सम्पादकीय—जेनेरिक नाममा औषधी किन ?

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सकलाई अबदेखि कम्पनीको ट्रेड नेमको सट्टा जेनेरिक नाममै औषधी सिफारिस गर्न निर्देश गरेको ताजा निर्णय केवल प्रशासनिक परिपत्रमात्र होइन, नेपालको स्वास्थ्य सेवा सुधारतर्फको महत्वपूर्ण कदम हो । दीर्घ कालदेखि चिकित्सकीय परामर्शमा ट्रेड नेम लेख्ने प्रवृत्तिले बिरामी विशेषगरी निम्न तथा मध्यम वर्गलाई अनावश्यक आर्थिक बोझ पर्ने गरेको वास्तविकता बारम्बार उठाइँदै आएको छ । नीतिगत सुधारका लागि नागरिक अभियानले उठाएको मुद्दा, पेशागत आचारसंहितामा उल्लेख प्रावधान र कानुनी व्यवस्था पनि यसको पक्षमा थिए ।
यो सत्य हो कि औषधी वैज्ञानिक आधारमा छानिनुपर्छ, कम्पनीको प्रभावमा होइन । विश्वका विकसित देशहरूले दशकौँअघि नै जेनेरिक नाममा औषधि सिफारिसलाई अंगीकार गरिसकेका छन् । बेलायत, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, जर्मनी लगायतका राष्ट्रहरूमा चिकित्सकलाई जेनेरिक लेख्न कानुनी वा संस्थागत बाध्यता नै छ । नेपालको परिवेशमा एउटा अस्पतालमा परिपत्र हुँदा पनि खुसी मान्नुपर्ने अवस्था छ ।
विश्व स्वास्थ्य संगठनले तयार पारेको आइएनएन प्रणालीले यही सिद्धान्तलाई विश्वव्यापी मानक बनाएको छ । प्रत्येक औषधीको एक समान, वैज्ञानिक नाम राखिने यसमा उल्लेख छ । यसका उद्देश्य दुईवटा प्रमुख छन्ः बिरामीले सस्तो, गुणस्तरीय र समान प्रभावकारिता भएको औषधि पाउन सकून् र औषधी बजारमा अनावश्यक ब्रान्ड प्रतिस्पर्धा, भ्रम र चिकित्सक–कम्पनीबीचको स्वार्थगत सम्बन्धबाट आउने पक्षपात हटोस् । जति देशले जेनेरिक प्रणालीलाई कडाइका साथ लागू गरेका छन्, ती देशमा औषधी खर्च घटेको, बिरामीको उपचारमा पारदर्शिता बढेको छ ।
औषधी उद्योगले चिकित्सकलाई प्रभावित पार्ने प्रवृत्तिमाथि नियन्त्रण भएको देखिएको छ । नेपालमा पनि कानुनी संरचना कमजोर छैन । जनस्वास्थ्य सेवा ऐन, नेपाल मेडिकल काउन्सिलको आचारसंहिता, त्रिवि शिक्षण अस्पतालको परिपत्र—सबैले स्पष्ट रुपमा जेनेरिक नाममै औषधी लेख्नुपर्ने नियम बनाइसकेका छन् । तर व्यवहारमा मात्र यसको प्रभावकारिता न्यून रहँदै आएको छ ।
निजी फार्मेसीमा बिमित बिरामीले समेत महँगा औषधी किन्नुपरेको र समान गुणस्तरका सस्ता विकल्प उपलब्ध हुँदाहुँदै प्रयोग नहुने गुनासो छ । यही सन्दर्भमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्णय उदाहरणीय छ । यसले औषधी सिफारिस प्रणालीलाई पारदर्शी बनाउने, बिरामीलाई अनावश्यक खर्चबाट बचाउने, चिकित्सकीय आचारसंहिता बलियो बनाउने र स्वास्थ्य क्षेत्रप्रति जनविश्वास बढाउने भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ । मूल्यसूची सार्वजनिक रुपमा देखिने गरी राख्ने, कम्बाइन मेडिसिन सिफारिसमा रोक, टेन्डर प्रक्रियाको कडाइ पनि सुधारका लागि जरुरी छन् ।
समान प्रभावकारिता, समान सुरक्षा, समान गुणस्तर तर मूल्यमा ठूलो अन्तर, यही कारणले विश्वले जेनेरिकलाई प्राथमिकता दिएको हो । अब चुनौती कार्यान्वयनको हो । चिकित्सकको प्रतिबद्धता, अस्पतालको निगरानी, फार्मेसीको पारदर्शिता, नियामक निकायको कडाइ र नागरिकको खबरदारी बिना यो व्यवाहारिक रुपमा कार्यान्वयनमा आउने देखिँदैन । स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो । देशको स्वास्थ्य सेवा न्यायपूर्ण, किफायती र पहुँचयोग्य बनाउनैपर्छ ।








कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
गण्डकी विश्वविद्यालयमा कानूनी प्रशिक्षण
एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल
मुस्ताङमा ६२ करोड बढीको आलु बिक्री
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया