पोखराको पुरुन्चौरमा दाइँ महोत्सवको रौनक : पर्यटकदेखि स्थानीयसम्म रमाए

धनबहादुर गुरुङ २०८२ मंसिर १३ गते १८:४१

पोखरा

खलोको बीचमा गाडिएको मियोको वरिपरि पराल बिछ्याएर ५ हल गोरु नार्दै दँदेरहरू दाइँको चाँजोपाँजो मिलाउँदै थिए । खुलेको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलालाई साक्षी राखेर बनाइएको स्टेजमा अतिथिहरू औपचारिक कार्यक्रम सुरु गर्दै थिए । केही समयमा पोखरा महानगरका मेयर धनराज आचार्यले परालको कुन्युको जिरो फालेर कार्यक्रमको उद्घाटन गरे । त्यसपछि दाइँमा रमाउन पुगेकाहरूले सुर गरे– ‘हो तारे हो हो, हो हो माले हो हो…’ ।

Advertisement

यो पोखरा पर्यटन परिषद्ले पोखरा–१९ पुरुन्चौरस्थित चुरुङ्गा फाँटमा आयोजना गरेको दाइँ महोत्सवको दृश्य थियो । रोपाइँ महोत्सवको २१ औं संस्करण गरिसकेको परिषद्ले गत वर्षबाट धान थन्क्याउने परम्परागत सीप प्रदर्शनसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा दाइँ महोत्सव गरेको हो ।

‘रोपाइँ महोत्सव गर्ने पोखरा पर्यटन परिषद्ले अब दाइँ महोत्सव पनि गर्नुपर्छ भन्ने सल्लाह धेरैबाट आउँथ्यो,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले भने, ‘केही विदेशी पर्यटकलाई पनि धान रोपेपछि यसको ‘हार्भेस्ट’ कसरी गरिन्छ भनेर देखाउन र केही नेपालीहरूलाई पनि हाम्रो परम्परा देखाउनुपर्छ भनेर अघिल्लो वर्षदेखि हामीले यसको सुरुवात गरेका हौँ ।’ मंसिरको मध्यदेखि नै किसानहरूलाई दाइँ हाल्ने चटारो हुने भएकाले यसैको मौका छोपेर महोत्सव आयोजना गर्दै आएको उनले सुनाए ।

Advertisement

महोत्सवले परम्परागत कृषि प्रणाली जोगाउँदै पर्यटनको प्रवर्धनमा टेवा पुग्ने अपेक्षा लिइएको अध्यक्ष पहारीले बताए । कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको उनको भनाइ थियो ।

महोत्सवमा उपस्थित आन्तरिक तथा बाह्य पर्यटक, स्थानीय, पर्यटन व्यवसायी, कृषि सम्बद्ध विभिन्न निकायका प्रमुख र प्रतिनिधिहरू दाइँमा रमाइरहेका थिए । दँियारेको अनुभव लिन युवादेखि विदेशी पर्यटकहरूको लाइन देखिन्थ्यो । केही स्थानीयहरू दाइँ हेर्न पनि पर्यटक आएकोमा दंग थिए । उनीहरू पर्यटकलाई दाइँको महत्व बुझाउन व्यस्त देखिन्थे ।

‘उमेर ६६ लागियो, कति दाइँ गरियो गरियो । यसरी विदेशी आएर दाइँ हेर्छन् होला भन्ने त लागेकै थिएन,’ महोत्सवमा दाइँको संयोजन गरेका उमनाथ गौतमले भने, ‘यत्रा मान्छे हाम्रा गाउँमा आउनुभएको छ । हामी त यत्तिकै खुसी छौँ ।’ परम्परागत दाइँको महत्व र प्रयोग घट्दै गएकोमा उनको चिन्ता थियो । यो महोत्सव गर्नका लागि गोरु खोज्न अर्को गाउँ पुग्नु परेको तितो यथार्थ पनि उनले सुनाए । ‘पहिले त हाम्रो यता जति पनि गोरु पाइन्थ्यो । अहिले त कहाँ हुनु, सबै ट्याक्टरले काम चलाउन थालेका छन्,’ उनले भने, ‘महोत्सव हुने रे भनेपछि गोरु खोज्न अर्को गाउँ पुग्नुपर्यो ।’

महोत्सवमा धान चुट्ने, गुन्द्री बुन्ने, परालको भारी बाँध्ने लगायतका प्रतियोगिता भएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । महोत्सव हेर्न पुगेकाहरूले हिमालको काखमा बसेर दाइँको मज्जा लिएका थिए ।

महोत्सवमा पोखरामा धान उत्पादनमा उत्कृष्ट कृषकलाई सम्मान गरिएको थियो । पोखरा महानगरको निरीक्षण र मूल्यांकनका आधारमा उत्कृष्ट धान उत्पादक कृषक छनोट गरिएको हो । पोखरामा यस वर्ष सबैभन्दा बढी धान उत्पादन गर्ने पोखरा–२३ का कृषक खगेन्द्रप्रसाद गुरुङ चुनिए । गुरुङलाई महोत्सवमा ५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । पोखरा–१३ का कृषक मिलन अधिकारी दोस्रो र पोखरा–२३ का बालकृष्ण भण्डारी तेस्रो घोषित भए । उनीहरूलाई प्रोत्साहनस्वरूप क्रमशः ३ हजार र २ हजार रुपैयाँ दिइएको थियो ।

स्थानीय आयोजक चुरुङ्गा टोल विकास संस्थाका अध्यक्ष दयाराम गौतमले महोत्सवले ओझेलमा परेको पर्यटकीय गन्तव्य चुरुङ्गाको प्रचारप्रसारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । पुरुन्चौरमा झिनुवा धानको खेती बढी हुने गरेकाले यस क्षेत्रको अझ महत्व रहेको उनको भनाइ थियो । ‘हाम्रो ठाउँबाट हिमालको मनमोहक दृश्य देखिनुका साथै धेरै पर्यटकीय क्षेत्रहरू छन् जुन प्रचारप्रसारको अभावले चिनिन सकेको छैन,’ उनले भने, ‘पोखरा पर्यटन परिषद्ले हाम्रो ठाउँ रोजिदिएको छ । महोत्सव सफल बनाउन हामी दिनरात खटिएका छौँ । महोत्सवमा आउने पर्यटकका कारण हाम्रो क्षेत्र अझ परिचित हुन्छ भन्ने विश्वास लिएका छौँ ।’

युवा पुस्तालाई खेतीप्रति आकर्षित गर्दै कृषकको मनोबल बढाउन गरिएको महोत्सवलाई पोखरा महानगरले समेत सघाएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रोपाइँ महोत्सवजस्तै दाइँ महोत्सव पनि पोखराका लागि नयाँ ‘प्रोडक्ट’ हुने बताए । यहाँ हुने मेला महोत्सवले पोखरालाई ‘इभेन्ट नै इभेन्ट’को सहरका रूपमा परिचित बनाइरहेको उनको भनाइ थियो । कृषिमा यान्त्रिकीकरण आवश्यक भए पनि पर्यटक र भावी पुस्तालाई देखाउनका लागि दाइँ गर्ने चलनलाई जीवित राख्नुपर्ने उनले सुनाए ।

महोत्सव संयोजक हरि भुजेलले असारको रोपाइँ महोत्सवमा सहभागी विदेशी पर्यटकले उत्पादन प्रक्रियाबारे चासो राख्ने गरेकाले दाइँबारे बुझाउन आवश्यक ठानेर दाइँ महोत्सव आयोजना गरिएको उल्लेख गरे । पहिलो संस्करणमा भन्दा यो संस्करणमा पर्यटकको संख्या केही बढेको उनले सुनाए । दाइँ महोत्सवलाई पनि रोपाइँ महोत्सवलाई जस्तै प्रचारप्रसार गर्दै निरन्तरता दिँदै जाने उनको भनाइ थियो । रोपाइँ महोत्सवको सुरुवातमा पनि पर्यटक धेरै नगएको अनुभव सुनाउँदै उनले दाइँ महोत्सवलाई पनि निरन्तर गर्दै प्रचारप्रसार गर्न सके पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया