझाए । मुस्ताङ पर्यटकीय हब भइसकेको र यसको उपयुक्त व्यवस्थापन गर्न नसकेमा दुरगामी असर पार्ने उनले उल्लेख गरे ।
यहाँ आएका पर्यटकहरूले बुक गरेका होटल पनि सञ्चालकहरूले धोका दिएर बढी मूल्यमा अरुलाई दिने गरेको र यसले मुस्ताङको छविलाई बिगार्ने भएकाले त्यस्तो नगरिदिन उनको अनुरोध छ । मुस्ताङ भ्रमण गर्न आएका पर्यटकमध्ये कतिपयले होटल र खान बस्नको सुविधा नपाउँदा सास्ती पाएको न्यौपानेले गुनासो गरे ।
यहाँको मार्फा गाउँभित्र सम्तेन ध्योलिङ बुद्धिस गुम्बा छ । गाउँभित्रको बिजुलीका तारसमेत पूरै भूमिगत गरिएको छ भने गाउँभित्रका घरहरूमा लस्करै लुङ्ता झुन्डइएका पनि मार्फा गाउँभित्रको सौन्दर्य बढाइदिएको छ । स्याउ बगानमा लटरम्म स्याउ फल्ने याममा पर्यटकहरू स्याउ बगैंचा अवलोकन गरे बेग्लै अनुभूति लिन सक्ने सुविधा छ । पछिल्लो समय घरपझोङ गाउँपालिकाले गाउँ नजिकैको थुम्को स्टेट फ्रि टावर निर्माण गरेको छ ।
टावरमा पुगेका पर्यटकले मार्फा गाउँको सौंन्दर्य अवलोकन गर्न पाउँछन् । मार्फामा आधा दर्जनभन्दा बेसी स्याउको प्रशोधित डिस्टिलरी सञ्चालनमा छन् । डिस्टिलरीमा पर्यटकले ब्रान्डी बनाएकोसमेत हेर्न सकिने सुविधा छ । यसैगरी मुस्ताङमा स्याउ उत्पादन तथा स्याउ प्रविधि प्रशारणका लागि स्थापित ५० वर्ष पुरानो शीतोष्ण बागवानी विकास केन्द्र छ । यहाँ पर्यटकले कृषिसम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सक्छन् । यहाँको मार्फा गाउँ पर्यटकीय गन्तव्यका रूपमा मात्रै होइन स्वदेशी तथा विदेशी चलचित्र केन्द्रको रूपमा समेत विकास हुन थालेको छ ।
मार्फामा नेपाली चलचित्र जेरी, कबड्डी, प्रेम गीतलगायतका दर्जनौं चलचित्र छायांकन भइसकेको छ । यहाँको परम्परागत धर्म संस्कृति र रीतिरिवाज र थकाली सभ्यता र यहाँको प्राकृतिक सौन्दर्यका कारण मुस्ताङको मार्फा चलचित्र स्पटको रूपमा समेत चिनिन थालेको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
बलिउडका ‘हि म्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
गण्डकी विश्वविद्यालयमा संघीयतामाथि अन्तर्क्रिया
उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया