सुमीत र विपिन चम्किँदा पोखराको जितको खाता खुल्यो, साविक विजेता जनकपुरको लगातार तेस्रो हार

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखराले जितको खाता खोलेको हो ।
यसअघि लगातार दुई खेलमा पराजित पोखराको जितविहीन यात्रामा पूर्णविराम लागेको छ । उता साविक विजेता जनकपुरको भने खराब लय जारी छ । जनकपुरको यो लगातार तेस्रो हार हो ।
बिहीबार भएको सिजनको १४ औं खेलमा पोखराले टस जितेर ब्याटिङ रोजेको थियो । सुमीत वर्माको अर्धशतकको मद्दतमा पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । जवाफमा १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।
पोखराका लागि ब्याटिङमा सुमीत वर्मा र बलिङमा विपिन खत्री नायक बने । सुमीतले २९ बलमा अविजित ५० रन बनाए । उनले २ चौका र ४ छक्का प्रहार गरे ।
पोखराको सुरुआत राम्रो थियो । ओपनर दिनेश खरेल र एडम रोसिंगटनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । दिनेशले ३८ र एडमले २४ रन जोडे । तर त्यसपछि पोखराले लय गुमायो । ८ ओभरको बिचमा ३ विकेट गुमेपछि टिम दबाबमा आएको थियो । कुशल भुर्तेल ‘डक आउट’ भए । तर मध्यक्रममा सुमीत र तीर्थराज दासले इनिङ उकासे । तीर्थराजले २९ रन बनाए ।
बलिङतर्फ पोखराका विपिन खत्री हाबी भए । उनले ४ ओभरमा १५ रन मात्र खर्चिएर ४ विकेट लिए । विपिनले जनकपुरका आसिफ शेख, अनिश शाह र शुभ कंशाकरजस्ता माथिल्लो क्रमका ब्याटरलाई पेभेलियन फर्काएका थिए । सुमीत वर्माले पनि २ विकेट लिए । कुशल भुर्तेल र जेम्स निशमले १–१ विकेट हात पारे ।
जनकपुरको ब्याटिङ सुरुदेखि नै धर्मरायो । पहिलो ओभरमै ओपनर आसिफ शेख र शुभ कंशाकर ‘डक आउट’ भए । यसले टिमलाई ठुलो दबाबमा पार्यो । जनकपुरका लागि वेन पर्नेलले सर्वाधिक ५० रन बनाए । ३८ बल खेलेका उनी ‘रिटायर्ड आउट’ भए । सञ्जय कृष्णमूर्तिले २५ रन जोडे भने माज सदाकतले १४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि पोखराले सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग हार बेहोरेको थियो । जनकपुरले पनि यसअघिका खेलमा विराटनगर र काठमाडौं गुर्खाजसँग पराजय भोगेको थियो ।








रास्वपा र विवेकशील साझा एक : नाम रास्वपा, चिह्न घण्टी नै
क्लासरुमबाट न्युजरुमसम्म लेकसिटीका विद्यार्थी
एमाले महाधिवेशन: कोइरालाद्वारा उम्मेदवारी फिर्ता लिन अस्वीकार, चुनाव लड्ने घोषणा
पोखरामा राइज फिटनेसको ३ शाखा संञ्चालन, ५ करोडभन्दा बढी लगानी
मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीलाई १८.२०% लाभांश
एउटा रोमाञ्चक यात्रा : अन्नपूर्ण नर्थ
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
तपाईको प्रतिक्रिया