गुणस्तरीय शिक्षा प्राप्तिमा सरोकार राख्ने एघार ’अ’

गुरुदत्त शर्मा दवाडी २०८२ मंसिर १४ गते १६:५६

शिक्षाले मानिसलाई परिवर्तित परिवेशमा सहज रुपमा समायोजन हुँदै उत्कृष्ट जीवनयापन गर्न विश्व परिवेशमा सहयोग गर्दछ । सूचना, प्रविधि र यातायातको क्षेत्रमा आएको चमत्कारका कारण आज विश्वले एउटा सानो गाउँको रुप लिएको छ । यसर्थ पनि शिक्षाले विश्व सन्दर्भलाई प्रतिस्पर्धा गर्न सक्ने अनुकूलको गुणस्तरीय हुनु आवश्यक छ । समृद्ध जीवनयापन गर्नका लागि आजको शिक्षा कस्तो हुनु आवश्यक छ? सामान्यतया शिक्षा औपचारिक, अनौपचारिक, अनियमित माध्यमबाट हासिल गर्न सकिन्छ । यीमध्ये औपचारिक शिक्षामा सरकारको, समुदाय एवं अभिभावकको लगानी उल्लेख्य मात्रामा हुन्छ ।

नवजात शिशुदेखि किशोर अवस्थामा बालबालिका अध्ययन गर्ने थलो विद्यालयको व्यवस्थापकीय अवस्था एवं वातावरणले अहम् भूमिका खेल्छ । किनकि बालबालिकाको सामाजिक, शारीरिक, मानसिक, संवेगात्मक विकास तीव्र गतिमा हुन्छ । सबैलाई मध्यनजर राखेर शैक्षिक योजना कार्यक्रम तर्जुमा र कार्यान्वयन गरिनुपर्छ । त्यसका साथै बालबालिकाहरूको आहारविहार लगायत दिइने शिक्षाको औचित्यबारे ध्यान नदिएमा त्यसको दीर्घकालीन एवं दूरगामी नकारात्मक असर व्यक्ति तथा समग्र देशमा पर्छ ।

बालबालिकाको योग्यता, क्षमता र चाहनाका साथै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसिमको शिक्षा प्रदान गर्नेतर्फ यथाशक्य प्रयास हुनुपर्दछ । गुणस्तरीय जीवन उपयोगी शिक्षाका बारेमा आज शैक्षिक मञ्चहरुमा चर्चा हुने गर्दछ । तर गुणस्तर के हो ? गुणस्तरीयता कायम गर्नका लागि के–के चाहिन्छ? विद्यालयलाई उत्कृष्ट थलोको रुपमा शिक्षा हासिल गर्न के–के गर्नु आवश्यक छ? विद्यालयस्तरीय शिक्षा प्रदान गर्नका लागि कस–कसले के–के भूमिका निर्वाह गर्नु पर्दछ?

Advertisement

विद्यालयलाई कसरी वर्तमान अवस्थाबाट माथि उकास्न एवं विद्यालय शिक्षामा महत्त्वपूर्ण भूमिका खेलिरहेका निजी स्तरका विद्यालयहरुको सुनिश्चितताको प्रत्याभूति राज्यले दिनुपर्ने, त्यसैगरी निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको पेसाको सुनिश्चितता एवं सरकारी सेवा सुविधा, उपदान, सामाजिक सुरक्षा कोष आदिको व्यवस्था पनि गुणस्तरीय शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत आवश्यक विषयहरू हुन् ।

यस विषयतिर सरकारको उदासीनता, संस्कार र शैलीको हावी पनि उत्तिकै जिम्मेवार रहेको छ । सामान्यतया एसईई र एसएलसी उत्तीर्णमा झन्डै ८० प्रतिशत नतिजा ओगटेका निजी स्तरका विद्यालय र २० प्रतिशत नतिजा ओगटेका सामुदायिक विद्यालय बीच पेसाको ढुक्कता निजी स्तरका विद्यालयमा कमै रहेको छ । निजी विद्यालयमा विद्यार्थी भर्ना गरेपछि पूर्ण रुपमा विद्यालय जिम्मा हुनुपर्दछ भने अभिभावक आफ्नो जिम्मेवारीबाट उम्कन खोजेजस्तो पनि देखिन्छ ।

Advertisement

तसर्थ शैक्षिक क्षति र विसंगतिलाई न्यूनीकरण गर्दै समुदायको उदासीनतालाई परिवर्तन गरी आस्था र विश्वासको केन्द्रको रुपमा विद्यालयलाई चित्रण गर्न के गर्नुपर्ला? आदि धेरै प्रश्नहरूको उत्तर खोज्नेतर्फ उन्मुख भएर शिक्षाविद, निर्माता, विद्यालय संस्थापक, संघ संस्थाका पदाधिकारीहरूले आफ्नो पदीय औचित्यलाई पुष्टि गर्ने बेला आएको छ । तसर्थ गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउनका लागि प्रत्यक्ष तथा परोक्ष सरोकार राख्ने रुपमा सम्बन्धित पक्षहरूको पहिचान गरी कार्यान्वयन गर्नुपर्ने आजको अपरिहार्य आवश्यकता देखिन्छ ।

सामान्यतया म लेखकका आफ्ना नितान्तै व्यक्तिगत विचार एवं अनुभव र अध्ययनको आधारमा ११ ‘अ’लाई सबै वर्ग, क्षेत्र, समूहबाट आत्मसात् गरी अगाडि बढ्न सके मात्र गुणस्तरीय शिक्षा हाम्रा बालबालिकालाई दिन सकिएला कि?

यसरी शिक्षण सिकाइ क्रियाकलापलाई नतिजाउन्मुख बनाउन केवल एक वा दुई पक्षहरूको व्यवस्थापन मात्र पर्याप्त छैन । तसर्थ यसमा प्रत्यक्ष सरोकार राख्ने पक्षहरूलाई ११ ’अ’– अध्यापक, अध्ययनकर्ता, अध्यापन विषय र विधि, अभिभावक, अनुशासन, अपनत्व, अनुदान, अनुगमन र निरीक्षण, अनुसन्धान, अध्यापक नियुक्ति, अध्यात्म÷आचरण समेटी यहाँ प्रस्तुत गरिएको छ । सायद यी आधारहरूले पनि गुणस्तरीय शिक्षाको आयाममा महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । साथै सम्बन्धित जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइ र संघीय शासन प्रणाली कार्यान्वयनसँगै स्थानीय निकाय मातहत व्यवस्था गरिएका शिक्षा महाशाखाहरू एवं सम्बन्धित विद्यालयहरूले आफ्नो शैक्षिक योजना तथा कार्यान्वयनको आधार बनाउने प्रयास गरिँदा सबैको भलो हुने कुरामा दुई मत नहोला ।


१. अध्यापक (शिक्षक) :
शिक्षाका लक्षित उद्देश्यहरू हासिल गर्नका लागि शिक्षकको प्रमुख भूमिका हुन्छ । शिक्षण सिकाइ क्रियाकलापलाई सफल बनाउनका लागि शिक्षा पेसामा प्रवेश गर्दाको विधि र प्रक्रिया तथा योग्यता, दक्षता, पेसाप्रतिको समर्पण र सदैव आफूलाई सूचना र प्रविधिबाट अध्यावधिक गर्दै कक्षा शिक्षणमा उतार्ने जस्ता कार्य अहिलेको आवश्यकता हो । शिक्षण संस्थालाई उद्देश्यमूलक बनाएर उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्न मन, वचन र कर्मले सक्षम र समर्पित मानव संसाधन हुनुपर्दछ ।

कुनै पनि संस्थाको कार्यक्षमता र उत्पादनको लेखाजोखा गर्नुपूर्व त्यहाँ प्रयोग गरिएको मानवीय एवं अन्य साधन र स्रोतको पर्याप्तता तथा तिनीहरूको समुचित परिचालनको अहम् भूमिका हुन्छ भन्ने यथार्थलाई बिर्सनु हुँदैन । साथै शिक्षण पेसालाई मर्यादित, आकर्षक र जवाफदेही बनाउनतर्फ पनि ध्यान दिनुपर्दछ । ८० प्रतिशत भन्दा बढी तालिम प्राप्त शिक्षक भएपनि सामुदायिक विद्यालयका विद्यार्थीको उपलब्धि स्तर यथावत् रहनु चिन्तनीय पक्ष हो ।

अर्कोतर्फ निजी स्तरका विद्यालयका शिक्षकहरुलाई तालिममा सहभागी बनाउने तर्फ सिंगो शिक्षा निकाय उदासीन देखिन्छ भने यदाकदा निजी स्तरका विद्यालयका संस्थापकहरू आफ्ना शिक्षकहरुलाई शिक्षा निकायबाट दिलाइएका तालिममा सहभागी बनाउन इच्छुक कम देखिन्छन् भनिन्छ ’विद्यालयमा पठनपाठनमा अवरोध हुन्छ’ साथै यस्तै–यस्तै बहानाबाजी हुने गर्दछन् ।

शिक्षक तालिमलाई कक्षाकोठाको वास्तविकतालाई सम्बोधन गर्ने बनाउनु पर्दछ । शिक्षकको मूल्यांकनमा पारदर्शिता एवं यथार्थपरक हुनुपर्दछ । साथै प्रत्येक शिक्षकले शैक्षिक सत्रको प्रारम्भमा आफूले अध्यापन गर्ने विषयको वार्षिक लक्ष्य निर्धारण गरेर त्यसको आधारमा विद्यार्थीको चाहना, क्षमता र आवश्यकतालाई मुख्य केन्द्र बनाएर योजनाबद्ध रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गराउने वातावरण सिर्जना गर्नेतर्फ सजग हुनुपर्दछ ।

शिक्षकहरूको कार्यबोझ, आर्थिक अवस्था नाजुक भएको विद्यालयमा पठनपाठन गर्नुपर्ने बाध्यता, विपन्न परिवारबाट आएका वा हुँदा खाने वर्गबाट आएका विद्यार्थीबाट प्रभावकारी शिक्षण सिकाइ क्रियाकलापमा सामयिक विद्यालयको टड्कारो समस्या रहेको छ भने अर्कोतर्फ निजी स्तरका विद्यालयमा शिक्षक एवं कर्मचारीहरूको पेसाको सुनिश्चितता नहुनु साथै सम्पन्नशाली परिवारबाट आएका बालबालिकाको पढाइप्रतिको उदासीनता एवं अभिभावकको बेफुर्सदिलो अवस्था जसका कारण आफ्ना बाबु नानीको पढाइ के गरिरहेका छन् भन्नेतर्फको न्यून लगावका कारण विद्यालयको भरमा मात्र उपलब्धिको अपेक्षा कतिको न्यायोचित होला? शिक्षकको पेसागत दक्षता बढाउन अनुगमन, निरीक्षण, तालिम सञ्चालन, विस्तृत योजना भएको क्यालेन्डर साथै सबै ठाउँबाट शिक्षकप्रति हेर्ने धारणामा परिवर्तन साथै उनीहरूको सम्मान गर्ने परम्पराको विकास गर्नुपर्ने देखिन्छ ।


२. अध्ययनार्थी (विद्यार्थी) :
विद्यार्थीको वैयक्तिक भिन्नता, पारिवारिक पृष्ठभूमि, सांस्कृतिक, आर्थिक अवस्थाको आधारमा विचार गरेर शिक्षण व्यवस्थापन गरिनुपर्दछ । जिज्ञासु बनाएर उत्साहपूर्वक सहभागी बनाउने वातावरण हुनुपर्दछ । उनीहरूलाई अनुत्तीर्णबाट कुण्ठित बनाउनुभन्दा सबै कक्षामा तत्काल मौका परीक्षाको व्यवस्थाको रणनीति अवलम्बन गरिनुपर्दछ । शिक्षाको क्षेत्रमा गरिएको लगानी, बनाइएको योजनाका खास लक्ष्य अध्ययनकर्ता÷विद्यार्थीको चौतर्फी विकास गर्नका लागि हो ।

अतः विद्यार्थीको रुचि, क्षमता र आवश्यकतालाई मध्यनजर राखेर शैक्षिक क्रियाकलाप गरिनुपर्दछ । शैक्षिक नीति एवं कार्यक्रमको सफलता विद्यार्थीले हासिल गरेको सफलताको पर्यायको रुपमा लिनुपर्दछ । विविध व्यक्तित्व एवं पारिवारिक पृष्ठभूमि बोकेका बालबालिकाहरूलाई उनीहरूको मनोविज्ञान बुझेर शिक्षण गर्नु चुनौतीपूर्ण काम हो । त्यसका लागि सावधानीपूर्वक विद्यार्थी केन्द्रित, बालमैत्री कक्षा सञ्चालनबाट मात्रै गुणस्तरीय शिक्षा अपेक्षा गर्न सकिन्छ । साथै विद्यार्थीमा पनि यो अनुभूति हुनुपर्दछ कि ’शिक्षा मेरा लागि हो र म पनि आफू सक्रिय रहनुपर्दछ’ भन्ने जिम्मेवारीको बोध सबै क्षेत्रबाट हुनुपर्दछ ।

एकातिर विद्यार्थीको उपलब्धिस्तर सामुदायिक विद्यालयमा निराशाजनक देखिएको छ भने कताकति निजी स्तरका विद्यालयहरूमा पनि यो रोग सल्किने हो कि भन्ने डर र त्रास अर्कातर्फ अड्कल गरिएको छ । गुणस्तरीय शिक्षाको सर्वत्र वकालत भइरहेको र गुणस्तरीयता वृद्धि गर्न व्यक्ति र संघसंस्था लागि परिरहेको भए तापनि ’बेरोजगार उत्पादन गर्ने खालको शिक्षा नीति भएको’ टिका टिप्पणी गर्नेहरू पनि कम छैनन् ।

शिक्षालाई जीवन उपयोगी, वर्तमान परिवेशमा प्रतिस्पर्धी, सभ्य र सुशील नागरिक बनाउनका लागि विद्यार्थीलाई सर्वोपरि, उनीहरूलाई केन्द्रबिन्दुमा राखेर योजना रणनीति तथा कार्यान्वयन गरिनुपर्दछ । वैयक्तिक भिन्नतालाई सम्बोधन गर्ने खालका शैक्षिक क्रियाकलाप अवलम्बन गरिनु आजको आवश्यकता हो । शिक्षालाई जनमुखी र सार्थक बनाउनका लागि सबै क्षेत्रबाट सहकार्य र सद्भावको आवश्यकता पर्दछ ।


३. अध्ययन विषय एवं विधि (पाठ्यक्रम) :
कुनै पनि व्यक्तिलाई के बनाउने वा के गर्ने भन्ने बारेको निक्र्योल गरिसकेपछि सोही अनुकूलको ज्ञान, सिप र अभिवृत्ति प्रदान गर्नका लागि तय गरिएको सिकाइ उपलब्धिको समग्र दस्तावेज अध्ययन अध्यापन विषय पाठ्यक्रम हो । पाठ्यक्रमले व्यक्तिको रुचि, क्षमताका साथै देशको चौतर्फी उन्नति र प्रगतिका लागि आवश्यक जनशक्ति तयार पार्ने उद्देश्यबाट निर्देशित सामग्रीहरू, पाठ्यवस्तु राखेर पाठ्यक्रम निर्माण गरिएको हुन्छ । अध्ययन विषय विद्यार्थीको रुचि, क्षमता र आवश्यकता अनुसारको भएमा मात्र अधिकतम उपलब्धि हासिल हुन सक्छ । समसामयिक परिवेश र विद्यार्थीको दैनिक जीवनसँग सरोकार राख्ने सिकाइ उपलब्धि हुनुपर्दछ । पाठ्यक्रम समय सान्दर्भिक हुनुपर्दछ भने यसको मुख्य प्रयोगकर्ता शिक्षकको कौशलतामा भर पर्दछ ।

पाठ्यक्रममा समावेश गरिएका विभिन्न शैक्षिक नीति कार्यक्रमहरूका बारेमा जानकारी नहुनु वा राख्न नखोज्नुले पनि शिक्षकको पेसागत दक्षता र सफलता हासिल गर्न असर पारेको छ । पाठ्यक्रम जतिसुकै राम्रो भएपनि त्यसको सार्थकता तब मात्रै हुन्छ जब शिक्षण सिकाइ क्रियाकलाप सहज रुपमा उतार्न सकिन्छ । तसर्थ पाठ्यक्रमले लक्षित गरेको उद्देश्य अनुरुप विद्यार्थीको व्यवहारमा परिवर्तन गर्ने खालको बालमैत्री शिक्षण विधि वातावरण सिर्जना गर्नु अनुपयुक्त नहोला ।


४. अभिभावकः
विद्यालयमा आफ्ना बालबालिकालाई पढ्न पठाउने वा पालनपोषण गर्ने संरक्षकलाई अभिभावक भनिन्छ । विद्यालयको प्रत्यक्ष सेवाग्राहीका रुपमा अभिभावकलाई लिइन्छ । उनीहरूको सद्भाव, सहयोग र सहकार्य बिना विद्यालयको चौतर्फी विकास हुने कल्पना गर्न सकिन्न । आफ्ना बालबालिकालाई नियमित रुपमा विद्यालयमा पढ्न पठाएर घरमा पढ्ने वातावरण सिर्जना गरेर विद्यालयको साधन र स्रोत उच्चतम प्रयोग गर्न अभिभावकको भूमिका महत्वपूर्ण रहन्छ । यसतर्फ सामुदायिक र निजी विद्यालयका बीचमा अन्तर रहनु स्वाभाविक हो ।

तापनि सरकारी नीति र कार्यक्रमको अस्पष्टता र अभिभावकको भूमिका सन्दर्भमा इमानदारिता लगायत शैक्षिक निकायका पदाधिकारीहरू बीचको जवाफदेहिता नदेखिँदा निजी स्तरका विद्यालयहरू बढी मुनाफामुखी हुँदा पनि शिक्षाको गुणस्तरमा प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव परेको कुरालाई नकार्न नमिल्ला । बालबालिकाको ६ घण्टा मात्रै औपचारिक शिक्षाका लागि विद्यालय जाने, बाँकी १८ घण्टा घर, परिवार, समाज, समुदायमा बिताउने भएकाले त्यहाँको वातावरण पनि बालबालिकाको चौतर्फी विकास गर्ने खालको हुनुपर्छ भन्ने यथार्थलाई आत्मसात् गरेर व्यवहार गरेमा भने निश्चय नै शैक्षिक क्षतिलाई न्यून गरी सफल र सबल नागरिक उत्पादन हुने तथ्यलाई नकार्न सकिन्न ।

अतः विद्यालय र अभिभावक बीचको सम्बन्धलाई सुमधुर बनाउनका लागि विद्यालय पारदर्शिता, निष्पक्षता, लगनशीलता आदि कुरामा संवेदनशील हुनुपर्दछ । तर यस सन्दर्भमा तितो सत्य यो छ कि निजी स्तरका विद्यालयमा यस्ता विषयवस्तु स्पष्ट नदेखिनु भने अर्कोतर्फ शिक्षाको गुणस्तरमा अग्रणी भूमिका खेलिरहेका निजी विद्यालयमा पठनपाठन गराउने अभिभावकहरू सम्पूर्ण जिम्मा विद्यालय हुनुपर्दछ भने जिम्मेवारीबाट भाग्ने प्रयास देखिँदा पनि शिक्षाको गुणस्तरमा शंका गर्ने ठाउँ देखिन्छ । यसर्थ १८ घण्टा आफ्नो नजर भित्र रहने आफ्ना बाबु नानीहरूप्रति अभिभावकहरूले बढी निगरानी गर्नुपर्ने देखिन्छ ।


५. अनुशासनः
भनिन्छ ’अनुशासन सफलताको साँचो हो ।’ अनुशासित संस्थाले मात्र लक्ष अनुरुप प्रगति गर्न सक्छन् । साथै हामीलाई थाहा छ कि ’सानो बिरुवा जतातिर तान्यो उतैतिर तानिन्छ ।’ यस अर्थमा बालबालिकालाई अनुशासनको शिक्षा केवल विद्यालयको निगरानी मात्र यथेष्ट हुँदैन । तसर्थ आफ्ना बालबालिकालाई अनुशासन र उच्च नैतिक बनाउनमा अभिभावक, समाज र समुदायको पनि महत्वपूर्ण भूमिका रहन्छ ।

तर आज देखिन्छ कि बालबालिकाहरू बाबुआमाको नियन्त्रणभन्दा बाहिर हुँदा विद्यालय पनि ती बालबालिकालाई अनुशासनको दायरा भित्र राख्न कठिन भएको महसुस नभएको होइन । यसर्थ सभ्य, सुशील, स्वावलम्बी एवं प्रतिस्पर्धी नागरिक उत्पादन गर्न सफल हुनका लागि परिवार भित्र सबै सुसंस्कृतको वातावरण अनुशासित तथा मर्यादित हुनुपर्दछ । साथै अनुशासन र व्यवहार दैनिक रुपमा अवलम्बन हुनुपर्दछ ।


६. अपनत्वः
सामुदायिक विद्यालयहरूको स्वामित्व विभिन्न कालखण्डमा फरक–फरक बने कहिले समुदायको कहिले सरकारको भए । त्यसैगरी निजी स्तरका संस्थागत विद्यालयहरू पनि सरकारी नीति नियम निर्देशनको कार्यान्वयन फितलो बनिदिँदा साथै संस्थागत विद्यालयको स्थायित्व एवं सरकारी संरक्षणको नीति अस्पष्ट हुँदा शैक्षिक गुणस्तर वृद्धि हुने कुरामा शंका गर्ने ठाउँ भेटिन्छ । त्यसैगरी संस्थागत विद्यालयका लगानीकर्ता वा संस्थापक सरकारको ढुलमुले नीतिको कारणले गर्दा पनि सेवामुखीभन्दा बढी मुनाफामुखी भएको आशंका गरिएको छ ।

जसको कारण संस्थागत विद्यालयमा पठनपाठन गराउने अभिभावकहरूमा ’यी हाम्रै संस्था हुन्, हामीले यसको संरक्षण गर्नुपर्दछ, यहाँबाट हामीले सुविधा पाएका छौं’ भन्ने सकारात्मक सोचाइ कमै भेटाइन्छ । संस्थापकहरूबाट पनि यो विश्वास दिलाउन नसकेको अवस्था छ । साथै सरकार उदासीन छ भन्दा फरक नपर्ला । यसर्थ सामुदायिक एवं संस्थागत विद्यालय उत्तरदायित्वका क्षेत्र हुन् भनि अपनत्वको भावना विकास गर्न सके मात्र भोलिका दिनमा शिक्षाको गुणस्तर बढ्नेछ अन्यथा यो भत्किने क्रमले निरन्तरता पाउँछ कि?


७. अनुदानः
विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न आवश्यक स्रोत साधन तर्जुमा गर्नका लागि विद्यालयको आर्थिक अवस्था सबल हुनुपर्दछ । शिक्षा क्षेत्रमा सरकारले लगानी गरेका विद्यालयहरूको अवस्था देशव्यापी हेर्दा खासै राम्रो देखिन्न भने निजी स्तरमा सञ्चालन भएका विद्यालयमा सरकारी लगानीको कल्पना पनि गर्न नसकेको अवस्था छ । तसर्थ संस्थागत विद्यालयलाई पनि पूर्ण सरकारी नीति नियमको मर्यादा भित्र छिराएर सरकारी अनुदानको व्यवस्था गर्न सके यसले गुणस्तरमा इट्टा थप्ने कुरामा विश्वास लिन सकिन्छ । यसर्थ दुवै खालका विद्यालयहरूलाई भरपर्दो लगानीको वातावरण र सरकारी अनुदानको दायराभित्र समावेश गर्नु नितान्त आवश्यक देखिन्छ ।


८. अनुगमन र निरीक्षणः
कुनै पनि संघसंस्थालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनका लागि अनुगमन, निरीक्षणको अपरिहार्यतालाई नकार्न सकिन्न । अझ शिक्षा क्षेत्रमा त यसको विशेष महत्व रहन्छ । वर्तमान अनुगमन फितलो छ भन्ने गुनासो केही आजसम्म सत्यता पनि छ । कतिपय अवस्थामा अनुगमन, अनुगमनमा मात्रै रही व्यावहारिक रुपमा प्रभावकारी नभएको अवस्था पनि छ । शिक्षण पेसालाई यथास्थितिभन्दा पनि गतिशील बनाउनुपर्दछ ।

सीमित साधन र स्रोतको उच्चतम एवं जीवन्त प्रयोग गर्दै जवाफदेहिता र उत्तरदायित्वलाई सर्वोपरि मानी तदनुरुप कार्यक्षेत्रमा समर्पित हुनुपर्दछ । सरकारी संयन्त्रबाट हुने संस्थागत विद्यालयको सर्वांगिण अनुगमन र व्यावहारिक रुपमा कार्यान्वयन गर्न इमानदारिता र जवाफदेहिताको न्यून प्रयोगको आभास भेटिन्छ । तसर्थ सिंगो निरीक्षण प्रणालीको प्रभावकारितामा अध्ययन अवलोकन गरी यसलाई समय सापेक्ष बनाउनु पर्दछ ।


९. अनुसन्धानः
शिक्षण सिकाइ क्रियाकलाप जीवन उपयोगी एवं प्रतिस्पर्धी बनाउनका लागि नवीनतम आविष्कारहरूले कक्षामा यथोचित प्रवेश पाउनु पर्दछ । शिक्षा नीति पाठ्यक्रम, पाठ्यपुस्तकका विषयवस्तु तथा शिक्षण विधिको प्रभावकारिताको औचित्यता पुष्टि गर्नका लागि पनि अनुसन्धान हुनुपर्दछ । विज्ञान र प्रविधिका नवीनतम आविष्कारलाई विद्यार्थीको पहुँचभित्र पार्न सकेनौं भने शैक्षिक बेरोजगार उत्पादन मात्रै हुन्छ । पाठ्यक्रम, पाठ्यपुस्तक सर्वसुलभ रुपमा उपलब्ध भई नराखेको अवस्था छ भने अर्कोतिर प्राइभेट प्रकाशन अस्वस्थ प्रतिस्पर्धा, त्यसैगरी निजी विद्यालयहरूले गुणस्तरीय शिक्षाको नाममा अनियन्त्रित प्रकाशनहरूका पुस्तक लगाउने, विद्यार्थीहरूले बोक्न नसक्ने पुस्तकको डंगुर जस्ता अव्यावहारिक क्रियाकलापभित्र सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बुझिन्छ ।

साथै सम्बन्धित निकायबाट अनुसन्धान र उपयुक्त विषयवस्तु विद्यार्थीलाई सिकाउने निर्देशनको कमी पनि टड्कारो देखिन्छ । त्यसैगरी शिक्षण सिकाइ क्रियाकलापका बारेमा ठूला र लामो समय लाग्ने अनुसन्धान पनि हुन्छन् । तर छिटो छिटो अनुसन्धानका आधारमा शिक्षकले कतिपय निर्णयहरु स्वयंले पनि लिनुपर्दछ । तसर्थ प्रभावकारी एवं गुणस्तरीय शिक्षणका लागि अध्ययन अनुसन्धानका लागि शिक्षकको भूमिका प्रमुख हुन्छ ।

त्यसकारण आफूले पढाउने शिक्षण विधि बारे ’के? किन? कसरी? कहिले?’ भन्ने जस्ता प्रश्नको आधारमा कार्यतालिका बनाउने गरेमा पनि शिक्षकको दक्षता मात्रै बन्ने होइन सँगसँगै विद्यार्थीहरूको पनि रोचक किसिमले उत्सुकतापूर्वक सहभागिता जनाए जीवन उपयोगी शिक्षा हासिल गर्न सबलीकरण हुनेछ । यसका लागि ज्ञान, सिप र अभिवृत्तिबाट सुसज्जित पेसागत दक्षता भएको जनशक्तिको खाँचो पर्दछ । कक्षा शिक्षण बालमैत्रीपूर्ण हुनुपर्दछ साथै आफ्नो प्रविधि र प्रवृत्तिमा परिमार्जन गरेर मात्र सार्थक प्रभावकारी उपयोग र गुणस्तरीय शिक्षा अपेक्षा गर्न सकिन्छ ।


१०. अध्यापक नियुक्ति एवं निष्कासनः
अध्यापक नियुक्ति प्रक्रिया हेर्दा आठौँ आश्चर्य देखिन्छ । सामुदायिक विद्यालयमा ’हाम्रो मान्छे राम्रो मान्छे’ भन्ने प्रवृत्ति छ जहाँ राजनीतिको फोहोरी खेलका कारण योग्य, दक्ष व्यक्ति शिक्षकमा नियुक्ति पाउनुका साटो आफ्ना नातागोता, भाइभारदार वा नातावाद एवं कृपावादले प्रश्रय पाएको छ । जसका कारण योग्य व्यक्ति निराश हुने अवस्था छ एवं सरुवा, बढुवा इत्यादिमा पनि राजनीतिक चलखेल हावी छ । त्यस्तै राजनीतिक आस्थाको कारण कतिपय शिक्षकहरू जागिरबाट निष्कासन भएका घटनाहरु नौला होइनन् ।

यो विडम्बना क विद्यालयमा छ जसको कारण शिक्षाको मेरुदण्ड शिक्षक अपहेलित भएका छन् भने अर्कोतर्फ संस्थागत विद्यालयको त आफ्नै प्रक्रिया हुनु कुनै आश्चर्य त होइन । सरकारी उदासीनताका साथै फितलो सरकारी नीतिका कारण संस्थागत विद्यालयमा शिक्षक नियुक्ति एवं निष्कासन जस्ता कार्यहरु भरपर्दो छैनन् । यस्ता विद्यालयहरू स्थायित्वसँगै शिक्षक कर्मचारीहरूको जागिरको अस्तित्व अन्योलग्रस्त छ ।

संस्थागत विद्यालयका संस्थापकसँग चिसो वृद्धिसँगै जागिरबाट निष्कासन हुने पीडा छ । यसरी समग्र रुपमा विद्यालय शिक्षामा अग्र स्थान ओगटेका संस्थागत विद्यालयका शिक्षक एवं कर्मचारीहरूको वृद्धि विकास, स्थायी सरकारी सेवा सुविधा अनुसार तलबमान, ग्रेड, उपदान, सामाजिक सुरक्षा कोष, बीमा लगायतका अन्य सुविधाहरूको सुनिश्चितता गर्नका लागि सरकारी नीति नियम पूर्णरुपमा कार्यान्वयनमा ल्याउने कार्यमा सरकार, शिक्षा मन्त्रालय एवं यसका निकायको भूमिका अपरिहार्य देखिन्छ । यसर्थ सबै क्षेत्रबाट सकारात्मक सोचका साथ अगाडि बढ्न सके मात्र शिक्षाको गुणस्तर वृद्धि गर्ने पाटोमा हामी अगाडि बढ्न सफल हुनेछौं ।


११. अध्यात्म/आचरणः
’उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर ।
कलेको वृक्षको आगो नझुकेको कहाँ छ र । ।’

कवि लेखनाथ पौड्यालको कविताको शीर्षक ’नैतिक दृष्टान्त’ को श्लोक सापटी लिन मन लाग्यो । शिक्षा केवल ज्ञानमा सीमित नभई शिक्षा प्राप्त गरेका व्यक्तिहरूमा सदाचार, इमानदारिता, नैतिकता, मानव मूल्य, जवाफदेहिता, उत्तरदायित्व जस्ता गुणहरू हुनुपर्दछ । आज हरेक क्षेत्र पुँजीवादले जगडेको छ । धन दौलत, पैसा एवं भौतिक सुख सुविधालाई हाम्रो समाजले उच्च प्राथमिकता बनाएको छ ।

विगत वर्ष अगाडिको नेपाली समाजको साक्षरता र शैक्षिक स्तरमा वर्तमान समयमा व्यापक वृद्धि हुँदै गर्दा पनि शिक्षित व्यक्तिहरूमा पनि आचरण वा आध्यात्मको नैतिक खडेरी परेको देखिन्छ । गुणस्तरीय शिक्षाको अनुभूति व्यक्तिको अध्यात्म वा आचरणले निर्धारण गर्दछ । हाम्रो सन्दर्भमा शिक्षाको गुणस्तरको विषय हिजो पनि थियो, आज पनि त्यत्तिकै पेचिलो बनिरहेको छ । यसरी जानेबुझेका प्रत्येक व्यक्तिको जनजिब्रोमा लोकप्रिय भनेको गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि एक वा दुई विषयवस्तु वा तत्त्वको कसरत मात्र काफी छैन ।

सामान्यतया म लेखकका आफ्ना नितान्तै व्यक्तिगत विचार एवं अनुभव र अध्ययनको आधारमा ११ ’अ’लाई सबै वर्ग, क्षेत्र, समूहबाट आत्मसात् गरी अगाडि बढ्न सके मात्र गुणस्तरीय शिक्षा हाम्रा बालबालिकालाई दिन सकिएला कि? विश्व परिवेशलाई मूल्यांकन गर्दै गर्दा आज विश्वमा आफ्नो मुलुकलाई अब्बल एवं विकसित राष्ट्रको रुपमा स्थापित गर्न शिक्षा विकासबाटै समृद्धि हासिल भएको दृष्टान्त भेट्न सकिन्छ । यसर्थ हाम्रो राष्ट्रको गरिबी, पछौटेपन, अज्ञानता, चेतनाको कमी जस्ता समस्यालाई न्यूनीकरण गर्दै आधुनिकता एवं अनुशासित र मर्यादित नागरिक समृद्ध राष्ट्र निर्माणका लागि कक्षाकोठा रहेको विद्यालय शिक्षालाई पहिलो प्राथमिकता र कार्यान्वयनलाई नजरअन्दाज गर्न मिल्दैन ।

तपाईको प्रतिक्रिया