यःमरी चिनाउन महोत्सव

समाधान संवाददाता २०८२ मंसिर १४ गते १०:५२

पोखरा ।
पोखरा महानगरपालिका ४ को आयोजनामा पोखरामा भएको यःमरी महोत्सव सकिएको छ । नेवाः मिसा पुचः को आह्वानमा पोखरा गणेश टोलमा भएको महोत्सव पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिँदै सकिएको हो ।


महोत्सवमा नेवारी समुदायमा प्रचलित यःमरी अन्य समुदायले पनि निकै स्वादिलो मान्दै खाएका थिए । जहाँ यःमरीको प्रतियोगिता पनि भएको थियो । महोत्सवमा यःमरी प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारको प्रदर्शनी तथा बिक्री गरिएको थियो । महोत्सवको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए ।


हजारौं वर्ष पुरानो मौलिक खानाको प्रसारप्रसार र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिनु सह्रानीय भएको मेयर आचार्यले बताए । ‘के खाँदा हाम्रो स्वास्थ्यलाई सकरात्मक असर पर्छ भनेर हाम्रो पुर्खाले तयार गरेको खानाहरु धेरै छन् । यसमा अनुसन्धानकर्ताहरुले पनि धेरै सकरात्मक कुराहरु भन्नुभएको छ,’ उनले भने, ‘अहिले यःमरीलाई नेवारी समुदायले मात्र प्रयोग गर्ने खाना नभएर सबैको जातीको खाना बनेको छ । आज स्टललाई नै राखेर यसलाई देखाउनुभएको छ ।’

Advertisement


सबै जातजाति, भाषा संस्कृतिको संरक्षण गर्ने पोखरा महानगरको नीति रहेको उनले बताए । मेयर आचार्यले महोत्सव स्थल गणेश टोल पोखराको ऐतिहासिक महत्वको क्षेत्र र बजार प्रारम्भ भएको क्षेत्र रहेकाले यसको संरक्षणका लागि महानगरले एडिबीको सहयोगमा पोखरा हेरिटेज साइट बनाउन लागिरहेको जानकारी दिए ।


कार्यक्रममा नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले यःमरीलाई अरु समुदायमा पनि चिनाउन आवश्यक रहेकोमा जोड दिए । पोखरा ४ को वडा कार्यालयले सह्रानीय कार्य सुरु गरेकाले आगामी दिनमा यसको निरन्तरता दिन उनले सुझाव दिएका थिए ।

Advertisement


वडामा रहेका कला संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बताए । आगामी दिनमा पनि यसलाई निरन्तरता दिदैं जाने उनले सुनाए ।


महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाउने कलाको लाइभ डेमोस्ट्रेसन भएको नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताइन् ।


महोत्सव उद्घाटनअघि झाँकीसहितको र्‍याली निकालिएको थियो । पोखरा ४ को कार्यालयबाट सुरु र्‍याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्ण टोल हुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया