रास्वपा र विवेकशील साझा एक : नाम रास्वपा, चिह्न घण्टी नै

समाधान संवाददाता २०८२ मंसिर १४ गते १८:४६
काठमाडौंँ, १४ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा गरिँदै । आइतबार काठमाडौँको राष्ट्रिय सभागृहमा भएको घोषणा कार्यक्रममा दुवैै दलका नेताले पार्टी घोषणापत्रमा हस्ताक्षर गरेका छन् । तस्बिरः निर्मलराज शाही÷रासस

काठमाडौं। वैकल्पिक राजनीतिको नारा बोकेका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी औपचारिक रूपमा एक भएका छन् । काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित विशेष समारोहबिच दुवै पार्टीले एकताको घोषणा गरेका हुन् ।

एकता घोषणासँगै पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने र चुनाव चिह्न पनि ‘घण्टी’ नै कायम हुने भएको छ । दुवै दलका शीर्ष नेताहरूले एकतासम्बन्धी ५ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । विवेकशील साझाले रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्वलाई निःशर्त स्वीकार गरेको छ ।

सहमतिपत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति एवं उच्च संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरे । यस्तै, विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष एवं राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले हस्ताक्षर गरे । एकताले वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको अभियानलाई थप बलियो बनाउने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।

Advertisement

दुई दलको सहमतिअनुसार नेपालमा वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्वर्गीय उज्ज्वल थापा र विवेकशील अभियानले पुर्‍याएको योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिइने भएको छ । रास्वपाको आगामी ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनसम्मका लागि ‘संघीय नेतृत्व मञ्च’ नामक विशेष संयन्त्र बनाइने सहमतिपत्रमा उल्लेख छ ।

वार्ता समितिका उपसंयोजक शिशिर खनालका अनुसार एकीकरण प्रक्रियाबाट आउने विवेकशील साझाका नेताहरूलाई आपसी समझदारीमा उक्त मञ्चमा मनोनीत गरिनेछ । मञ्चका सदस्यहरूको मर्यादाक्रम केन्द्रीय सदस्य सरह हुनेछ ।

Advertisement

सहमतिपत्रमा भनिएको छ, ‘विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरूलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गर्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मानिनेछ ।’

तपाईको प्रतिक्रिया