कांग्रेसको १५ औं महाधिवेशन पुस मसान्तमा : विशेष महाधिवेशन टार्ने देउवाको दाउ

समाधान संवाददाता २०८२ मंसिर १५ गते ६:२३

काठमाडौं ।

नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशन नियमित प्रक्रियाबाटै गर्ने तयारी थालेको छ । सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा आइतबार बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले पुस २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निष्कर्ष निकालेको हो । यो निर्णयसँगै महामन्त्री गगनकुमार थापा पक्षले उठाएको विशेष महाधिवेशनको माग ओझेलमा पर्ने देखिएको छ ।

Advertisement

बैठकमा सहभागी नेता रमेश लेखकका अनुसार पुस मसान्तमा महाधिवेशन गर्ने विषयमा नेताहरू सहमति नजिक पुगेका छन् । ‘शनिबार नै मोटामोटी सहमति भइसकेको थियो, बाँकी विषयमा पनि कुरा मिलेको छ,’ लेखकले भने, ‘अब पुसमा अधिवेशन गर्ने गरी क्यालेन्डर निकाल्ने, आवश्यक समिति बनाउने, क्रियाशील सदस्यता छानबिन र विधान मस्यौदाको काम अघि बढ्छ ।’

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तय भएको छ । निर्वाचनको मुखमा महाधिवेशन गर्दा असर पर्ने चिन्ता केही नेताको छ । तर, नेता लेखकले जहाँ समस्या आउँछ त्यहीँ प्रक्रिया रोकेर सहमतिका साथ अघि बढ्ने बताए । ‘काम द्रुत गतिमा गर्दै जाने हो, सर्वसम्मत भए समयमै महाधिवेशन हुन्छ,’ उनले भने, ‘कदाचित् काम सकिएन भने त्यही बेला सल्लाह गरेर सहमति जुटाइनेछ ।’

Advertisement

पार्टीभित्र लामो समयदेखि नियमित वा विशेष महाधिवेशन भन्ने विवाद छ । महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशन सम्भव नभएको भन्दै विशेष महाधिवेशनको वकालत गर्दै आएका छन् । उनको नेतृत्वमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका थिए । हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने विधानको बाध्यता छ । यही समयभित्र नियमित महाधिवेशनको प्रक्रिया सुरु गरेर विशेषको प्रस्तावलाई थाती राख्ने रणनीतिमा संस्थापन पक्ष लागेको हो ।

सभापति देउवा र उनको समूह नियमित महाधिवेशनकै पक्षमा छ । देउवा समूहका विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू भने वैशाखमा महाधिवेशन गरेर अहिले चुनावमा केन्द्रित हुनुपर्ने पक्षमा थिए । तर देउवा पुसमै महाधिवेशन गरेर नेतृत्वको विवाद टुंग्याउन चाहन्छन् ।

गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक अनिर्णित बन्दै आएको छ । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारमा गएका देउवा फर्किएपछि सहमति जुटाउन सक्रिय भएका हुन् । पछिल्लो तीन दिनदेखि देउवा निरन्तर छलफलमा छन् । सहमति नजुटेपछि सोमबारसम्मका लागि केन्द्रीय समिति बैठक सारिएको छ ।

यसैबिच, देउवानिकट एक समूहको भेलाले कार्यवाहक सभापति र नेता लेखकको प्रस्ताव नमान्ने निर्णय गरेको छ । गत कात्तिक १८ गते सहमहामन्त्री महेन्द्र यादवले पेस गरेको नियमित महाधिवेशनको तालिकालाई बहुमतका आधारमा पारित गर्नुपर्ने निष्कर्ष सो समूहले निकालेको छ ।

तपाईको प्रतिक्रिया