जेन्जी आन्दोलनमा ध्वस्त वडा स्थानीयको सहयोगमा ६६ दिनमै तयार

समाधान संवाददाता २०८२ मंसिर १४ गते ५:४०

पोखरा ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएर ध्वस्त बनेको पोखरा महानगरपालिका वडा नम्बर १३ को कार्यालय भवन स्थानीयवासीको सक्रियतामा ६६ दिनमै ठडिएको छ । गत भदौ २४ गते अपरिचित समूहले आगो लगाएर कार्यालय जलाएपछि स्थानीय समुदाय आफैं पुनर्निर्माणमा जुटेका थिए । शनिबार एक कार्यक्रमका बिच स्थानीयले निर्माण गरेको उक्त भवन वडालाई हस्तान्तरण गरिएको छ ।

Advertisement

आन्दोलनकारीले सरकारी सम्पत्तिमा क्षति पुर्‍याए पनि वडावासीले नमुना काम गरेर देखाएका छन् । निर्माण समिति संयोजक खुसीमान गुरुङका अनुसार भवन निर्माणमा कुल २७ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अचम्मको कुरा त के छ भने, निर्माणका लागि आवश्यक रकमभन्दा बढी चन्दा सङ्कलन भएको थियो । भवन बनाउन २८ लाख ९६ हजार रुपैयाँ जुटेको गुरुङले जानकारी दिए ।

सुरुवातमा यति ठुलो रकम कसरी जुट्ला भन्ने चिन्ता भए पनि काम थालेपछि जनता आफैं खोजी–खोजी सहयोग गर्न आएको संयोजक गुरुङले बताए । सहयोग रकम धेरै भएपछि गत कात्तिक १९ गतेदेखि नै चन्दा उठाउन बन्द गरिएको थियो । पैसा धेरै भएर सहयोग गर्न चाहनेलाई पनि फर्काउनुपर्ने अवस्था आएको गुरुङले सुनाए । अहिले बनेको नयाँ भवन पहिलेको भन्दा सुविधायुक्त र आकर्षक बनेको छ ।

Advertisement

४४ वटा टोल विकास संस्थाको योगदान

भवन पुनर्निर्माणका लागि वडाभित्रका ४४ वटा टोल विकास संस्थाबाट १२ लाख २३ हजार ५ सय ३९ रुपैयाँ सङ्कलन भएको थियो । जनप्रतिनिधि आफैंले ६० हजार २ सय ११ रुपैयाँ सहयोग गरे । यसैगरी विभिन्न क्लब, समाज र सहकारी संस्थाहरूबाट ३ लाख ५२ हजार १ सय ८१ रुपैयाँ प्राप्त भएको समितिले जनाएको छ ।

व्यक्तिगत रूपमा ५१ जना दाताले ५ लाख ७९ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेका छन् । नगदबाहेक २१ वटा शैक्षिक संस्था र व्यावसायिक प्रतिष्ठानले ६ लाख ६० हजार ७ सय ७१ रुपैयाँ बराबरको जिन्सी सामग्री उपलब्ध गराएका थिए । समितिले जलेका पुराना सामान बिक्रीबाट १० हजार, बैंक ब्याजबाट २ हजार ५ सय ९९ र छुट रकमबाट ८ हजार २ सय ६४ रुपैयाँ आम्दानी बाँधेको छ । विदेशमा रहेका वडावासीले समेत खोजी–खोजी सहयोग पठाएका थिए ।

सरकारलाई जनताको साथ

पुनर्निर्माण समितिका कोषाध्यक्ष केदारराज सिग्देलले आन्दोलनका कारण वडा कार्यालय जलेपछि स्थानीय बासिन्दाले त्यसलाई आफ्नै सम्पत्ति ठानेर पुनर्निर्माणको अग्रसरता लिएको बताए । सार्वजनिक अपिल नै नगरी धमाधम सहयोग रकम जुट्नुले सरकारलाई आवश्यक पर्दा जनताले साथ दिन्छन् भन्ने पुष्टि गरेको उनको बुझाइ छ ।

भवन हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष किरण बरालले सरकारप्रति रुष्ट भएर आन्दोलन गरिए पनि जनताले नै सरकारको भवन बनाइदिएर सकारात्मक सन्देश दिएको बताए । जनताको विश्वास जित्न सकेकाले यो काम सम्भव भएको भन्दै उनले सहयोगदाताप्रति आभार प्रकट गरे । भवन हस्तान्तरणसँगै अब नयाँ संरचनाबाट सेवा प्रवाह सुरु हुनेछ । कार्यालय परिसरमा सिसिटिभी क्यामेरा जडानको काम भने बाँकी रहेको र त्यो आइतबारसम्म सकिने वडाध्यक्ष बरालले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिकाका ३३ वडामध्ये २५ वटा वडा कार्यालयमा तोडफोड र आगजनी भएको थियो । अन्य वडा कार्यालयहरूको मर्मत अझै अलमलमा परिरहँदा वडा नम्बर १३ ले भने जनस्तरबाटै कार्यालय ठड्याएर उदाहरण पेस गरेको छ । भवन हस्तान्तरण समारोहमा सहयोगदाताहरूलाई खादा लगाएर सम्मान गरिएको थियो 

तपाईको प्रतिक्रिया