‘आउँछ्यौ तिमी नजरमा…’ सार्वजनिक

समाधान संवाददाता २०८२ मंसिर १४ गते १३:१८

पोखरा ।
गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘आउँछ्यौ तिमी नजरमा…’ बोलको गीतको म्युजिक भिडियो शनिबार सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान र रूपा वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले भिडियो सार्वजनिक गरेका हुन् ।


आफ्नै गीतमा आफैँलाई स्वागत गर्दा पनि गीतकारका रूपमा मानिसहरूले आफूलाई नचिन्ने अवस्था आएको अनुभव सुनाउँदै ढकालले गीतकार गीतको जननी भएर पनि छाँयामा पर्नु दुःखद् भएको विचार राखे । एउटा सुन्दर गीत बन्नका लागि गीतकारदेखि सुरु भएर सम्पूर्ण निर्माण पक्षसम्मको भूमिका रहने भन्दै उनले सबैको भूमिकाको कदर गर्नुपर्नेमा जोड दिए ।


गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार आदर्श पोखरेलले आउँछ्यौ तिमी नजरमा… गीत लेखनदेखि भिडियो निर्माणसम्मको अनुभव सुनाएका थिए । ‘जितमा पनि हारमा झैँ पिट्दै छन् रे ताली…’ बोलको पहिलो गीत एक दशकअगि रेकर्ड गराएका पोखरेलका करिब १ दर्जन गीत रेकर्ड भएका छन् ।

Advertisement


सो गीतमा सन्तोष विक र मनिषा राईको स्वर छ भने संगीत आदर्श पोखरेलकै रहेको छ । भिडियोमा स्वस्तिका श्रेष्ठ, जीवन सुनार, भुवन विक, जमुना पौडेल बराल लगायतको अभिनय छ । भिडियोको निर्देशन राम बाँस्तोलाले गरेका हुन् ।


कार्यक्रममा गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, गायक विनोद बानियाँ, पोखरा विश्व विद्यालयका अधिकृत नारायण सापकोटा लगायतले शुभकामना दिएका थिए । कार्यक्रम सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया